एक घना जंगमा कैयौँ जंगली अर्नाको ठुलो समूह बस्थ्यो । त्यही जंगलमा एउटा आक्रमणकारी सिंह पनि बस्थ्यो । ऊ एक्लै थियो, तैपनि एक्लैदुक्लै भेटिएका अर्नाको सिकार गर्न ऊ जहिल्यै सफल हुन्थ्यो । किनकि, उसलाई देख्नासाथ झुन्डका सबै अर्ना तितरबितर हुन्थे ।
एक दिन एक बुढो अर्नाले आफ्नो समूहका सबै सदस्यलाई एकत्रित गरायो र भन्यो– साथीहरू हो, हामी यति ठुलो संख्यामा हुँदाहुँदै पनि एक्लो सिंहले हाम्रा कुनै न कुनै सदस्यलाई आक्रमण गरेर खाइरहेको हुन्छ । जब मर्नु नै छ भने अबका दिनमा हामी सबै एकजुट भएर बहादुरीपूर्वक उसको सामना गर्नुपर्छ । सिंहले कसैमाथि आक्रमण गर्छ भने भाग्ने होइन, सबैले उसमाथि बहादुरीपूर्वक जाई लाग्नुपर्छ । सबैले उसको भनाइमा सहमति जनाए । त्यहाँ उपस्थित बलिया अर्नाले एउटा समूह गठन गरे ।
तीमध्ये एकले भन्यो– सिंह यहाँ आउला र उसको प्रतिकार गरौँला भनेर पर्खिरहनुभन्दा हामीले उसमाथि पहिल्यै आक्रमण गर्नुपर्छ । सबैले सहमति जनाएपछि रातको समयमा अर्नाको समूहले सिंहमाथि आक्रमण गर्यो । बलियाबांगा अर्नाको आक्रमणबाट सिंहको सातो गयो । उसले यसअघि यस्तो संकटको कहिल्यै सामना गर्नुपरेको थिएन । उसलाई आफूमाथि कसले आक्रमण गर्यो र तिनीहरू कतिको संख्यामा थिए भन्ने होससमेत भएन । ऊ फर्केर हेर्दा पनि नहेरी त्यहाँबाट टाप कस्यो ।
भयभीत सिंहले त्यस जंगलमा भूतको निवास भएको विश्वास गर्यो । त्यस दिनदेखि डरले ऊ कहिल्यै त्यस जंगलतर्फ गएन । सिंह आफ्नो बसोवास भएको स्थानतिर नआएपछि अर्नाको समूह पनि ढुक्क भई आनन्दले बस्न थाल्यो ।