स्याङ्जामा पहिरोले घर पुर्दा घरभित्र रहेका तीनजनाको ज्यान गएको छ । विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घर पहिरोले पुरिदा ६५ वर्षकी गुञ्जेश्वरी शर्मा मरासिनी, ६७ वर्षकी हरिमाँया शर्मा, र ६९ वर्षका माधव शर्माको मृत्यु भएको हो।
उनीहरु एउटै खलकका भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी डिएसपी ईन्द्रबहादुर रानाले बताएका छन्।
त्यस्तै एकजनालाई मृत्यू भएको अवस्थामा खोलाबाट निकालिएको छ । पर्वतबाट बगाएर ल्याएको अवस्थामा आधिखोलाबाट शव निकालिएको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन ।
त्यस्तै, भिरकोट नगरपालिका ५ सरेकमा खेमकुमारी मल्ललाई पहिरोले पुरेको र खोजतलास भैरहेको प्रहरीको भनाइ छ ।
स्याङजाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले खतरामा रहेका बस्तिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको र स्थानीय निकाय संग निरन्तर समन्वय गरेको बताएकी छन्। उनले राजमार्ग खुल्ने र बन्द हुने भएको तथा भित्रि सडक १०० औँ स्थानमा पहिरोका कारण बन्द भएको बताइन्।
गल्याङ नगरपालिका ६ सेतीबेणी सेतीबेणी डुबानको उच्च जोखिममा छ । विश्वबिराट शिलाशालिग्राम जलमग्न भएकी छन । कालीगण्डकी नदी र सेतीखोलामा ठुरो बाढी आएको स्थानीय शिक्षक पशुपति न्यौपानेले बताए । शनिवार बिहानै देखी यहाँ संचार र विध्युत सेवा अबरुद्द छ ।