१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार o६:o७:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग डिजिटल संस्करण

प्रेरक प्रसंग: जीवनको स्वाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o६:o७:oo

रबिन कक्षामा शान्त रहन्थे । उनी अरूसँग खासै कुराकानी गर्दैनथे । उनका धेरै साथी पनि थिएनन् । जहिल्यै दुःखी देखिन्थे । एक दिन उनी कक्षामा पढिरहेका थिए । उनलाई शान्त देखेर प्राध्यापकले कक्षापछि आफूलाई भेट्न भने । रबिन प्राध्यापकको कक्षमा पुगे । प्राध्यापकले भने– रबिन, म तिमीलाई प्रायः शान्त र चिन्तितजस्तो देख्छु । हाँसखेल गरेको र साथीहरूसित कुराकानी गरेको पनि देख्दिनँ । यसको कारण के हो ?

रबिनले भने– सर, मेरो विगत निकै खराब छ । मेरो जीवन दुःखदायी घटनाले भरिएको छ । म तिनैका बारेमा सोचेर चिन्तित हुने गर्छु । प्राध्यापकले ध्यानपूर्वक रबिनका कुरा सुने र आउँदो आइतबार आफ्नो घरमा आमन्त्रित गरे । रबिन निर्धारित समयमै प्राध्यापकको घर पुगे । एकैछिनको भलाकुसारीपछि प्राध्यापकले सोधे– रबिन तिमी सर्बत पिउँछौ ? रबिनले स्वीकृतिमा टाउको हल्लाए । सर्बत बनाउँदै गर्दा प्राध्यापकले जानाजान चिनी निकै कम र नुन अलि बढी नै हालिदिए । एक घुट्को सर्बत पिउनासाथ अनौठो स्वादले गर्दा रबिनले मुख बिगारे । उनलाई ध्यानपूर्वक हेरिरहेका प्राध्यापकले प्रश्न गरे– के भयो ? सर्बत मन परेन ? रबिनले भने– नुन अलि बढी परेछ, सर ! उनले आफ्नो भनाइ राम्ररी पूरा गर्न नपाउँदै प्राध्यापकले भने– बर्बादै भएछ । म यसलाई फ्याँकेर अर्को सर्बत बनाइदिन्छु, पर्ख है !

प्राध्यापकले गिलास उठाउन लाग्दा उनलाई रोक्दै रबिनले भने– केही छैन सर, नुन थोरै बढी भयो त के भयो ? यसमा थोरै चिनी थपिदिए त यसको स्वाद ठिक भइहाल्छ नि ! प्राध्यापकले हाँस्दै भने– हो, मैले तिमीबाट यही जवाफ सुन्न चाहेको थिएँ, रबिन ! यसलाई आफ्नो जीवनसित तुलना गरिहेर त । सर्बतमा नुन धेरै हुनु हाम्रो जीवनमा खराब अनुभव हुनुजस्तै हो । अब मीठो बनाउन जसरी हामी यसबाट नुन निकाल्न सक्दैनौँ ठिक त्यसैगरी हामी दुःखद घटनालाई जीवनबाट हटाउन सक्दैनौँ । तर, जसरी थोरै चिनी थपेर सर्बतलाई मीठो बनाउन सकिन्छ, त्यसैगरी पुराना तिता अनुभव मेटाउन जीवनमा राम्रा अनुभवबाट मिठास घोल्नुपर्छ ।