१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नारायण भण्डारी
२o८१ असोज १४ सोमबार o७:५६:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सामाजिक अपराधको न्यूनीकरणमा नैतिक शिक्षा

काँचो माटो भाँडा निर्माणको पूर्वसर्त भएजस्तै सभ्य समाज निर्माणको पूर्वसर्त नैतिक शिक्षा हो

Read Time : > 5 मिनेट
नारायण भण्डारी
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o७:५६:oo

नेपालमा आव ०७९/८० मा ११ हजार ९८२ वटा सामाजिक अपराधका घटनासहित जम्मा ५६ हजार ३२३ वटा अपराधका घटना घटेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । यसले नेपालमा अपराधको स्थिति भयावह रहेको देखिन्छ । आव ०७७/७८ मा ४० हजार १२० वटा घटना दर्ता भएकामा त्यस्तो अपराधको घटना आबव ०७८/७९ मा ४६ हजार ९०२ वटा दर्ता भएको देखिएबाट वार्षिक रूपमा अपराधका घटनामा वृद्धि भइरहेको पुष्टि हुन्छ । यस्ता अपराधका घटनाका कारण समाजमा शान्ति र अमनचयनको अवस्थामा गिरावट आई सामाजिक सुरक्षाको अवस्थासमेत जोखिमपूर्ण हुँदै गइरहेको छ । यसबाट नागरिकका मौलिक तथा मानव अधिकार रक्षा गर्न राज्यलाई अवरोध सिर्जना भइरहेको छ । 

समाजको शान्ति, न्याय र सन्तुलनलाई चुनौती दिँदै समाजमा स्थापित कानुनी, नैतिक र सामाजिक मापदण्ड उल्लंघन गर्ने गैरकानुनी तथा अनैतिक क्रियाकलाप सामाजिक अपराध हो । यसले राज्यविरोधी गतिविधिलाई समेट्ने हुँदा यो राज्यका लागि अवरोधकका रूपमा रहेको हुन्छ । सामाजिक अपराधले समाज विकासलाई समेत प्रभावित पारेको हुन्छ ।

रोबर्ट मर्टनले आफ्नो ‘स्ट्रेन थ्योरी’मार्फत सामाजिक अपराधको व्याख्या गरेका छन् । उनी भन्छन्, ‘जब समाजले व्यक्तिहरूलाई केही लक्ष्य प्राप्त गर्न प्रेरित गर्छ, तर ती लक्ष्य प्राप्त गर्ने साधन सीमित वा असमान रूपमा बाँडिएका हुन्छन्, तब मानिसहरू वैकल्पिक, प्रायः आपराधिक, साधन रोज्न बाध्य हुन्छन् । यसैबाट सामाजिक अपराधको उत्पत्ति हुन्छ ।’ उनका आधारमा भन्ने हो भने समाजमा स्रोत–साधनको असमान वितरण सामाजिक अपराधको कारक हो । त्यस्तै ट्राभिस हिर्सी आफ्नो ‘सोसल बन्ड थ्योरी’मा सामाजिक अपराधलाई व्यक्ति र समाजबिचको सम्बन्धको कमजोरीको परिणाम मान्छन् । उनको दृष्टिकोणमा जब व्यक्तिहरू समाजसँगको सम्बन्धमा कमजोर हुन्छन्, तब उनीहरू आपराधिक गतिविधिमा संलग्न हुन सक्छन् ।

उल्लिखित परिभाषामा मात्र सीमित भएर अहिलेको बदलिँदो परिवेशमा सामाजिक अपराधलाई व्याख्या गर्नु उपयुक्त नहुन सक्छ । पछिल्लो समय सामाजिक अपराधका स्वरूपमा आएको परिवर्तनले पारम्परिक परिभाषालाई अझै व्यापक र बृहत् दृष्टिकोणबाट व्याख्या गर्नुपर्ने देखिन्छ । पछिल्लो समय साइबर अपराध, ठगी तथा मानव बेचबिखनजस्ता अपराधका घटना अपराधको परम्परागत परिभाषाभन्दा व्यापक एवं भयावह हुँदै गएका देखिन्छन् ।

परिवारभन्दा बाहिर निस्किएपछिको पहिलो गन्तव्य भनेको विद्यालय हो । विद्यालयमा व्यक्तिले समग्र ज्ञान आर्जन गर्ने हुनाले विद्यालयीय शिक्षामा नैतिक शिक्षालाई महत्व दिन राज्यले लिने नीतिमै यसलाई प्राथमिकतामा राख्नुपर्छ ।
 

उल्लिखित तथ्यांकले नेपालमा सामाजिक अपराधको अवस्थालाई दर्साउँछ । यस्ता प्रकृतिका अपराधको न्यूनीकरण गर्न नेपालमा संविधान, ऐन, नियमलगायत सुरक्षा निकायका साथै न्यायिक÷अर्धन्यायिक निकाय, सामाजिक संघसंस्थाको समेत व्यवस्था गरिएको छ । संविधानमा मौलिक हक र मानव अधिकारप्रति राज्यको सकारात्मक दृष्टिकोणको व्यवस्था गरिएको छ ।

अपराध नियन्त्रण गर्न फौजदारी संहिता निर्माण गरी कार्यान्वयनमा रहेको छ । जसमा व्यक्ति÷नागरिकले गर्न हुने, नहुने क्रियाकलापका साथै गर्न नहुने क्रियाकलाप गरेमा त्यसका लागि दण्ड, सजायको समेत व्यवस्था गरिएको छ । त्यस्तै अन्य निकायले अपराधका घटना घटिसकेपश्चात् पीडितलाई न्याय दिन, सो अपराधबारे अनुसन्धान गर्ने एवं पीडितको पुनस्र्थापनामा केन्द्रित हुने गरेका छन् ।

केही घटनामा सो अपराध घट्नुपछाडिका कारण र त्यस्ता घटना आगामी दिनमा नघट्ने अवस्था सिर्जना गर्न पहलकदमी गरेको देखिए पनि समग्र आपराधिक प्रवृत्ति र सामाजिक मनोविज्ञानबारे भने त्यत्ति चासो दिइएको पाइँदैन । उदाहरणका लागि केही वर्षअघि संखुवासभाको मादी गाउँपालिकामा एकै परिवारका सदस्यको सामूहिक हत्या हुनुको पछाडि व्यक्तिको शारीरिक र मानसिक अवस्थाको खिल्ली उडाउनु मुख्य कारणका रूपमा देखिएको थियो । त्यसकै प्रतिशोधका लागि उक्त हत्या गरेको अभियुक्तले स्विकारेका थिए ।

हालै मात्र अमेरिकामा भएको भनिएको नेपाली महिलाको सम्भावित हत्याको घटना होस् या पोखरामा श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना होस्, कुनै पनि घटनाको एकपक्षीय तवरले मात्र अनुसन्धान भएको देखिन्छ । अपराधको प्रकृति, अभियुक्तको मानसिक अवस्था, सामाजिक परिवेश, आर्थिक सामाजिक हैसियतबारे भने कमै मात्र अध्ययन भएको पाइन्छ । यस्ता प्रकृतिका घटना घटिसकेपश्चात् भविष्यमा यस्तै प्रकृतिका अन्य घटना घट्न नदिन व्यक्तिको शारीरिक, मानसिक, आर्थिक एवं सामाजिक अवस्थाको सम्मान गर्नुपर्छ भन्ने जनचेतनाका कार्यक्रम आयोजना गर्नुपथ्र्यो । तर, उल्लिखित घटनापश्चात् यस्ता कार्यक्रम या चेतनामूलक अन्य कार्यक्रम आयोजना भने भएको पाइँदैन ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी र समुदायको बसोवास भएको मुलुक हो । यहाँको समाजमा विविधता पाइन्छ । संस्कृतिमा विविधता पाउन सकिन्छ । समुदायमा रहेका व्यक्तिको व्यक्तित्वमा विविधता पाइन्छ । अपराध व्यक्तिको वैयक्तिक विविधताको नकारात्मक स्वरूप हो । जुन समाजले निर्माण गरिदिएको हुन्छ । जसका पछाडि माथि उल्लेख भएबमोजिम समाजसँगको सम्बन्ध र सामाजिक प्रतिस्पर्धाको भूमिका महत्वपूर्ण हुन्छ । साथै व्यक्तिको व्यक्तित्व निर्माणमा शिक्षाको भूमिकासमेत अपरिहार्य हुन्छ । औपचारिक शिक्षा मात्र नभई अनौपचारिक शिक्षाले पनि व्यक्तित्व निर्माणमा भूमिका निभाएको हुन्छ । हाम्रै समाजका कतिपय व्यक्ति, जो औपचारिक शिक्षा लिनबाट वञ्चित भए, गरिए; तर, वैयक्तिक हिसाबमा भने समाजमा उत्कृष्ट व्यक्तिको छवि बनाउन सफल भएका छन् । जसमा शिक्षाकै भूमिका प्रमुख देखिन्छ ।

सभ्य समाजको निर्माण गुणस्तरीय शिक्षाको गन्तव्य हो । गुणस्तरीय शिक्षाको साधन भने नैतिक शिक्षा हो । जसरी काँचो माटो भाँडा निर्माणको पूर्वसर्त हो, त्यसरी नै सभ्य समाज निर्माणका लागि नैतिक शिक्षा पूर्वसर्त हो । एउटा व्यक्तिलाई नियम कानुनको पालनाले प्रतिबन्धित गर्छ भने नैतिक शिक्षाले सही मार्गदर्शन गर्छ । आफू कस्तो बन्ने, कस्ता व्यक्तिको संगत गर्ने, कस्तो व्यवहार गर्ने, कस्तो व्यवहारको अपेक्षा गर्ने, कस्तो शिक्षा लिने, कस्तो शिक्षा प्रदान गर्ने, समाजमा कस्तो भूमिका निभाउनेजस्ता वैयक्तिक प्रश्नको उत्तर नैतिक शिक्षाले दिन्छ । नैतिक शिक्षा नीतिको अध्ययन मात्र होइन, व्यवहारको प्रदर्शन पनि हो । यदि अध्ययनले मात्र व्यक्ति नैतिक बन्ने भए महान् अध्येता रावण त्यति क्रूर हुने थिएनन् ।

हिरण्यकश्यपु त्यति भयावह नहुँदा हुन् । आफ्नै छोरा प्रल्हादलाई भष्म गर्न अग्निकुण्डमा नधकेल्दा हुन् । ‘दुर्जनः परिहर्तव्यो विद्ययाऽलंकृतोऽपिसन् । मणिना भूषितः सर्पः किमसौ न भयङ्‍करः’ जसरी मणियुक्त भए पनि सर्प भयानक हुन्छ, त्यस्तै विद्यायुक्त मनुष्य पनि यदि दुर्जन छ भने उसलाई आफूभन्दा परै राख्नुपर्छ भन्ने नीतिशास्त्रको मत छ । ‘मातृवत् परदारेषुः’ अर्थात् परस्त्रीहरूलाई आफ्नी आमासमान दृष्टि राख । ‘वसुधैव कुटुम्बकम्’ अर्थात् संसारका सबै मानिस हाम्रा कुटुम्ब हुन् । यस्ता ज्ञान नैतिक शिक्षाले प्रदान गर्छ । जसबाट समाजमा सामाजिक सद्भाव, एकता र समभाव जागृत हुने हुँदा सामाजिक अपराध न्यूनीकरण गर्न सहयोग पुग्छ ।

नैतिक शिक्षा संस्कृत भाषाको ज्ञान मात्र होइन भन्ने यथार्थ सबैले बुझ्नुपर्छ । नैतिक शिक्षा कर्मकाण्डी ज्ञान होइन भन्ने पनि समाजका हरेक नागरिकले बुझन् सक्नुपर्छ । माओवादी द्वन्द्वको समयमा संस्कृत शिक्षामाथि धाबा बोल्ने काम भयो, त्यसैको प्रतिफलस्वरूप आजको समाज अनैतिक बन्दै गइरहेको हो भन्न सकिन्छ । त्यही द्वन्द्वले बसाएको जगस्वरूप आजको युवापुस्तामा मनोसामाजिक समस्या देखा पर्दै गएका छन् । शासकीय हिसाबमा कोसेढुंगा सावित भएको तत्कालीन द्वन्द्व समाज विकासको चरणमा भने अपाच्य भएको परिदृश्य आज देखा परिरहेको अवस्था छ । 

नैतिक शिक्षाको अभावमा आज महत्वाकांक्षाले चरम सीमा पार गरेको छ । हामीले ‘अल्पानामपि वस्तूनां संहति कार्यसाधिका । तृणैर्गुणत्वमापन्नैर्बध्यन्ते मत्तदन्तिनः’ अर्थात् सानासाना वस्तु एकत्रित गरेर ठुल्ठुला काम सम्पन्न गर्न सकिन्छ, जसरी घाँसका ससाना त्यान्द्रा बटुलेर बनाएको दाम्लोले उन्मत्त हात्ती पनि सजिलै बाँध्न सकिन्छ । आजको युवा पुस्तालाई यस्ता ज्ञान प्रदान गर्नबाट हाम्रो समाज चुकेको छ । युवापुस्ता एकैपटक आलिसान महल निर्माण गर्न खोज्छ । एकैपटकमा ‘सेलिब्रेटी’ बन्न खोज्छ । ऊ परिश्रम गर्न भने आनाकानी गर्छ, तर सफलता भने पाइला सार्नासाथ चन्द्रमामा पुग्नुजति खोज्छ । जसमा ऊ असफल बन्छ र समस्या सिर्जना हुन्छ । एकाएक धनी बन्न चोरी डकैती, ठगी धन्दा चल्न थाल्छ । जसबाट आपराधिक यात्रा सुरु हुन्छ ।

हामीले ‘दिवसेनैव तत् कुर्याद् येन रात्रौ सुखं वसेत्’ अर्थात् दिनभरि यस्तो काम गर, जसका कारण रातमा आनन्दको निद्रा प्राप्त होस् भन्ने ज्ञान आजको पुस्तालाई दिन सक्नुपर्छ । योग, ध्यान आदिको ज्ञान प्रदान गर्न सक्नुपर्छ, जसका कारण व्यक्तिले सुविचार पैदा गर्न सकोस् । सत्मार्ग प्राप्त गरोस् । आफूले गरेका कर्ममा एकत्रित हुन सकोस् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्तित्वको निर्माण होस् । आफूसँग जे छ, त्यसैमा खुसी खोज्न सकोस् । प्रतिस्पर्धाका नाममा गलत विचारले स्थान नपाओस् । ससाना कुरामा छटपटी नहोस् । सम्भव नहुने महत्वाकांक्षा नराखोस् । शिक्षा यस्तो दिन सक्नुपर्छ । केवल किताबी ज्ञानको भारी बोकाएर, सामाजिक प्रतिस्पर्धाको भावना जागृत गराउने, पुँजीवादलाई प्रश्रय दिने र बाल मस्तिष्कलाई ‘धनमेव जयते’ अर्थात् धन कमाउन सकियो भने सबैलाई आफ्नो वशमा राख्न सकिन्छ भन्ने ज्ञान प्रदान गरेर असहिष्णु बनाउने शिक्षाले सभ्य समाजको निर्माण केवल कल्पनामा मात्र सीमित हुन्छ ।

‘यादृशैः सन्निविशते यादृशांश्चोपसेवते । यादृगिच्छेच्च भवितुं तादृग्भवति पुरुषः’ अर्थात् मानिस जस्तो प्रकृतिको व्यक्तिको संगत गर्छ, जस्ता व्यक्तिको सेवा गर्छ, जोजस्तो बन्न खोज्छ त्यस्तै बन्छ । यसबाट संगतगुनाको फल भन्ने हाम्रो लोकोक्तिलाई दृष्टिगत गर्न सकिन्छ । आफ्नो सन्तानलाई कस्तो बनाउने, कस्ता व्यक्तिको संगत गराउने, कस्तो आदर्श सिकाउने हो, त्यसैअनुसारको वातावरण सिर्जना गर्नु अभिभावकको कर्तव्य पनि हो । व्यक्तिको व्यक्तित्व निर्माणमा सबैभन्दा बढी योगदान त आखिर उसकै परिवारको हुन्छ । त्यसपछि मात्र विद्यालय, समाज र राष्ट्रको योगदान हुन्छ ।

यसरी परिवारभन्दा बाहिर निस्किएपछिको पहिलो गन्तव्य भनेको विद्यालय हो । विद्यालयमा व्यक्तिले समग्र ज्ञान आर्जन गर्ने हुनाले विद्यालयीय शिक्षामा नैतिक शिक्षालाई महत्व दिनुपर्छ । यसका लागि राज्यले लिने नीतिमा नै नैतिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ र पाठ्यक्रम निर्धारण गरी नैतिक शिक्षाको पठनपाठनलाई सुचारु गरिनुपर्छ । विगतमा भए–गरेका अभ्यास, प्रयास र उपलब्धिको समीक्षा गरी यसलाई विद्यालयीय शिक्षामा लागू गराउन सकिएमा पक्कै पनि सामाजिक अपराध नियन्त्रणमा केही हदसम्म यसले योगदान पुर्‍याउन सक्छ ।
(भण्डारी उच्च अदालत, पाटनमा कार्यरत छन्)