१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ असार १८ मंगलबार o८:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कम्युनिस्ट आन्दोलन रक्षा गर्न एमालेमा गरिएको विद्रोह जायज र अनिवार्य थियो

एकीकृत समाजवादी महाधिवेशनमा अध्यक्षको प्रतिवेदन 

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:१o:oo

माधव नेपाल, अध्यक्ष, नेकपा एकीकृत समाजवादी : हामीले एमालेभित्र रहेको क्रान्तिकारी पंक्तिलाई नयाँ ढंगले पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवं विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति योगदान गर्ने उद्देश्यले विद्रोह गरेका हौँ ।

एकीकृत समाजवादीको १०औँ महाधिवेशनमा विभिन्न दस्तावेजहरू प्रस्तुत भएका छन् । निवर्तमान अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, अध्यक्षमण्डलका अध्यक्ष तथा सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, निवर्तमान महासचिव घनश्याम भुसालले संगठनात्मक र निवर्तमान उपाध्यक्ष डा.बेदुराम भुसालले विधान प्रस्तुत गरेका छन् । दस्तावेजमाथि मंगलबार समूहगत छलफल हुनेछ । 

अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा एमालेबाट गरिएको विद्रोहको औचित्य पुष्टि भएको दाबी गरेका छन् । कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ एमालेसँग विद्रोह गर्नुपरेको स्पष्ट पारेका छन् । सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह भएको उनको दाबी छ । नेपालले विगतमा पनि कैयनपटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको जिकिर गरेका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ गरिएको हाम्रो विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह हो । विगतमा पनि कैयनपटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको थियो,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ । 

पार्टी जोगाउन निरन्तर प्रयत्न गरे पनि अर्को पक्षले नचाहेकाले एमाले पुनर्गठन गरी अगाडि बढ्नु परेको उनले स्पष्ट पारे । कम्युनिस्ट आन्दोलनलाई जोगाएर अगाडि बढाउनु कम्युनिस्ट कार्यकर्ताको कर्तव्य भएको नेपालले बताए । ‘हामीले एमालेभित्र रहेको क्रान्तिकारी पंक्तिलाई नयाँ ढंगले पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवं विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति योगदान गर्ने उद्देश्यले विद्रोह गरेका हौँ,’ उनले भने । 

नेता खनालले समाजवादी क्रान्तिलाई अघि बढाइरहँदा रणनीतिक लक्ष्य र कार्यनीतिक लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् । कम्युनिस्ट आन्दोलनमा वेलावेला दक्षिणपन्थी वा उग्रवामपन्थी प्रवृत्ति प्रकट हुने गरेको उनले बताए । ‘प्रधान राजनीतिक अन्तर्विरोध निक्र्योल गर्नेबित्तिकै प्रमुख प्रतिद्वन्द्वी निर्धारण गर्ने प्रश्न अघि आउँछ । तर, हामीले प्रधान राजनीतिक अन्तर्विरोध ठीक ढंगले निर्धारण गरेका छौँ भने प्रधान प्रतिद्वन्द्वी स्वतः स्पष्ट भइहाल्छ । हरेक अवस्थामा दलाल पुँजीवादको मुख्य प्रतिनिधि दक्षिणपन्थी प्रतिक्रियावादी शक्ति नै त्यस कालखण्डमा क्रान्तिकारी शक्तिको प्रतिद्वन्द्वी हो भन्ने कुरा छर्लंग छ,’ समाजवादी कार्यक्रम प्रस्तुत गर्दै खनालले भने ।

नेपाली समाजवादी क्रान्तिको बाटो निर्धारण गर्नुका साथै क्रान्तिका रणनीतिक र कार्यनीतिक कार्यदिशाका बारेमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । क्रान्तिकारी संघर्षको प्रवाहलाई उग्रवामपन्थी वा दक्षिणपन्थी दुवै भड्काउबाट रक्षा गर्दै सही दिशामा अघि बढाउनुपर्ने उनले बताए । ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ,’ खनालले भने । 

खनालको नेतृत्वमा अध्यक्षमण्डल
महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । सोमबार सुरु भएको बन्द सत्रले खनालको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा खनालसहित डा. बेदुराम भुसाल, राजेन्द्र पाण्डे, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य छन् । 

अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्न खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरे । अध्यक्षमण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी पाएको छ । प्रकाश ज्वाला संयोजक रहेको माइन्युट लेखन कमिटी गठन भएको छ । कमिटीमा डा. गंगालाल तुलाधर र डा. विजयकुमार पौडेल सदस्य छन् । जगन्नाथ खतिवडा संयोजक रहेको बहस नोट कमिटी पनि गठन भएको छ । कमिटीमा राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ छन् ।

इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान
नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान हुने भएको छ । नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको छ । सहमति जुट्न नसके प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने एकीकृत समाजवादीले जनाएको छ । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसाल प्रतिस्पर्धाको तयारीमा छन् । अध्यक्षसहित पदाधिकारीमा सहमति गर्ने र केन्द्रीय सदस्यको निर्वाचन हुने सम्भावना पनि छ । केन्द्रीय सदस्यको आकांक्षी धेरै भएकाले निर्वाचनको विकल्प नभएको नेताहरू बताउँछन् । 

वरिष्ठ नेता केन्द्रीय कमिटीले तोक्ने
विधानमा पाँच केन्द्रीय निकाय रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखा कमिटी, केन्द्रीय निर्वाचन कमिटी र केन्द्रीय सल्लाहकार कमिटी रहनेछन् । केन्द्रीय कमिटी पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटीमा मनोनीत हुने संख्या थप हुन सक्ने व्यवस्था विधानमा गरिएको छ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । निर्वाचनमा पराजित अध्यक्षको उम्मेदवारलाई वरिष्ठ नेता तोक्ने गरी वैधानिक व्यवस्था गरिएको निवर्तमान सचिवालयका एक सदस्यले बताए ।

ad
ad
ad
ad