१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निलम्बित महामन्त्री ढकालको प्रतिवेदन सार्वजनिक गर्ने रास्वपाको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:o७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यवाहक महामन्त्री मनीष झाले प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । झाले भने, ‘डा. मुकुल ढकालले पेस गर्नुभएको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गर्दै छु।’

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको झाले बताए । 

महामन्त्री डा. ढकालको समीक्षा प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा पेस भएको थियो । पार्टीको नीति, नेतृत्व र कार्यशैलीको कडा आलोचना गरिएको प्रतिवेदन सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले वाचन गरेर बुधबारको केन्द्रीय समितिमा पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्दै महामन्त्री ढकालको कार्यसम्पादन र कार्यशैलीको कडा आलोचना गरेका थिए । उनीमाथि कारबाहीको मागसमेत उठेको थियो । 

इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठमा समीक्षा यात्रामा निस्किएका महामन्त्री ढकालले देशभरका कार्यकर्ता तथा शुभेच्छुकको वस्तुगत सुझावका आधारमा प्रतिवेदन तयार पारेर १२ असारमा सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदन बुझाउनुअगावै केही अंश सञ्चारमाध्यममा सार्वजनिक गर्दै प्रतिवेदन हुबहु सार्वजनिक गरेर आफूलाई न्याय दिन सभापति लामिछानेलाई अनुरोध गरेका थिए ।

प्रतिवेदन सार्वजनिक गर्नकै लागि महामन्त्री ढकालले बुधबारदेखि बसेको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न सभापतिसँग माग गरेका थिए । यहीबीचमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले प्रतिवेदनका अंश पहिले नै सार्वजनिक गरेको भन्दै १४ असारमा उनलाई स्पष्टीकरण पनि सोधेको थियो । 

प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर समीक्षा गरिएको छ ।

प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधार र पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाबारे पनि औँल्याइएको छ ।

पार्टीको जनमत खस्किँदै गएको र निर्मम कदम नचाले ०८४ मा राष्ट्रिय पार्टी बन्न हम्मे पर्ने र विवेकशील पार्टीजस्तै हालत बन्ने पनि उल्लेख छ । प्रतिवेदनमा पुराना दलभन्दा स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा हुने भनिएको छ । 

ad
ad
ad
ad