Skip This
सेफद्वय सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १९:o४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेफद्वय सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १९:o४:oo

विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफ : द प्रोफेसनल्स २०२४’ विजेता सेफ नारायण श्रेष्ठ र बिबिसी मास्टर सेफ विजेता सेफ सन्तोष शाहले विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित नेपाली एवं विदेशी पाहुनालाई आफ्नो स्वाद पस्किएका छन्।

नेपाली खाना प्रवर्द्धनका लागि मिथिला थाली गैरीधारामा आयोजित ‘भिक्ट्री प्लेट’ कार्यक्रममा नेपालका दुई उत्कृष्ट पाक कलाकारले नेपालको रैथाने स्वादसहित खाना र डिजर्ट बनाएका थिए। कार्यक्रममा उपस्थित करिब ५० विशिष्ट पाहुनालाई मिथिला लस्सीले स्वागत गरिएको थियो।

कार्यक्रममा पुगेका नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले जुम्ली स्याउको चटनीसँग पोलेको तरुल खान पाउँदा कर्णाली सम्झेर आफू नोस्टाल्जिक भएको बताए। त्यस्तै इस्कुस, आलु र याक चिजले भरिएको समोसा खाएपछि इन्फ्लुयन्सर मानसी अग्रवालले भनिन्, ‘इस्कुस पनि यति मिठो हुँदो रहेछ भनेर पहिलोचोटि थाहा भयो।’

व्यवसायी राजेन्द्र खेतानले ओएलको अचारसँग सौंफ मिश्रित रोटीको स्वादले पेट भरिए पनि मन नभरिएको प्रतिक्रिया दिए। बेलायती राजदूतकी श्रीमती जुलिया फेनले नेपाली परिकारको मौलिक स्वाद र प्रस्तुतिले आफूलाई लोभ्याएको बताउँदै सांस्कृतिक सम्पदाको उत्कृष्ट प्रतिनिधित्व गरेकोमा दुवै सेफको प्रशंसा गरिन्।

प्यासिफिक एसिया ट्राभल एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत सुरेश बुढाले यस प्रकारका कार्यक्रमले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै फुड टुरिजमको माध्यमबाट नेपाललाई विश्वभर चिनाउन मद्दत पुऱ्याउने धारणा व्यक्त गरे।

भेटमा सेफ सन्तोषले मेन मेन्यु पस्कँदा सेफ नारायणले डिजर्ट चखाएका थिए। सुन्तलाको कुराउनी, खुर्सानी, टिमुर, गुदपाकजस्ता नेपाली स्वादलाई सेफ नारायणले आफ्नो पाककलामार्फत उत्कृष्ट बेकरी रेसिपी तयार गरेकोमा आफूलाई अत्यन्त खुसी लागेको हिमालयन जाभाका संस्थापक गगन प्रधानले बताए। उनले सेफ नारायणले बनाएका बेकरी प्रडक्टको खुलेरै प्रशंसा गरे।  

माक्कुसेको संस्थापक एवं पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले भने गुदपाकको प्रयोग गरेर यति मिठो केक बन्छ भन्नेमा आफू अचम्मित भएको बताइन्।

मिथिला थालीमा उपस्थित अधिकांशको रोजाइमा परेको अनदीको चामल अनि लालीगुराँसको रक्सीलक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अनिलकेशरी शाहले रैथाने पेयपदार्थलाई नीतिगत सम्बोधन गरेर ब्रान्डिङ गर्न राज्य अग्रसर हुनुपर्नेमा जोड दिए।

सयपत्रीको तेल र फूलसँगै साँधेको भोगटे, नेपाली रैथाने स्वाद मिसिएका बेकरी परिकारले आफूलाई लोभ्याएको सेफ गोविन्दनरसिंह केसीले बताए।

कार्यक्रममा नेपालको पहिलो फुड रियालिटी सो ‘सेफ नेपाल’का अन्तिम तीन प्रतियोगीसहित गेट कलेजमा हस्पिटालिटी अध्ययनरत विद्यार्थीसँगै भान्से लक्ष्मणले समेत सघाएका थिए।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै सेफ सन्तोषले पाहुना सन्तुष्ट भएकोमा आफू हर्षित भएको बताए। सेफ नारायणले नेपालमा आफ्नो पहिलो कार्यक्रममा पाहुना खुसी देख्दा मन प्रसन्न भएको बताए।

कार्यक्रममा डा. भगवान कोइराला, मिस नेपाल सदिच्छा श्रेष्ठ, अस्मी श्रेष्ठका साथै अन्य कलाकार, राजनीतिज्ञ, व्यवसायी, पर्यटन क्षेत्रका विशिष्ट पाहुना, एनआरएनएका प्रतिनिधि, डेनमार्क, बेलायत, जर्मनी, अमेरिकालगायत अन्य कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो।