१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Tuesday, 02 July, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ असार १७ सोमबार o६:१७:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शीर्ष भेटघाटले राजनीति तरंगित

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार o६:१७:oo

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच नियमित द्विपक्षीय र त्रिपक्षीय भेटवार्ता बाक्लिएका छन् । एकातिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली आफैँ भेटवार्तामा जुटेका छन् भने अर्कोतिर तीनैजना नेताले सम्भावित सत्ताराजनीतिलाई लिएर निकट नेताहरूलाई खटाएका छन् । खास गरेर कांग्रेस र एमालेका शीर्ष नेताबीचको भेटवार्ताले राजनीतिक वृत्त तरंगित बनेको छ । 

कांग्रेसले आकस्मिक रूपमा सोमबार पदाधिकारी बैठक बोलाएको छ । त्यस्तै, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई मन्त्रिपरिषद्मा लगेर सरकार बलियो बनाउने प्राथमिकता रोकेर प्रधानमन्त्री प्रचण्डले पनि शीर्ष भेटवार्तालाई प्राथमिकतामा राखेका छन् । देउवा र ओलीबीच शनिबार भएको लामो र अनौपचारिक संवाद पनि अर्थपूर्ण रहेको जानकारहरू बताउँछन् । यसले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड आफैँले सत्तासमीकरणमा समस्या आउन सक्ने भन्दै संवादमा जुट्न निकट नेताहरूलाई निर्देश गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा माओवादी नेताहरूको आवत–जावत बाक्लिएको छ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले पनि दौडधुप बढाएका छन् । साताबीचमै भएका आधा दर्जन भेट सत्यनिरूपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विधेयक टुंगो लगाउन केन्द्रित भनिए पनि छलफलका विषयवस्तु पारदर्शी ढंगले बाहिर आएका छैनन् । तर, शीर्ष नेताहरूको सचिवालयले भने भेटवार्ता तीन नेताको आपसी सहमति र विश्वासमै अगाडि बढेकाले सत्तासमीकरण फेरबदलतिर केन्द्रित नरहेको दाबी गरेका छन् । 

प्रधानमन्त्री, ओली र देउवाबीच लगातार  द्विपक्षीय र त्रिपक्षीय भेटवार्ता, छलफलका विषयवस्तु अस्पष्ट, कांग्रेस–एमालेका शीर्ष नेताको भेटवार्ता ‘अर्थपूर्ण’

तर, पार्टीका नेताहरूले राजनीति सम्भावनाको खेल भएको भन्दै आशंकाहरूलाई मलजल गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन र सरकार फेरबदल हुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । ‘कसैको पनि बहुमत नभएपछि नयाँ–नयाँ गठबन्धन भएर सरकार फेरिने प्रक्रिया भइहाल्छ,’ आइतबार सुनसरीको इनरुवामा नेता गिरिजाप्रसाद कोइरालाको १०१औँ जन्मजयन्तीको अवसरमा उनले भने । 

आइतबार प्रधानमन्त्री प्रचण्ड र ओलीसँगै सत्तासमीकरणमा सामेल रास्वपा अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको छ । शनिबार बालकोटस्थित निवासमा एमाले अध्यक्ष केपी ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले तीन घण्टा भेटवार्ता गरेलगत्तै सत्तागठबन्धनका तीन शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । 

भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘सत्तापक्षको बीचमा नियमित भेटघाट र छलफल भइरहन्छ, त्यही सिलसिलाअन्तर्गत नै उहाँहरूबीच भेटवार्ता भएको हो,’ आचार्यले भने, ‘उहाँहरूबीच समसामयिक विषयमै कुराकानी भएको छ ।’ 

आइतबारको ओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले शनिबार बालकोटस्थित निवासमा कांग्रेस सभापति देउवासँगको भेटवार्ताबारे जिज्ञासा राखेका थिए । जवाफमा ओलीले द्विपक्षीय, त्रिपक्षीय छलफल गर्ने पूर्वसमझदारीअनुसार नै देउवासँग पनि छलफल भएको अवगत गराएका थिए । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले पनि प्रमुख तीन शीर्ष नेताबीचको लगातार भेटवार्ता पूर्वसहमति र आपसी जानकारीमै भएकाले आशंकित हुनुपर्ने कुनै कारण नै नरहेको बताए । ‘उहाँ (ओली कमरेड)ले जानकारी दिएरै भेट्नुभएको हो, प्रधानमन्त्री भेटवार्ताबारे जानकार नै हुनुहुन्थ्यो,’ अघिल्लो हप्ता पनि तीन नेताबीच अलग्गै छलफल भएको थियो, त्यसैको सिलसिलामा पछिल्लो भेट भएको हो,’ आचार्यले भने, ‘संवाद हुनु राम्रो कुरा हो । त्यही कारणले सत्तासमीकरण तल–माथि हुन्छ भन्ने एक प्रतिशत पनि आशंका प्रधानमन्त्रीमा छैन । यस्ता छलफलले राष्ट्रिय सहमति जुटाउन, रोकिएका विधेयक अगाडि बढाउन सहयोग पुग्छ भन्नेमा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ ।’

तीन नेताबीचको पछिल्लो द्विपक्षीय र त्रिपक्षीय भेटवार्ता टिआरसी विधेयकमा राष्ट्रिय सहमति खोज्ने दिशातिर केन्द्रित रहेको छ । १३ असारमा सहमतिकै प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेका थिए । त्यसअघि उनले कांग्रेस सभापति देउवासँग अलग्गै परामर्श गरेका थिए ।

ओलीले पनि देउवासँग अहिलेकै समीकरणलाई मजबुत बनाउने दिशामै कुराकानी गरेको आचार्यको भनाइ छ । ‘ठूलो दलको नेता केपी ओलीको पहलमा अहिलेको समीकरण बनेको हो । यो समीकरणलाई अघि बढाउने जिम्मेवारी उहाँको काँधमा छ । उहाँहरूबीच विगतबाट शिक्षा लिएर अघि बढ्ने बलियो समझदारी छ,’ आचार्यले भने । 

ओली र देउवाबीचको भेटवार्ता राष्ट्रिय मुद्दामा दलहरू एकै ठाउँमा उभिएर निराशा चिर्ने र वैकल्पिक शक्ति भनिने र अराजकतामा खेल्न खोज्नेहरूलाई ठाउँ दिनुहुन्न भन्नेतिरै छलफलमा केन्द्रित रहेको ओलीको सचिवालयले जनाएको छ । ‘अहिले मुलुकको आर्थिक अवस्था जर्जर छ, सत्तापक्ष–प्रतिपक्षको द्वन्द्वले मुलुकको अवस्था झन् कमजोर हुन्छ र वैकल्पिक भनिनेहरूले ठूला पुराना दल असफल भए भन्ने ठाउँ पाउँछन्, त्यसैले मिलेर जानुपर्छ भन्ने जस्ता स्वाभाविक खालका समग्रमै कुराकानी भएका हुन्, त्यस्ता छलफल सत्तासमीकरण परिवर्तनसँग जोडिएका छैनन्,’ ओलीको सचिवालयले भन्यो । 

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्रीसहित तीन नेताबीचको भेटघाटको सिलसिलाअन्तर्गत नै कुराकानी भएको बताए । ‘तीन नेताको भेटमा टिआरसी विधेयकमा सहमति जुटाउन द्विपक्षीय, बहुपक्षीय कुराकानी गरौँ भन्ने समझदारी भएको थियो, त्यसअन्तर्गत नै बालकोटमा पनि भेट भएको हो, प्रधानमन्त्रीले पनि कांग्रेस सभापतिलाई अलग्गै भेट्नुभएको छ,’ बजगाईंले भने । 

बालकोट जानुअघि देउवापत्नी आरजुले ओलीलाई टेलिफोन गरेकी थिइन् । ‘आज असार १५, तपाईंकै निवासनजिक रोपाइँ कार्यक्रममा भक्तपुर आउँदै छु, कस्तो छ तपाईंलाई भेट हुन्छ कि,’ आरजुले ओलीलाई त्यसरी सम्पर्क गरेपछि उनले देउवालाई पनि साथमै लिएर आउन आग्रह गरेका थिए । 

‘उहाँ बिसन्चो भएर घरमै आराम गरिरहनुभएको थियो । रोपाइँमा त्यतै आउँदै छु भनेपछि अध्यक्षले उसो भए देउवा दाइलाई पनि लिएर आउनुस् भन्नुभो, उहाँहरू आउनुभो अनि कुराकानी भएको हो,’ ओलीको सचिवालयको भनाइ छ । 
तीन नेताबीच ११ असारयता नियमित जस्तै संवाद हुँदै आएको छ । ११ असारमा प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच त्रिपक्षीय छलफल भएको थियो । त्यस्तै, १२ असारमा राति बुढानीलकण्ठस्थित निवास पुगेर प्रधानमन्त्री प्रचण्डले देउवासँग अलग्गै छलफल गरेका थिए । 

त्यही छलफलपछि प्रचण्डले १३ असारमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेर टिआरसी विधेयकमा सहमति खोज्ने प्रस्तावसहित छलफल अगाडि बढाएका थिए । त्यसपछि १५ असारमा ओली र देउवाबीच भेटवार्ता भयो भने १६ असारमा प्रधानमन्त्री, ओली र लामिछानेबीच कुराकानी भयो । 

१३ असारमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)का विवादित विषयमा सहमति खोज्न प्रधानमन्त्रीले शीर्ष तहमा छलफल सुरु गरेका थिए । पछिल्ला दिनमा भूराजनीतिक चलखेल बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै सरकार होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा ओलीले जोड दिएका छन् । १४ असारमा मदनजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले ठूला र बलिया देशका स्वार्थका पछाडि लाग्न नहुने बताएका थिए । ‘हामी ठूला र बलिया देशका खेलमा पस्नै हुँदैन, ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ । हामी इकोनोमिक डेभलपमेन्टको म्याराथनमा पनि छैनौँ,’ ओलीले भनेका थिए, ‘तर, हामीलाई निर्विवाद शान्ति चाहिन्छ । कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनुभएन ।’ 

ओलीले बलिया राष्ट्रहरूको स्वार्थको प्रतिस्पर्धा र टकरावको बाछिटाले नेपालको राष्ट्रिय हित र स्वार्थ कमजोर हुन नहुनेमा पनि जोड दिएका थिए । ‘अरूको टकरावको झिल्काले हाम्रो घर डढ्नुभएन । यहाँनेर हामी भूराजनीतिलाई हेर्छौँ । भूराजनीति हाम्रो देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन होइन । आन्तरिक रूपमा हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौँ,’ ओलीले भने । 

भेटवार्ताका सिलसिला 
११ असार – प्रधानमन्त्री–ओली–देउवा
१२ असार – प्रधानमन्त्री–देउवा
१३ असार – प्रधानमन्त्री–ओली–देउवा 
१५ असार – ओली–देउवा बालकोट
१६ असार – प्रधानमन्त्री–ओली–लामिछाने

कांग्रेसले बोलायो पदाधिकारी बैठक
पार्टीको आन्तरिक विषय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेस नेता मीन विश्वकर्माले बताए । ‘पदाधिकारी बैठकमा मूलतः भ्रातृ संगठनको म्याद थप र विभाग गठनको विषयमा छलफल हुन्छ । त्यसबाहेक समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ,’ उनले भने । 

कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन र सरकार फेरबदल हुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । ‘कसैको पनि बहुमत नभएपछि नयाँ–नयाँ गठबन्धन भएर सरकार फेरिने प्रक्रिया भइहाल्छ,’ आइतबार सुनसरीमा उनले भने ।

ad
ad
ad
ad