१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार o७:o६:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

झ्याप्ले खोलाकी स्थानीय सरू तामाङले जे देखिन् : यात्रुले गुहार भन्न पनि पाएनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o७:o६:oo

काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ की ३८ वर्षीया सरू तामाङको जस्ताको टहरा झ्याप्ले खोला किनारमै छ । अविरल वर्षाको त्रासमा रातभर जागा रहेकी सरू शनिबार बिहान ४ बजे ओछ्यानमा झकाउँदै मात्रै के थिइन्, जमिन थर्किँदै आएको डरलाग्दो आवाजले झसंग भइन् । ‘हतपत टहराको ढोका खोलेँ । त्यहीवेला झ्याप्ले खोलामाथिको ढिस्को सामुन्ने बज्रियो । जमिनमा फेरि कम्पन भयो । आत्तिएर सडकको डिलमा पुगेँ । पहिरो खसेको ढिस्कोतर्फ नियालेँ । अविरल वर्षासँगै वेगले सडकतर्फ माटोको लेदो झरिरहेको थियो,’ उनले सुनाइन् । सडकको भित्तातर्फ लाइनमा बसेका यात्रुवाहक बसतर्फ उनको नजर पुग्यो ।

जो काठमाडौं प्रवेशका लागि पाँच घण्टादेखि प्रतीक्षारत थिए । हेर्दाहेर्दै ढिस्कोबाट झरेको लेदोले यात्रुवाहक बा.३ज १३४५ नम्बरको बसलाई पुरिदियो भने ना.४ख २२७० नम्बरको अर्को बसलाई सडकभन्दा तलको खोँचमा झारिदियो । दुवै बसका यात्रुले गुहार भन्न पनि पाएनन् । सरूका अनुसार लु.१ज ४५७८ नम्बरको माइक्रो भने सुरुकै चरणमा पुरिसकेको थियो ।

‘बसको ठिक पछाडितर्फ थिए, दुईवटा टुरिस्ट बस । ढिस्कोबाट बगेर आएको लेदो दुवै बसको हुटमा थुप्रियो । पहिरोले धकेलेर बसलाई अर्को किनारमा पुर्‍यायो,’ उनले घटनाबारे भनिन्, ‘लेदोले बसको झ्यालमा क्षति पु¥यायो । भाग्यवश बसको हुट बलियो थियो । यात्रुहरू बालबाल बाँचे ।’ 

यी सबै दृश्य प्रत्यक्ष नियालिरहेकी सरूलाई अब बाँचिन्न भन्ने लाग्यो । ज्यान जोगाउन चाँडोभन्दा चाँडो घटनास्थलबाट भाग्ने मनस्थिति बनाइन् । ढिस्कोबाट झरेको लेदोले धादिङतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध थियो । त्यसो हुँदा उनी अब नागढुंगातर्फ अघि बढ्नुको विकल्प थिएन । अघि बढिन्, तर त्यसतर्फ पनि जान सकिनन् । किनकि ढिस्को खसेर त्यसतर्फको सडक पनि अवरुद्ध भइसकेको थियो । 

विलखबन्धमा परेकी उनले उद्धारका लागि प्रहरीलाई खबर गरिन् । स्थानीय तहका जनप्रतिनिधिसँग गुहार मागिन् । तर, उद्धारमा कोही आएनन् । शनिबार अपराह्न २ बजेतिर वर्षा कम हुँदै गयो । प्रहरी बल्ल घटनास्थल आइपुग्यो । आइतबार नयाँ पत्रिका टिम झ्याप्ले खोला पुग्दा उनकै टहरामा भेटिएकी सरूले अगाडि भनिन्, ‘पहिरोले बस थिच्यो । सडक पूर्ण रूपमा अवरुद्ध बन्यो । यात्रुहरू सडकमा गुहार मागिरहेका थिए । मसँगै रहेका अर्का यात्रुले प्रहरीलाई उद्धारका लागि टेलिफोन गरे । स्थानीय जनप्रतिनिधिलाई पनि उद्धार गर्न भन्यौँ । तर, हाम्रो आवाज कसैले सुनेनन् । शनिबार दिउँसो २ बजेतिर मात्रै प्रहरी घटनास्थल आइपुगेको थियो ।’

चितवनबाट १६ यात्रु बोकेर आएको थियो बा.३ज १३४५ नम्बरको बस । सबै यात्रु त्यहीँ अस्ताए । ना.४ख २२७० नम्बरको बस भने गोरखाबाट काठमाडौंतर्फ आएको थियो । बसमा सवार पाँचै यात्रुको ज्यान गयो । त्यस्तै, बुटवलबाट आएको लु.१ज ४५७८ नम्बरको विंगर माइक्रोमा रहेका १४ यात्रुको पनि त्यहीँ ज्यान गयो । 

झ्याप्ले खोला पहिरोले ठुलो मानवीय क्षति निम्त्यायो । योलगायत साना–ठुला अन्य पहिरोले राजमार्ग अवरुद्ध हुँदा कैयौँ यात्रु सडकमा अलपत्र परे । आइतबारसम्म पनि कतिपय यात्रु सडकमै अलपत्र छन् । सरकारले उद्धार गरेको छैन । पशुपतिनाथको दर्शन गर्न शुक्रबार साँझ लुम्बिनीबाट पर्यटक बसमा हिँडेका भारतीय पर्यटकको टोली झ्याप्ले खोलाको पहिरोले दुई दिन थुनिए । पहिरो खस्नुभन्दा केही समयपछि मात्रै पुगेका उनीहरू धन्न जोगिए । राजस्थानबाट तीर्थाटनका लागि आएका ३० जनाको टोलीको उद्धार नभएपछि उनीहरू भोकभोकै भिज्दै हिँडेरै पशुपति दर्शन गर्न जाने निर्णयमा पुगे । आइतबार उनीहरूले पशुपति दर्शन गरे । 

टोलीका एक गिरधरसिंह सिसोडियाले भने,‘हामी पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका थियौँ । सडकमा पहिरो खस्यो । यात्रुवाहक बस पहिरोले पुरिए । अर्कोतर्फ भाग्न खोज्दा त्यता पनि पहिरो खस्यो । हामी त मृत्युको ‘ट्रयाप’मा फसेझैँ लाग्यो । घनघोर वर्षामा रातभर भिज्यौँ । धन्न बाँचियो ।’ 

अघिल्लो बसका यात्रु पहिरोमा पुरिए । पछि रहेका बसका यात्रु लाखापाखा लागे । तर, भारतीय पर्यटकका लागि झ्याप्ले खोला नौलो ठाउँ थियो । उनीहरू कहीँ जान सकेनन् । उद्धारका लागि चाँडै नै सुरक्षाकर्मी वा स्थानीय सरकार आउने आशामा थिए उनीहरू । तर, त्यसो हुन सकेन । राजस्थानका सुरेन्द्रसिंह दरमारले नेपाल सरकारप्रति लक्षित गर्दै नमिठोसँग गुनासो पोखे, ‘चारधाममध्येको एक पशुपतिनाथ मन्दिर हो । भारतबाट मात्रै हामीजस्ता धेरै पर्यटक आउँछन् । हामी अलपत्र बन्यौँ । दुई दिनसम्म पनि हाम्रो उद्धार हुन सकेन । हामीलाई यहाँ सरकार नै नभएजस्तो भान भयो । जेहोस् पशुपतिनाथको कृपाले ज्यान जोगियो । त्यसैमा हामी खुसी छौँ ।’

शनिबार बिहानदेखि आइतबार साँझ ७:३० बजेसम्म नै नागढुंगा सडक पूर्ण रूपमा अवरुद्ध बन्यो । उपत्यकाबाट बाहिरिने ट्रक तथा बसका लस्कर थानकोटदेखि नागढुंगासम्मै देखिन्थे । उता धादिङतर्फ झ्याप्ले खोलादेखि बस र ट्रकका लस्कर सडकमा देखिन्थे । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम केसीले काठमाडौैं भित्रिने बस तथा ट्रकको लाइन धादिङतर्फ करिब चार किलोमिटरसम्म पुगेको बताए । उनले भने, ‘शुक्रबार र शनिबारको अविरल वर्षाले धादिङतर्फको सडकखण्डमा मात्रै ४८ ठाउँमा पहिरो खसेको छ । धादिङतर्फका पहिरो करिब–करिब पन्छाइसकिएको छ । सडकमा बस र ट्रकको लाइन निकै लामो छ । 

करिब चार किलोमिटरसम्म बस तथा ट्रकका लाइन होलान् ।’नागढुंगा नाकाबाट धादिङतर्फ प्रवेश गर्ने सडकमाथिको एउटा ढिस्को छैन, जुन अविरल वर्षासँगै सडकमा नखसेको होेस् । नागढुंगा नाकाबाट झ्याप्ले खोलासम्मको दूरी करिब साढे एक किलोमिटर मात्रै छ । तर, यसबिचमा १० भन्दा धेरै ठाउँमा लेदोसहितको पहिरो गएको छ । कति ठाउँमा रुख ढलेर सडकमा आइपुगेका छन् त कति ठाउँमा माटोको ढिस्को । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले शनिबार दिउँसो २ बजेबाट पहिरो पन्छाउन सुरु गरेकोमा आइतबार साँझ ७:३० बजेसम्म पनि जारी थियो । 

प्रहरी वृत्त थानकोटका डिएसपी सूर्यप्रसाद सुवेदीले भने, ‘शनिबार र आइतबार दिनभरजसो एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाए, मृतकको शव निकाले । अवरुद्ध भएको झन्डै ३६ घण्टापछि साँझ ७:३० पछि भने पृथ्वी राजमार्ग बल्ल एकतर्फी रूपमा खुलेको छ । अहिले भने यात्रुवाहक बस तथा ट्रकहरू एकतर्फी रूपमा आउजाउ गरिरहेका छन् ।’