Skip This
विचार, संगठन र नेतृत्वको एकता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
गणेश विश्वकर्मा
२o८१ बैशाख २८ शुक्रबार o८:१४:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विचार, संगठन र नेतृत्वको एकता 

Read Time : > 4 मिनेट
गणेश विश्वकर्मा
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:१४:oo

नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो एकता, संघर्ष र रूपान्तरणको सिद्धान्तका आधारमा नेपालको संविधान जारी भएपछि, आमनिर्वाचनमा विजय सुनिश्चित गर्ने उद्देश्यका साथ मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच दुई वर्ष पहिले ऐतिहासिक एकीकरण भयो । एकताको अन्तरवस्तु केवल निर्वाचनमा विजय हासिल गर्ने मात्र नभई विगत ७० वर्षको क्रान्ति र राजनीतिक आन्दोलनका निष्कर्षहरूलाई देशको पुनर्निर्माण र विकासमा रूपान्तरण गर्ने, विगत २० वर्षसम्म चलेको राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्ने र सामन्तवादका अवशेषहरूको समूल अन्त्य गर्दै समाजवादउन्मुख राज्यव्यवस्थाको आधार निर्माण गर्ने थियो ।

आज, अपेक्षाकृत नेकपाको अत्यधिक बहुमतका साथ केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार छन् । यो विशाल पार्टी र सरकारबाट नेपाली जनताको अपेक्षा र पार्टी एकताको लक्ष्य पूरा गर्ने हो भने सही विचार, संगठन र नेतृत्व आवश्यक हुन्छ । नेकपाका करिब आठ लाख पार्टी सदस्य तथा लाखौँ समर्थक र शुभचिन्तकहरूमा सरकारको गतिहीनता र पार्टीमा संगठनात्मक शून्यताका कारण कुण्ठा, निराशा र हतोत्साह देखा पर्न थालेको छ । मूलतः पार्टीले सरकार चलाउने वा सरकारले पार्टी चलाउने भन्ने विषयको विवाद गत असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमार्फत छताछुल्ल छ । कम्युनिस्ट पार्टी सञ्चालन र सरकार सञ्चालनका क्रममा हरेक विषयमा यथेष्ट छलफल गर्ने र पारित भएको निर्णयलाई सबैले पालना गर्ने, निर्णयलाई कार्यरूपमा उतार्ने र समीक्षा गर्ने हुनुपर्नेमा त्यसो हुन नसकेको गुनासो आमरूपमा देखा परेको छ । त्यसो हुनाले आजको नेकपाभित्र उत्पन्न अस्थायी विवादलाई एकता महाधिवेशनपूर्व हल गर्न विचार, संगठन र नेतृत्वको कार्यकुशलतामा रूपान्तरण गर्नु अनिवार्य छ । पार्टी एकताका आधार भनेका एकताका बखत पारित राजनीतिक प्रतिवेदन, विधान र नियमावली नै हुन् । 

विचारधारात्मक क्षेत्रको काम : पार्टी जीवनको अत्यन्त महत्वपूर्ण पक्ष भनेको विचार र सिद्धान्त हो । नेकपाको एकीकरणभन्दा पहिले नेकपा (एमाले)ले मार्क्सवाद, लेनिनवाद र जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा स्थापित गरेको थियो । नेकपा (माओवादी केन्द्र)ले माक्र्सवाद, लेनिनवाद, माओवाद र एक्काइसौँ शताब्दीमा जनवादको विकासलाई सैद्धान्तिक मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्दै आएको थियोे । दुई पार्टीको एकीकरणपछि माक्र्सवाद र लेनिनवादलाई सैद्धान्तिक मार्गदर्शक सिद्धान्त, जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक पद्धतिलाई संगठनात्मक सिद्धान्त र जनताको जनवादलाई तत्कालीन साझा कार्यक्रमका रूपमा अवलम्बन गर्ने सहमति भयो । आगामी एकताको महाधिवेशनसम्म माओवाद, जबज र एक्काइसौँ शताब्दीमा जनवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाई स्थगित गरिएको थियो । त्यसैले, अब मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, संगठनात्मक सिद्धान्त र राजनीतिक प्रतिवेदन तथा पार्टी विधानमाथि हरेक पार्टी कमिटी, जनसंगठन र पार्टीसदस्यहरूमा छलफल चलाइनुपर्दछ । 

नेपालको संविधान मौलिक विशेषतासहितको दस्तावेज हो । जसमा सामाजिक, आर्थिक रूपान्तरणबाट लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने मार्गनिर्देशन छ । संविधानमै यस्तो व्यवस्था भएको वेला केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपाको बर्चस्वयुक्त सरकार हुनु अत्यन्त सुनौलो अवसर हो । नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघि सारेको घोषणापत्रबमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ दीर्घकालीन र अल्पकालीन मार्गचित्रसहितका नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसक्दा आमजनतामा निराशाको खतरा उत्पन्न हुँदै छ । जसकारण सरकारलाई संविधानले मार्गदर्शन गरेको समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणको काम पूरा हुनेछैनन् । किनभने, देशको पुनर्निर्माण र विकासमा नेपाली समाजको वर्गसंघर्ष केन्द्रित छ ।

नेकपाका करिब आठ लाख पार्टी सदस्य तथा लाखौँ समर्थक र शुभचिन्तकहरूमा सरकारको गतिहीनता र पार्टीमा संगठनात्मक शून्यताका कारण कुण्ठा, निराशा र हतोत्साह देखा पर्न थालेको छ

सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियाद्वारा अभूतपूर्व गतिशीलता सिर्जना गर्दै समृद्ध समाजवाद निर्माणको सुरुवात गर्न चौतर्फी देखिएका गतिहीनता, योजनाहीनता र विवेकहीनता तत्काल अन्त्य गरिनुपर्छ । समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरण, लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद, बहुदलीय प्रतिस्पर्धा र समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली स्थापित गर्दै संसद् र सरकार हुँदै शान्तिपूर्ण रूपमा समाजवादमा संक्रमण गर्ने मार्ग भनेको सरकारको माध्यमबाट एकाधिकार दलाल पुँजीवादी अर्थतन्त्रलाई क्रमशः तोड्दै कृषि र औद्योगिक क्षेत्रमा राष्ट्रिय पुँजीको निर्माण गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी समाजवादको पूर्वाधार तयार गर्नु जनताको जनवादको मूल पक्ष हो । 

संगठनात्मक क्षेत्रको काम : राजनीतिक पार्टीहरूको निर्माण सिद्धान्त, विचार, नीति र संगठनका आधारमा हुन्छ । संगठनहरूले तिनलाई बोकेर हिँड्न सुरु गर्छन् । सिद्धान्त, विचार र नीतिहरू जतिसुकै राम्रा भए पनि संगठन भएन भने ती कोरा कागजका विषयभन्दा बढी हुँदैनन् । आजको नेकपासँग सिद्धान्त, विचार र नीतिसहितको टाउको त छ, तर हात र खुट्टासहितको अवयव छैन । नेपालको नेकपाको सरकार दक्षिण एसियाको कम्युनिस्ट आन्दोलनको विकाससँग पनि जोडिएको छ । यसर्थ, सरकार र पार्टीको तालमेल मिलाउन पार्टी कमिटीका बैठकबाट व्यापक छलफलबाट मात्रै निर्णय लिने र गरिएका निर्णयहरू दृढतापूर्वक पालना गर्ने जनवादी केन्द्रीयताको प्रणाली नै नेकपा विवाद समाधानको मूल पक्ष हो । संगठनको अभ्यासले कुनै पनि नेतालाई विशेष अधिकारयुक्त बनाउने व्यवस्था समाप्त गरेर पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको प्रणाली कायम गर्ने र व्यक्तिवादी कार्यशैलीको दृढतापूर्वक अन्त्य गरिनुपर्दछ । आज माओवादीले दशवर्षे जनयुद्धबाट संश्लेषण गरेको अनुभव र नेकपा एमालेको बलियो संगठन तथा राज्यसञ्चालनसम्बन्धीका कुशलतालाई संगठनमार्फत जनतामा स्थापित गर्न सक्नुपर्दछ । 

दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, दुर्गम क्षेत्रका जनताको सार्थक प्रतिनिधित्व हुने गरी विधानतः एकजना दलितसहित १९ जनाको सचिवालय, तीनजना दलितसहित ५७ जनाको स्थायी कमिटी, कम्तीमा पाँचजना दलितसहित पोलिटब्युरो गठन गर्ने र १० प्रतिशतबाट हुन आउने संख्या दलितलगायतका समावेशी क्षेत्रको मनोनयन गरेर केन्द्रीय कमिटीको पूर्णता दिइनुपर्दछ । तत्काल प्रदेश तथा जिल्ला कमिटीहरूमा देखा परेका अन्तरविरोधको सम्बोधन हुने गरी व्यवस्थित गरिनुपर्दछ । केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिने र जनसंगठनहरूको एकीकरण सम्पन्न गर्दै आधारभूत वर्ग तथा समुदायमा पार्टी निर्माण, सुदृढ र विस्तार गर्न स्थानीय तहमा पार्टी सदस्यहरूलाई प्रशिक्षित गरी अभियान सञ्चालन गरिनुपर्दछ । 

नेतृत्व क्षेत्रको काम : नेपालको इतिहासमा पहिलोपटक दुईतिहाइ बहुमत प्राप्त सरकारले पार्टीको आधार र प्रभावलाई बलियो बनाउन अवसरहरूको वितरण अत्यन्त विवेकशील भएर गर्नुपर्दछ । कम्युनिस्ट आन्दोलन, एकीकृत पार्टी र सरकारका पक्षमा उभिने ठूलो संख्यामा रहेका इमानदार र समर्पित नेता तथा कार्यकर्ताहरूमध्येबाट समाजवादी मान्यताअनुरूप राज्य र सरकारबाट उपलब्ध हुन सक्ने अवसरहरूको न्यायिक वितरण हुनुपर्दछ । यिनै कार्यकर्ताहरूको जोडबल र विश्वासले नै यो पार्टी एकीकरणको चरणमा पुगेको हो र पार्टी एकीकरण नहुने खतरा पैदा हुँदा पनि यिनै नेता तथा कार्यकर्ताले दृढतापूर्वक टारेका थिए र छन् । उपयुक्त व्यक्तिले उपयुक्त जिम्मेवारी प्राप्त गर्ने, खुला र खुलस्त विचारहरू राख्न पाउने तथा फरक विचार राखेकै आधारमा कुनै किसिमको भेदभाव र बहिष्करणमा नपारिने र पार्टी कमिटीमा सामूहिक छलफलबाट निकालिएको निष्कर्षलाई नै निर्णय बनाउन सक्ने हो भने पार्टीबाट गुटबन्दीलाई दुरुत्साहित गर्न सकिन्छ ।

यस्तो अवस्थामा पार्टीमा हराउँदै गएको वा स्थापित हुन नसकेको विधि र पद्धति स्थापना गर्न र गुटबन्दी प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गर्न गुटबन्दी नचाहने कार्यकर्ताहरू तयार हुनैपर्छ । माक्र्सवादी–लेनिनवादी पार्टी सञ्चालनको सिद्धान्त र विधि भनेको आमरूपमा जनवादी केन्द्रीयताको सिद्धान्त र विधि नै हो । अन्तरपार्टी लोकतन्त्रलाई छलफलमा स्वतन्त्रता, कामकारबाहीमा एकरूपताको सिद्धान्तका आधारमा अघि बढ्न सक्नुपर्दछ । उक्त तीन पक्षको हलविना एकताको महाधिवेशनमा जानु भनेको चालू स्थायी कमिटीको बैठकझैँ अनिर्णयको बन्दीकै नियति हुने निश्चित छ । पार्टी कार्यदलको प्रतिवेदन यस काममा कोसेढुंगा साबित होस् । 

(विश्वकर्मा साबिक नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य हुन्)

ad
ad