१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
रासस म्याग्दी
२o८१ असार २० बिहीबार o९:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

Read Time : > 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:१o:oo

म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो । 

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घण्टाैँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । ‘रघुगंगा गाउँपालिकाको बैसरी, सिरुबारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुवातसँगै सक्रिय भएका छन्,’ बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा ६ घण्टा बैसरीको जाममा फसेका उनले भने, ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूूर्ण बनेको छ ।’

मुस्ताङको थासाङ गाउँपालिका– ४ लेतेका सोमवीर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए । ‘पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ,’ उनले भने, ‘हिँडिरहेको अवस्थामा कुन वेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।’  रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन । पाखोबाट खस्ने ढुंगा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारीचालक सुरेश सेन्चुरीले बताए । 

दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो । गत वर्ष बैसरीको पहिरोमा पुरिएर एकजना सवारीचालकको ज्यान गएको थियो । मंगलबार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा.०२६च ७०५३ नम्बरको इको भ्यान पुुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुुइठेभिरमा गुुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो । 

पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषि उपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाका अनुसार १४ वटा पहिरो छन् । 

‘पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ,’ उनले भने, ‘बर्खायाममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकलाई खटाएका छौँ ।’

ad
ad
ad
ad