संगठनको मेरुदण्ड मानिएका जुनियर प्रहरी अधिकारीको अपराध अनुसन्धानदेखि भिआइपी सुरक्षा तथा अपरेसनमा महत्वपूर्ण भूमिका, बढुवा नहुँदाको खस्किँदो मनोबलले शान्ति सुरक्षाकै प्रभावकारिता प्रभावित हुने जोखिम
नेपाल प्रहरी संगठनमा वृत्तिविकास योजनाको अभावले कनिष्ठ प्रहरी अधिकृतको मनोबल खस्कने अवस्था देखिएको छ । प्रहरी नेतृत्वले उनीहरूको वृत्तिविकासलाई प्राथमिकतामा नराख्दा ३० वर्षसम्म सेवा गरेका प्रहरी सहायक निरीक्षक (असइ)हरूले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) पदमै अवकाश लिनुपर्ने परिस्थिति उत्पन्न भएको छ । जुनियर प्रहरी अधिकारी नेपाल प्रहरी संगठनका मेरुदण्ड मानिन्छन् ।
तल्लो तहमा बढुवाको जामका कारण लामो समयसम्म कनिष्ठ प्रहरी अधिकृत एउटै पदमा बस्नुपर्ने अवस्था छ । असइमा भर्ना भएर एक तह बढुवा भएरै अवकाश पाउने अवस्थाले प्रहरी अधिकारीमा जागिरप्रतिको नैराश्यता बढ्दै गएको छ । ‘एकातर्फ प्रहरीमा सेवा–सुविधा घट्दै गएको छ, अर्काेतर्फ बढुवामा यस्तो जामको अवस्था छ,’ एक वरिष्ठ सइ भन्छन्, ‘यस्तो अवस्थामा कसरी राम्रो सेवा दिन सक्छौँ ?’
हाल बढुवाबाट पूर्ति हुने इन्स्पेक्टरका ४४ पद रिक्त छन् । जसमा ०५८ मा भर्ना असइको टोली दाबेदार छ । जुन ब्याचमा ८८ जना हाल वरिष्ठ नायब निरीक्षक छन् । यो ब्याच इन्स्पेक्टर हुन अझ दुई वर्ष लाग्नेछ । त्यसपछि ०६० मा भर्ना भएका १३२ जना असइको ब्याच छ । सो ब्याच इन्स्पेक्टर हुन ०८७ लाग्ने अवस्था छ । यही हिसाबले त्यसपछिका असइका ब्याचका अधिकारी ३० वर्ष सेवाअवधि पुग्दा पनि इन्स्पेक्टरमा बढुवा नहुने परिदृश्य छ ।
०७२ मा ल्याइएको प्रहरी नियमावलीका कारण पनि तल्लो तहमा जाम बढेको हो । ०४९ को प्रहरी नियमावलीअनुसार रिक्त हुने इन्स्पेक्टरका पदमा ५० प्रतिशत बढुवाबाट तथा ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रावधान थियो । ०७२ मा संशोधन गरी ६० प्रतिशत खुला प्रतिस्पर्धा तथा ४० प्रतिशत मात्र बढुवाबाट पदपूर्ति गर्ने प्रावधान राखियो । जसले तल्लो तहको बढुवा प्रभावित हुँदा २०औँ वर्षसम्म एउटै पदमा रहनुपर्ने पीडाजनक अवस्था जुनियर प्रहरी अधिकारीको छ ।
प्रहरी प्रधान कार्यालयले यही समस्या समाधान गर्न भन्दै तीन वर्षअघि इन्स्पेक्टर र सइको बिचमा वरिष्ठ सइको नयाँ पद सिर्जना ग¥यो । तर, उनीहरूको फुली थपिए पनि तलब सइको भन्दा घटेपछि उनीहरू थप निराश छन् । एक वरिष्ठ सइ आफ्नो पीडा सुनाउँछन्, ‘०५८ मा असइमा भर्ना भएँ, ०६२ मा सइ भएँ, सइ हुँदा जन्मिएको छोरा स्नातक गरेर इन्स्पेक्टरमा भर्ना हुने वेला हुन लागिसक्यो । म २० वर्षदेखि एउटै पदमा छु, पीडाका के कुरा गर्नु ?’
थपिएको पदलाई कनिष्ठ प्रहरी अधिकृतमै राखिएको छ । ‘यदि हामीलाई अधिकृत तहको पद मानिएको भए पनि एउटा प्रोत्साहन हुन्थ्यो,’ अर्का वरिष्ठ सइ भन्छन्, ‘एउटा तारा थपिदिएर केही दिनलाई खुसी बनाएजस्तो मात्र भयो । नेतृत्वले हाम्रो पीडा बुझ्न सकेन ।’
अपराध अनुसन्धानदेखि भिआइपी सुरक्षा तथा अपरेसनमा जुनियर प्रहरी अधिकारीकै महत्वपूर्ण भूमिकामा हुने भएकाले उनीहरूलाई संगठनको मेरुदण्ड मानिन्छ । जोखिमपूर्ण काममा पनि उनीहरू नै खटिँदै आएका छन् । प्रहरीकै यही वर्ग हतोत्साहित हुँदा सिंगो सुरक्षा व्यवस्थामै यसको नकारात्मक प्रभाव पर्ने अवस्था छ ।
प्रहरीमा जुनियर अधिकृतको दरबन्दी १२ हजारभन्दा धेरै छ । कुल ७९ हजार ५४१ दरबन्दी रहेकोमा वरिष्ठ नायब निरीक्षकको दरबन्दी एक हजार ४१८, नायब निरीक्षकको दुई हजार ८७८ तथा प्रहरी सहायक निरीक्षकको दरबन्दी सात हजार ९१५ गरी कुल १२ हजार २११ दरबन्दी छ ।
प्रहरीमा ३० वर्षे सेवाहद हटेपछि बढुवा जामको समस्या झनै विकराल बन्ने अवस्था छ। वृत्ति विकास योजनाबिना नै ३० वर्षे सेवाहद हटाइएमा तल्लो तहको समस्या झन् बढ्ने प्रहरी अधिकारीहरू बताउँछन्। शुक्रबार मन्त्रिपरिषद्को बैठकले संसदमा पेश गर्न स्वीकृत गरेको प्रहरीसम्बन्धि बिधेयकमा सेवाहद हटाउने प्रावधान छ।
बढुवा जामको समस्या समाधानका लागि गृह मन्त्रालयमा माथिल्लो पदमा समायोजन गर्नबारे पनि गृह मन्त्रालयमा छलफल भइरहेको स्रोत बताउँछ । सशस्त्र प्रहरी बलमा पनि गत वर्ष तल्लो तहका केही पद कटौती गरी माथिल्लो पद थपेर बढुवाको जाम खुलाइएको थियो । सामान्य मात्र आर्थिक भार पर्ने भएकाले नेपाल प्रहरीमा पनि यही मोडालिटीअनुसार समायोजन गरेर तल्लो तहका प्रहरीको मनोबल बढाउनुपर्ने विषयमा कुरा उठेको छ ।
दोस्रो विकल्पका रूपमा इन्स्पेक्टरको दरबन्दी थपको विषय छ । प्रहरी समायोजनका लागि ३०४ थप इन्स्पेक्टर आवश्यक रहेको भनेर प्रहरी प्रधान कार्यालयले औँल्याएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार हरेक स्थानीय तहमा कम्तीमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी परिचालन गर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण पास भइसकेको छ । तर, सरकारले दरबन्दी नथप्दा कार्यान्वयन हुन सकेको छैन । तेस्रो विकल्पका रूपमा वरिष्ठ सइलाई अधिकृत तहको दर्जा दिन सकिने विषयमा पनि प्रस्ताव अघि बढेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । यो विकल्पले वरिष्ठ सइ दर्जाको सम्मान पनि हुने र राज्यलाई ठूलो भार पनि नपर्ने अवस्था छ ।
दिनमा १६ घण्टासम्म ड्युटीमा खटिनुपर्ने, तर सेवा–सुविधा कम हुँदा प्रहरीको जागिरमा पछिल्लो समय आकर्षण कम छ भने जागिर छाड्ने प्रवृत्ति पनि बढेको छ । अनुसन्धानलगायत विभिन्न क्षेत्रमा दक्ष प्रहरी अधिकारी सेवा–सुविधा र करिअरको कारण देखाएर राजीनामा दिएर बाहिरिने गरेका छन् । यसको मुख्य कारण बढुवामा भइरहेको ढिलाइ पनि एक हो ।
विगतमा राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर पनि प्रहरीलाई थियो । त्यो पनि हाल वर्षमा करिब ४० जनाले मात्र अवसर पाउँछन् । त्यसमा जुनियर अधिकृत थोरै हुन्छन् । विदेश तालिममा पनि माथिल्लो तहकै प्रहरीको हालिमुहाली हुने गरेको छ । यस्तो अवस्थामा बढुवामा पनि समस्या बढ्दै गएपछि प्रहरीको तल्लो तहमा प्रहरी जागिरप्रति विरक्त भइरहेका छन् । यसले शान्ति सुरक्षाकै प्रभावकारिता खस्कने जोखिम छ । पूर्वएआइजी पुस्कर कार्की प्रहरी जुनियर अधिकृतलाई प्रोत्साहन गर्न नसक्ने पुलिसिङ खस्कने बताउँछन् । प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारी कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा तुलनात्मक रूपमा ढिला हुने गरेको स्वीकार गर्छन् ।
६ महिनासम्म कार्यान्वयन भएन वरिष्ठ सइको ग्रेड बढाउने सर्वाेच्चको परमादेश
एउटै तहमा लामो समय बस्नुपरेको भन्दै सरकारले तीन वर्षअघि नेपाल प्रहरीमा वरिष्ठ नायव निरीक्षक पद सिर्जना गरी बढुवा ग¥यो । बढुवा गरेर सरकारले उनीहरूको काँधमा फुली त थप्यो, तर तलब भने खाइपाइ आएको भन्दा घट्यो । दर्जा बढ्दा तलब घटेपछि वरिष्ठ सइहरूले त्यसविरुद्ध विभिन्न निकायमा गुनासो गरे, तर सुनुवाइ भएन । अन्ततः उनीहरू अदालतको ढोकामा पुगे । सर्वाेच्च अदालतले गत १६ साउनमा उनीहरूको तलब वृद्धि गर्न सरकारलाई परमादेश दियो । तर, त्यो परमादेश पनि ६ महिनासम्म कार्यान्वयन हुन सकेको छैन । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शारंगा सुवेदीको इजलासले दिएको परमादेश कार्यान्वयन नभएपछि प्रहरी अधिकारीहरू अदालतको अवहेलना मुद्दामा जाने तयारी गरेका छन् ।
कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबिच वरिष्ठ सइ पद थपेको थियो । जसअनुसार ०७८ को चैतमा एक हजार ४१८ जना वरिष्ठ सइमा बढुवा भएका थिए । तर, उनीहरूको तलब २६२ रुपैयाँ घटेको थियो । वरिष्ठ सइको आधारभूत तलब ४० हजार ९९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले तीन हजार ७३२ मात्र पाउने गरेका छन् । तर, सइको तलब भने ४३ हजार ९९४ रुपैयाँसम्म छ ।
पुस्कर कार्की, पूर्वएआइजी
प्रहरीमा जुनियर अधिकृतको संख्या ठुलो छ, कुनै पनि घटनामा पहिला पुगेर नागरिकसँग डिल गर्ने भनेका उनीहरू नै हुन् । चौकी चलाउनेदेखि पेट्रोलिङमा यही दर्जा खटिन्छ, त्यसकारण उनीहरूको करिअरमा राज्यले ध्यान दिनुपर्छ । विगतमा धेरैपटक यस विषयमा प्रहरी प्रधान कार्यालयमा योजना बने पनि गृह र प्रहरी नेतृत्व बारम्बार परिवर्तन हुँदा कार्यान्वयन हुन सकेन । यो विषयमा गम्भीरताका साथ रिथिंक गर्ने वेला भएको छ । प्रहरी जुनियर अधिकृतलाई प्रोत्साहन गर्न नसक्ने पुलिसिङ खस्कन सक्छ ।
एसएसपी विश्व अधिकारी, प्रवक्ता, नेपाल प्रहरी
तुलनात्मक रूपमा प्रहरीको तल्लो तहको बढुवामा केही ढिलाइ हुने गरेको वास्तविकता हो । प्रहरी प्रधान कार्यालयले जुनियर प्रहरी अधिकृतका समस्याबारे विस्तृत अध्ययन नै गरेर समाधानका लागि पहल गर्दै आएको छ । अध्ययनपछि वरिष्ठ सइको दरबन्दी सिर्जना पनि भयो, प्रहरीमा थप दरबन्दी माग पनि भएको छ, राज्यले प्रहरी जनशक्ति व्यवस्थापनमा ध्यान दिन सकेमा वृत्तिविकासमा हुने ढिलाइ समाधान हुन्छ ।
जवानको पनि उस्तै पीडा : ३० वर्ष सेवा गर्दा वरिष्ठ हवल्दारबाटै अवकाश हुने अवस्था
जवानको पीडा पनि त्यस्तै छ । जवानमा भर्ना भएकाहरू ३० वर्ष सेवा गर्दा वरिष्ठ हवल्दारबाटै अवकाश हुने अवस्था सिर्जना भएको छ । जब कि विगतमा जवानबाट भर्ना भएका इन्स्पेक्टर तहसम्म पुग्थे । सशस्त्र प्रहरीले भने जवानमा भर्ना भएकाको वृत्तिविकासलाई ध्यानमा राखी असइ पदमा भर्ना नलिने प्रक्रिया अघि बढाएको छ । प्रहरीमा उच्च तहका लागि आवश्यक नै नभए पनि रातारात दरबन्दी थप्नेदेखि नियमावली नै संशोधनसम्मका घटना भएका छन् । तर, तल्लो तहका प्रहरीमाथि अन्याय हुँदा पनि प्रहरी नेतृत्व र गृह मन्त्रालयले उनीहरूको पीडा सम्बोधन गर्न सकेको छैन ।