१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
गणेश विश्वकर्मा
२o८१ असार १६ आइतबार o८:४६:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एकीकृत समाजवादीमा विचार, संगठन र नेतृत्वको प्रश्न

Read Time : > 4 मिनेट
गणेश विश्वकर्मा
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o८:४६:oo

नेतृत्व भनेको न त हस्तान्तरण हुन्छ, न त पुस्तान्तरण, यो त एक सैद्धान्तिक, वैचारिक र राजनीतिक प्रक्रिया हो 

पार्टी विद्रोहका तीन वर्ष : नेपाली जनताको सार्वभौमसत्ता, मुलुकको स्वतन्त्रता, स्वाधीनता एवम् क्षेत्रीय अखण्डता रक्षाका लागि सामन्तवाद–साम्राज्यवादविरोधी संघर्षका ओराली उकाली पार गर्दै नेपालको कम्युनिस्ट आन्दोलनले ७५ वर्ष पूरा गरेको छ । यही सन्दर्भमा ‘दक्षिणपन्थी अवसरवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ’ भन्ने मूल नाराकासाथ यही १६ देखि २० असारसम्म देशको राजधानी काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन सम्पन्न हुन गइरहेको छ । विगतका क्रान्ति र राजनीतिक आन्दोलनका निष्कर्षलाई देशको पुनर्निर्माण र विकासमा रूपान्तरण गर्नुपर्ने र विगत ३० वर्षसम्म चलेको राजनीतिक अस्थिरता र अन्योलको अन्त्य र सामन्तवादका अवशेषको समूल अन्त्य गर्दै समाजवादउन्मुख राज्यव्यवस्थाको आधार निर्माण गर्ने कार्यभार पूरा गर्ने काम नवौँ महाधिवेशनबाट निर्वाचित तत्कालीन नेकपा (एमाले) को नेतृत्वबाट सम्भव नभएपछि वैचारिक तथा सांगठनिक ढंगले विद्रोह गरिएको थियो ।

लाखौँलाख पार्टी सदस्य तथा करोडौँ समर्थक र शुभचिन्तकमा गतिहीनता र पार्टीमा देखिएको संगठनात्मक शून्यताका कारण कुण्ठा, निराशा र हतोत्साह अन्त्य गर्नका लागि भएको विद्रोहको औचित्य यही महाधिवेशनबाट नीतिगत, नेतृत्वगत र सांगठनिक हिसाबले अनुमोदन हुनेछ । विद्रोह गरेको तीन वर्षको अनुभवबाट यस महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी यथास्थितिवाद र बाह्य तथा आन्तरिक अवसरवादबाट मुक्त गर्दै समाजवादको दिशामा सम्पूर्ण कम्युनिस्ट तथा प्रगतिशील शक्तिलाई गोलबन्द गर्दै कमरेड पुष्पलालको नेतृत्वमा सुरुवात भएको जनवादी क्रान्ति र पछिल्लो समय कमरेड मदन भण्डारीको नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवादबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै समाजवादमा प्रवेश गर्ने नयाँ कार्यक्रम नै पार्टी विद्रोहको औचित्य पुष्टि गर्ने प्रमुख आधार हुनेछ । विद्रोहको पुष्टि र नेतृत्वको अनुमोदनसँगै यस महाधिवेशनले गर्नुपर्ने कामका विषयमा केही चर्चा गर्नु उपयुक्त हुनेछ । 

विचारधारात्मक क्षेत्रको काम : पार्टी जीवनको अत्यन्त महत्वपूर्ण पक्ष भनेको विचार र सिद्धान्त हो । नेकपा (एमाले) कालमा मार्क्सवाद, लेनिनवाद र जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गरिएको थियो, त्यसलाई नेकपा (एकीकृत समाजवादी) को पुनर्गठनसँगै मार्क्सवाद र लेनिनवादलाई सैद्धान्तिक मार्गदर्शक सिद्धान्त, जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक पद्धतिलाई संगठनात्मक सिद्धान्त र नेपाली विशेषताको समाजवादलाई तत्कालीन साझा कार्यक्रमका रूपमा अवलम्बन गर्ने विषय यस महाधिवेशनले एकस्वरमा अनुमोदन गर्नेछ ।

किनभने मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवादको जगमा उभिएको राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, संगठनात्मक सिद्धान्त तथा पार्टी विधानमाथि हरेक पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यमाझ सम्पन्न छलफलपश्चात् नै यो महाधिवेशन हुन गइरहेको छ । नेपालको संविधानले स्थापित गरेका संघीयता, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीकरण र धर्मनिरपेक्षतालाई मूल पिलर मानेर आएका यी साझा दस्ताबेजले आर्थिक सामाजिक प्रगतिशील रूपान्तरणबाट लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्दै नयाँ युग निर्माण गर्ने उद्घोषसाथ दीर्घकालीन र अल्पकालीन समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणको कार्यक्रम अघि सारिएको छ । जसमा देशको पुनर्निर्माण र विकासमा नेपाली समाजको वर्गसंघर्ष केन्द्रित छ । जसलाई तत्काल गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा तथा सबै प्रकारका विभेदबाट मुक्त भई समतापूर्ण समृद्ध जीवनको परिकल्पना गरिएको छ । 

संगठनात्मक क्षेत्रको काम : राजनीतिक पार्टीहरूको निर्माण सिद्धान्त, विचार, नीति र संगठनका आधारमा हुन्छ । संगठनहरूले तिनलाई बोकेर हिँड्न सुरु गर्छन् । सिद्धान्त, विचार र नीतिहरू जतिसुकै राम्रा भए पनि संगठन बलियो भएन भने ती दस्ताबेजमा उल्लेख भएका विषयभन्दा बढी हुँदैनन्, अथवा तिनमा प्राण हुँदैन । आजको नेकपा (एकीकृत समाजवादी) सँग सिद्धान्त, विचार र नीतिसहितको टाउको त बनेको छ, तर हात र खुट्टासहितको अवयव बनाउन भने बाँकी नै छ । आजको राज्यव्यवस्था कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको उज्ज्वल भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ । आज पार्टी कमिटीका बैठकमा ब्यापक छलफलबाट मात्रै निर्णय लिने र गरिएका निर्णय दृढतापूर्वक पालना गर्ने जनवादी केन्द्रीयताको प्रणाली नै कम्युनिस्ट आन्दोलन पुनर्गठनको मूल पक्ष हो । संगठनको अभ्यासले कुनै पनि नेतालाई विशेष अधिकारयुक्त बनाउने व्यवस्था समाप्त गरेर पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको प्रणाली कायम गर्ने र व्यक्तिवादी कार्यशैलीको दृढतापूर्वक अन्त्य गरिनुपर्छ ।

आज हामीले ७५ वर्षको यति लामो अवधिबाट संश्लेषण गरेको अनुभवलाई संगठन तथा राज्यसञ्चालनसम्बन्धी कुशलतालाई संगठनमार्फत जनतामा स्थापित गर्न सक्नुपर्छ । पार्टीमा विधि, विधान र प्रक्रिया स्थापित गर्दै ‘थ्री–इन–वान’को सिद्धान्तअन्तर्गत युवा, प्रौढ र ज्येष्ठ सदस्यको समूहमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मधेशी र अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित हुने गरी आधारभूत वर्ग तथा समुदायमा पार्टी निर्माण, सुदृढ र विस्तार गर्ने कार्ययोजना बनाइनुपर्छ । हरेक तहको कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी र बढीमा दुई कार्यकाल मात्र कार्यकारी प्रमुख रहने व्यवस्थालाई विधानको अपरिवर्तनीय धाराका रूपमा स्थापित गरिनुपर्छ । संगठनमार्फत सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियाद्वारा अभूतपूर्व गतिशीलता सिर्जना गर्दै समृद्ध समाजवाद निर्माणको सुरुवात गर्न चारैतिर गतिहीनता, योजनाहीनता र विवेकहीनताको अवस्थाको अन्त्य यही महाधिवेशनको हलबाट सुरुवात गरिनुपर्छ र गतिशील संगठन बोकेर फर्किनुपर्छ ।

नेतृत्वको प्रश्न : हरेक विचार र संगठनलाई सन्तुलित र व्यावहारिक हिसाबले हाँक्न सबल, सक्षम र भिजनरी नेतृत्वको आवश्यकता पर्छ । नेकपा (एकीकृत समाजवादी) को १०औँ महाधिवेशनमा नेतृत्वको विषयमा मूलतः हस्तान्तरण, रूपान्तरण र पुस्तान्तरणका मुद्दा निकै चर्चामा रहेका देखिन्छन् । नेतृत्व भनेको न त हस्तान्तरण हुन्छ, न त पुस्तान्तरण । यो त एक सैद्धान्तिक वैचारिक राजनीतिक प्रक्रिया हो । हस्तान्तरण र पुस्तान्तरण त सामन्तवादी सोच हो, जुन नातावादमा आधारित हुन्छ । बलियो कम्युनिस्ट आन्दोलन र एकीकृत पार्टीका पक्षमा उभिने ठूलो संख्यामा रहेका इमानदार र समर्पित नेता तथा कार्यकर्ताले सामूहिक नेतृत्वको चाहना राखेको देखिन्छ । आजको पार्टीमा पहिलो, दोस्रो र तेस्रो पुस्ताको प्रभावकारी संयोजनको आवश्यकता छ । आजको दुनियाँमा जतिसुकै योग्य र चमत्कारी भए पनि एउटै व्यक्तिबाट पार्टीको सामूहिकता प्रकट हुन सक्दैन ।

त्यसैले उपयुक्त व्यक्तिले उपयुक्त जिम्मेवारी प्राप्त गर्ने, खुला र खुलस्त विचार राख्न पाउने तथा फरक विचार राखेकै आधारमा कुनै किसिमको भेदभाव र बहिष्करणमा नपारिने अनि पार्टी कमिटीमा सामूहिक छलफलबाट निकालिएको निष्कर्षलाई नै निर्णय बनाउन सक्ने गुटबन्दीमुक्त पार्टी निर्माण आजको आवश्यकता हो । मार्क्सवादी–लेनिनवादी पार्टी सञ्चालनको सिद्धान्त र विधि भनेको आम रूपमा जनवादी केन्द्रीयताको सिद्धान्त र विधि नै हो । अन्तरपार्टी लोकतन्त्रलाई छलफलमा स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको सिद्धान्तका आधारमा अघि बढ्न सक्नुपर्छ । नेकपा (एकीकृत समाजवादी) पार्टी पुष्पलालकालीन पार्टीको निरन्तरता मात्र होइन, कम्युनिस्ट आन्दोलनको पुनर्गठन पनि हो ।

यो नेपाली समाजको राजनीतिक, आर्थिक र सामाजिक÷सांस्कृतिक क्षेत्रको पुनर्गठनसमेत हो । त्यसैैले, ती तीन पक्षको तालमेलसहित विद्रोह र नेतृत्वको अनुमोदन दसौँ महाधिवेशनको मूल कार्यभार हो । तब मात्र दक्षिणपन्थी र उग्रवामपन्थी भड्काउ, विशेषतः दलाल पुँजीवादी प्रवृत्ति, अराजकता र स्वेच्छाचारीताविरुद्ध सैद्धान्तिक–वैचारिक संघर्ष गर्दै पलायनवाद, जडसूत्रवाद एवं विसर्जनवादलाई पराजित गर्न र समाजवाद तथा साम्यवादमा पुग्ने ध्येयसाथ नयाँ नेकपा (एकीकृत समाजवादी) निरन्तर क्रियाशील रहनुपर्छ । यसले मौलिक क्रान्तिको रक्षा, समाजवादको सही र मौलिक बाटो, सुशासन र समृद्धि, राष्ट्रिय पुँजीको निर्माण, वैज्ञानिक भूमिसुधार, कृषिको औद्योगिकीकरण, मर्यादित श्रम सम्मानित श्रमिक, सामन्तवादका अवशेषहरूको समूल अन्त्य, संविधानका मौलिक हकको कार्यान्वयन, सबै प्रकारका विभेद र जातीय छुवाछुतको अन्त्य, गरिबी र बेरोजगारीको अन्त्य, उद्योगको पुनः स्थापना, भूराजनीतिको सन्तुलनसहितको सपना, कल्पना र योजना आज हामी सबैको साझा लक्ष्य हो । त्यसैले आउनुहोस् कमरेडहरू, पुष्पलालले भन्नुभएझैँ ‘नेता होइन, नीति प्रधान’ भन्ने मूल मान्यतालाई स्थापित गरौँ । प्रकृतिको नियममा अँध्यारो अनन्तकालसम्म रहँदैन । कुनै न कुनै क्षणमा अँध्यारो फाट्न र उज्यालो आउनैपर्छ । त्यसैले विचार, सिद्धान्त, संगठनसहितको राजनीति निर्माण गरौँ । 

(विश्वकर्मा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन्)

ad
ad
ad
ad