१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १४ सोमबार o७:o९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोमा ज्यान गुमाउने १७० पुगे, ५४ जना बेपत्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o७:o९:oo

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १७० पुगेको छ । अझै ५४ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । ग्रामीण क्षेत्रहरूमा उद्धार हुन नसकेकाले मृत्यु हुने र बेपत्ता हुनेको संख्या अझै धेरै रहेको आकलन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा १११ जना घाइते भएका छन् । ‘हामीले खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेका छौँ,’ उनले भने, ‘अवरुद्ध राजमार्गहरू पनि खुलाउने प्रयास भइरहेको छ ।’

घाइते तथा राजमार्गमा अलपत्र १६२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै मृत्यु काठमाडौंमा भएको छ । काठमाडौंमा मात्रै ५२ जनाको मृत्यु भएको छ । त्यसपछि सबैभन्दा धेरै काभ्रेमा ३६ जनाको ज्यान गएको छ । गृहका अनुसार काभ्रेमा १९ जना अझै बेपत्ता छन् । यो अवधिमा ललितपुरमा २२ को मृत्यु भएको छ । ललितपुरमा १४ बेपत्ता छन् । बाढी र पहिरोबाट प्रभावित तीन हजार ६२६ जनाको सकुशल उद्धार गरिएको गृहको भनाइ छ । 

काभ्रेमा पहिरोमा पुरिएकाको दुई दिनसम्म पनि हुन सकेन उद्धार 
काभ्रेमा पहिरोमा पुरिएकाको दुई दिन बित्दा पनि उद्धार हुन सकेको छैन । पहिरोमा कम्तीमा १९ जना पुरिएको सूचना सुरक्षा निकायले पाएका छन् । तेमाल गाउँपालिका– २ मा शनिबार एकैघरमा आठजना पुरिएकोमा चारजनाको मात्र शव भेटिएको छ । नमोबुद्ध नगरपालिका– ५ ठोक्रेमा पहिरोमा पुरिएका दुईजना र वडा नम्बर १ श्यामपाटीमा पुरिएका दुईजनाको उद्धार हुन सकेको छैन । बेथानचोक गाउँपालिका– ४ मा पुरिएका आठमध्ये चारको मात्र शव निकालिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । तेमाल गाउँपालिका विभिन्न गाउँमा मात्रै १४ जनाको उद्धार हुन नसकेको गाउँपालिकाका अध्यक्ष चन्द्र लामाले बताए । 

बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण काभ्रेको रोशीखोलाको आसपासमा बढी क्षति भएको छ । पनौती नगरपालिकाबाट सुरु हुने रोशीखोला रोशी गाउँपालिका हुँदै बग्दछ । काभ्रेको पनौतीमा अहिलेसम्म धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिका– ११, थुम्कीमा स्थानीयको घर पुरिँदा बेपत्ता भएका चारजनाको उद्धार हुन सकेको छैन । बनेपा नगरपालिका– १४ थालचोकमा पहिरोले घर बगाउँदा दुईजना बेपत्ता भएका छन् । 

रोशी गाउँपालिका– १ डुमरमा एक, रोशी गाउँपालिका– ३ मझुवा र भण्डारेमा तीनजनाको मृत्यु भएको छ । रोशीकै १० नम्बर वडामा पर्ने ढाडखर्कमा एकजना महिला घरमा पुरिएर हराइरहेकी छिन् । रोशी– ४ मा घर भत्किएर पाँचजना पुरिएकोमा एकजनाको शव निकालिएको र चारजना बेपत्ता रहेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

अविरल वर्षापछिको बाढी र पहिरोका कारण काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले बताइन् । १९ जना बेपत्ता र ४२ जना घाइते छन् । गाउँहरूमा मोबाइलसमेत नचलेकाले यथार्थ विवरण प्राप्त नभएको र बेपत्ताहरूको संख्या अझै धेरै रहेको हुन सक्ने आकलन प्रहरीको छ । बाढीपहिरोमा काभ्रेका सबैजसो स्थानीय तह प्रभावित भएका छन् । हरेक गाउँमा पहिरो गएको छ । 

बाढीपहिरोपछि ग्रामीण क्षेत्रमा सडक मात्र होइन, विद्युत् र सञ्चार पनि अवरुद्ध हुन पुगेको छ । सडक र सञ्चार नै अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको एसपी खड्काले बताइन् । उद्धारका लागि जाने सडकहरूसमेत छैनन् । गाउँका चौकीहरूसँग उद्धार गर्ने उपकरण र पर्याप्त जनशक्ति छैन । यद्यपि, घाइतेहरूको विभिन्न ठाउँबाट हेलिकोप्टरमार्फत आइतबार उद्धार गरिएको छ । घाइते र बिरामीलाई प्राथमिकताका आधारमा उद्धार भइरहेको प्रहरीले जनाएको छ । 

बिपी राजमार्गमा अलपत्र परेका करिब दुई सयजनाको आइतबार उद्धार भएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार धेरैको उद्धार भइसकेको, केही हिँडेर अन्यत्र गएका छन् । दुवैतर्फ पहिरोका कारण सडक अवरुद्ध हुँदा मंगलटारलगायत क्षेत्रमा बिहीबारदेखि नै सयौँ अलपत्र परेका थिए, जहाँ केही अझै उद्धारको प्रतीक्षामा छन् ।