१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार o६:४४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जन्म र मृत्यु सँगसँगै : जुम्ल्याहा छोराछोरीसँगै आमा पनि अस्ताइन् झ्याप्ले खोलामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o६:४४:oo

आमा सीता भट्टराईको चाहना थियो– छोरा दीपेश र छोरी दीपिका एस्ट्रोनोमी ओलम्पियाड विजेता बनून् । आमाकै चाहनालाई दीपेश र दीपिकाले आफ्नो सपना बनाएका थिए । तर, आमाको चाहना र छोराछोरीको सपना एकसाथ अस्तायो काठमाडौं र धादिङको सिमाना झ्याप्ले खोलामा ।

स्याङ्जा गल्याङ नगरपालिका– ३ स्थायी घर भई बुटवलको कालिकानगर बस्दै आएका थिए उनीहरू । स्थानीय कालिका मानविज्ञान माविमा १० कक्षामा पढ्दै गरेका १५ वर्षका दीपेश र दीपिका जुम्ल्याहा हुन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ को पहिलो चरणको छनोट प्रतियोगिताका लागि काठमाडौं हिँडेका उनीहरू धादिङको झ्याप्ले खोला पहिरोमा परे ।

शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु.१ज ४५७८ नम्बरको विंगर गन्तव्यमा पुग्न सकेन, त्यसमा सवार सबै १४ जनाको ज्यान गयो । काठमाडौं हुँदै बंगलादेश पुगेर स्ट्रोनोमी ओलम्पियाड बन्ने दीपेश–दीपिकाको सपना अधुरै रह्यो । दीपक र दीपिकाका बुबा रोजगारीका सिलसिलामा कोरियामा छन् । 

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार दीपेश र दीपिका पढाइका साथै अतिरिक्त क्रियाकलापमा अब्बल थिए । प्रतियोगिताका लागि अनलाइनबाटै फारम भरेका थिए । पहिलो चरणमा छनोट भएमा दोस्रो चरणका लागि बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुने अवसरमा थिए उनीहरू । बंगलादेशमा ३२ राष्ट्रका प्रतियोगी सहभागी हुने भनिएको थियो । 

‘जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा छनोट भएपछि अन्तर्राट्रिय स्तरका छनोटका कार्यक्रम हुन्छन् । दीपेश र दीपिका राष्ट्रिय स्तरबाट छनोट भइसकेका थिए,’ उनीहरूका कक्षा इन्चार्ज दीपक बन्जाडेले भने । दीपेश एक नम्बर र दीपिका ५ नम्बरमा छनोट भएका थिए । बन्जाडेका अनुसार दुई–चार दिन नेपालमा तयारी गर्ने, त्यसपछि बंगलादेश जाने तयारी थियो । कार्यक्रम १७ असोजबाट थियो ।

०७३ देखि कालिकामा अध्ययनरत उनीहरूलाई अनुशासित र मिहिनेती विद्यार्थीका रूपमा आफूहरूले लिँदै आएको प्रधानाध्यापक थापाले बताए । कक्षा १० का साढे ६ सय विद्यार्थीमध्ये उनीहरू उत्कृष्ट तीनभित्र पर्थे । विद्यालयले प्रतियोगितामा जान ७५ हजार रुपैयाँ सहयोगसमेत गरेको थियो । 

प्रमुख सेनानी केसी : साथी बचाउन खोज्दा आफू पनि रहेनन्
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ४ च्यानेस्थित सिन्धु बिच रिसोर्टमा शनिबार बिहान सानो पहिरो खस्यो । रिसोर्टमा सुतिरहेका नेपाली सेनाका प्रमुख सेनानी मिलन केसी हत्तपत्त उठेर बाहिर निस्किए । पल्लोपट्टि कोठामा सुतिरहेका दुईजना कोरियन साथीलाई उठाउन त्यसतर्फ लागे । त्यहीवेला माथिबाट फेरि ठूलो पहिरो खस्यो । साथीहरूलाई बचाउन जाँदा केसीलाई पहिरोले ढलायो । रिसोर्टका कर्मचारीले समातेर बाहिर निकाल्न खोज्दा उनी ढले र केही समयमा उनको निधन भयो । 

दोलखा भीमेश्वर नगरपालिका घर भई सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसी दुई कोरियन नागरिकसहित गत शुक्रबार साँझ रिसोर्ट पुगेका थिए । रिसोर्टमा सुतिरहेका वेला शनिबार बिहान १० बजे रिसोर्टलाई पहिरोले पुरेको थियो । रिसोर्टका अन्य कोठामा रहेका १५ जनाको भने उद्धार गरिएको छ । प्रमुख सेनानीमा बढुवा भएपछि केसी सिरिया मिसनमा जाने तयारीमा थिए ।