१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ७ बुधबार o७:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हङकङ सिक्सेसमा नेपालको कप्तानी जोराले गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o७:o८:oo

नेपाल क्रिकेट संघ (क्यान)ले नवौँ हङकङ सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय नेपाली टोली घोषणा गरेको छ । क्यानले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । हङकङ क्रिकेट संघको आयोजनामा प्रतियोगिता १६ देखि १८ कात्तिकसम्म हुनेछ । टोलीमा जोरासँगै राष्ट्रिय टोलीबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र रासिद खान छन् । यस्तै, नारायण जोशी र दीपेन्द्र रावत पनि छन् । 

कप्तान जोरा ब्याट्सम्यान हुन् । विवेक, प्रतिश र नारायण अलराउन्डर हुन् । लोकेश विकेट किपर ब्याट्सम्यान हुन् । हङकङ क्रिकेट सिक्सेसमा नेपालले समूह ‘बी’मा अस्ट्रेलिया र इंग्ल्यान्डसँग सामना गर्नेछ । नेपालले पहिलो खेल १६ कात्तिकमा इंग्ल्यान्ड तथा १७ कात्तिकमा अस्ट्रेलियासँग सामना गर्नेछ । समूह ‘ए’मा साबिक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ छन् । समूह ‘सी’मा भारत, पाकिस्तान र युएई रहेका छन् । श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् । सन् २०१७ देखि सुरु भएको प्रतियोगिताको साबिक विजेता दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले पछिल्लोपटक पाकिस्तानलाई हराएको थियो । 

३१ टी–२० आईको अनुभव
नेपाली राष्ट्रिय टोलीका मध्यक्रम खेलाडी जोराले सन् २०१९ को वर्षमा युएईविरुद्ध एकदिवसीय र टी–२० फर्म्याटमा डेब्यु गरेका थिए । गत जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकपमा उनले बंगलादेशविरुद्ध खेल्न अवसर पाएका थिए । उनले पाँच एकदिवसीय खेलमा ५६ तथा ३१ टी–२० आईमा तीन सय ८८ रन बनाएका छन् । टी–२०आईमा उनले तीन अर्धशतकीय इनिङ्स खेलेका छन् । एकदिवसीय मा उनको स्ट्राइक रेट ८३.५८ रहेको छ । उनको उच्च स्कोर २८ रन हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले पाँच चौका र दुई छक्का प्रहार गरेका छन् । उनले एउटा क्याच पनि लिएका छन् । 

६ ओभरको खेल 
प्रतियोगितामा सहभागी हरेक टोलीबाट ६ जना खेलाडी सहभागी हुनेछन् । १२ मध्ये आठ सहभागी टोली टेस्ट राष्ट्र हुन् । प्रत्येक इनिङ ६ ओभरको हुनेछ । एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् । एक खेलाडीले दुई ओभर बलिङ गर्न पाउँछन् । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन् । १८ कात्तिकमै सेमिफाइनल र फाइनल खेल हुनेछ । 

नेपाली टोली 
सन्दीप जोरा (कप्तान), लोकेश बम, नारायण जोशी, प्रतिश जिसी, रासिद खान, दीपेन्द्र रावत र विवेक यादव