१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ असोज ९ बुधबार o७:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शौचालयबारे काठमाडौं महानगरको द्वैध चरित्र : आफ्नोबाट शुल्क असुल्छ, निजीलाई नि:शुल्क गर भन्छ

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o७:४३:oo

- काठमाडौं महानगरपालिकाअन्तर्गतका सार्वजनिक शौचालय प्रयोग गरेबापत शुल्क नलिने घोषणा भए पनि सो घोषणा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

- सुन्धाराको आकासेपुलमुनि रहेको सार्वजनिक शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पाँचदेखि १० रुपैयाँसम्म तिर्नुपर्छ । काठमाडौं महानगरअन्तर्गतको यो सानो शौचालय न त सफा छ न पर्याप्त पानी नै छ । तर, पनि अप्ठ्यारोमा परेका सर्वसाधारण बाध्य भएर प्रयोग गरिरहेका छन् । सो सार्वजनिक शौचालयका कर्मचारी ईश्वर गुरुङले काठमाडौं महानगरपालिले शौचालय प्रयोगबापत शुल्क नलिने निर्णय गरेको सुने पनि कसैले नलिन नभनेको बताए ।

- न्युरोडको विशालबजार मल पुग्नेले शौचालय प्रयोग गरेबापत पाँचदेखि १० रुपैयाँ शुल्क तिर्नुपर्छ । विशालबजारभित्र कार्यरत कर्मचारीबाहेकले उक्त शौचालय प्रयोग गरेबापत शुल्क तिर्नुपर्छ । शुल्क संकलन गर्न बसेकी सुशिला तामाङले अहिलेसम्म कुनै खबर नआएकाले शुल्क लिइरहेको बताइन् । नि:शुल्क गर्नेबारे छलफल भइरहेको हल्ला सुने पनि थप जानकारी नभएको उनले बताइन् ।

- महानगरको वडा ३० अन्तर्गत मैतीदेवी मन्दिर परिसरमा रहेको शौचालयमा पनि पिसाब/दिशा गरेको ५/१० रुपैयाँ शुल्क तिर्नुपर्छ । उक्त शुल्क शौचालय प्रवेश गर्ने गेटबाटै देखिने गरी ठुलो अक्षरमा टाँसिएको छ । शुल्क उठाउने व्यक्तिले अरू ठाउँमा जे भएपनि परिसरमा रहेको शौचालयमा भने शुल्क उठाइरहेको बताए । उनले शौचालय शुल्क लिने/नलिनेबारे कुनै छलफल नभएको समेत बताए ।

- कलंकीको टिएम मार्केटको भुइँतलामा भएको शौचालयमा पनि दिसा–पिसाब गरेबापत शुल्क तिनुपर्छ । भुइँ तलामा रहेको यो शौचालय प्रवेश गर्ने गेटनजिकै बसेकी महिलाले दिसा/पिसाब गरेको १० रुपैयाँ शुल्क उठाउँछिन् । ‘बाहिर पैसा तिर्नुपर्दैन होला । यता पर्छ,’ शौचालय प्रयोग गरेको शुल्क लिँदै ती महिलाले भनिन् । 

यी त केही प्रतिनिधि घटना मात्र हुन् । महानगरभित्रका सार्वजनिक क्षेत्र र मल, बजारमा सञ्चालन भइरहेका सार्वजनिक शौचालयले प्रयोग गरेबापत पाँचदेखि २० रुपैयाँसम्म शुल्क असुल गरिरहेका छन् । यद्यपि, महानगरले पाँच महिनाअघि (जेठ) नै सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका सार्वजनिक सौचालय प्रयोग गरेबापत सुल्क लिन नपाइने निर्णय गरेको थियो । त्यसपछि केही शौचालय नि:शुल्क भएपनि कतिपय सार्वजनिक शौचालयले अझै शुल्क उठाइरहेका छन् ।

महानगरको सूचनामा भनिएको छ,‘सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयले सेवाग्राहीसँग कुनै पनि शुल्क नलिन सूचना जारी गरिएको छ । नि:शुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग सामग्री उपलब्ध गराउने भएकाले शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकले सूचना प्रकाशित भएको १५ दिनभित्र महानगरको सार्वजनिक–निजी साझेदारी एकाइमा प्रस्ताव पेस गर्न हुन अनुरोध गरिन्छ ।’ हानगरले कुनै सरकारी, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेकाको हकमा समेत नि:शुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध गरेको थियो । 

महानगरभित्र नि:शुल्क शौचालय प्रयोग गर्न दिन महानगरले सुरु गरेको अभियानमाविभिन्न संघ–संस्थाले सहयोग गर्ने क्रम बढ्दो छ । यसका लागि महानगरले दुई वर्षअघि बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघ–संस्थाका प्रतिनिधिसँग एकै दिन सम्झौता पनि गरेको थियो । त्यसपछिलगत्तै नबिल बैंक, महालक्ष्मी विकास बैंकलगायत पाँच संस्थालेसम्झौता गरेपछि यो संख्या ३७ पुगेको थियो । ३७ संघ–संस्थाका विभिन्न शाखा गरेर एक सय २० ठाउँमा सर्वसाधारणले नि:शुल्क शौचालय प्रयोग गर्न पाएका थिए । 

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्–बोलेजस्तो कहाँ हुन्छ र ?
हामीले नि:शुल्क शौचालय प्रयोगका लागि दिनु भनेका त हौँ । तर, बोलेजस्तो कहाँ हुन्छ र ? नि:शुल्क भनेर मात्र हुँदैन । शौचालय सफाइका लागि सामग्री चाहियो । जनशक्ति चाहियो । यो नियम तुरुन्त लागू हुन्छ भन्ने छैन ।