आफ्नै घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई गत सोमबार जिल्ला अदालत झापाले पुर्पक्षका लागि कारागार पठाउन आदेश दियो । तर, कारागार हुनुपर्ने व्यक्ति बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा छन् । काराकार पठाउन आदेश दिएको एक हप्ता बित्दा पनि उनी बी एन्ड सी अस्पतालको भिआइपी क्याबिनमा छन् ।
हुन त एक महिनादेखि प्रहरी अनुसन्धानमा रहेका सिवाकोटीले एकपटक पनि प्रहरी हिरासत टेक्नुपरेन । प्रहरी नै उनी ‘बिरामी’ भएर बसेको बी एन्ड सी अस्पताल पुग्यो । त्यति मात्र होइन, उनी अदालत हाजिर हुन पनि प्रहरीविना आफ्नै निजी कारमा पुगे । नयाँ पत्रिकालाई प्राप्त भिडियोमा उनी हतकडी र प्रहरीविना नै अदालत पुगेको देखिन्छ । यसको कारण उनी सत्तानजिक हुनु नै हो । एमाले जिल्लास्तरीय नेता सिवाकोटी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीसँग सीधा पहुँच राख्ने नेता हुन् ।
पीडित किशोरीका काका भन्छन्–सुरुदेखि नै अस्पतालको अस्पताल छन् । उनी न त हिरासत नै गए न त कारागार नै गएका छन् । नानीलाई फर्काउन गाडी कुदाएर आएका मान्छे कसरी एकैपटक यति सिरियस बिरामी भए ? उनी नाटकीय ढंगले बिरामी भए । केपी ओलीको नजिक भएकाले सरकारकै योजनामा उनले बिरामी भएको बहाना बनाएका हुन् । उनका छोरीहरू घरमै आउँछन् । नानीलाई भेट्छौँ भनेर दबाब दिइरहन्छन् । शनिबार त म घरमा थिइनँ । मेरी आमा नै जाहेरवाला हो । उहाँलाई अनावश्यक दबाब दिएछन् ।
बलात्कार आरोपमा सिवाकोटी २४ मंसिरमा पक्राउ परेका थिए । आफ्नै घरमा काम गर्ने किशोरीलाई तीन वर्षदेखि पटकपटक बलात्कार गर्दै आएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । पटक–पटक बलात्कृत भएपछि असैह्य भएकी उनी भागेर भारतको आसमस्थित आफन्तकहाँ जान निस्किएकी थिइन् । तर, सीमानाका काँकडभिट्टास्थित महिला उद्धारमा खटिएको एक संस्थाले शंकास्पद लागेर उनीसँग सोधपुछ गरेपछि सबै घटना सुनाएकी थिइन् । त्यसपछि उक्त संस्थाले प्रहरीलाई खबर गरेर उद्धार गरेको थियो ।
ती किशोरी बिर्तामोडको एक क्याम्पसमा प्राविधिक विषय अध्ययन गर्छिन् । उनी कलेजकै पोसाकमा नाका पुगेकी थिइन् । उनी काँकडभिट्टा हुँदै भारत गएको थाहा पाएपछि फर्काउन गएका पूर्वमेयर सिवाकोटीलाई प्रहरीले काँकडभिट्टाबाटै पक्राउ गरेको थियो । आर्थिक अवस्था कमजोर भएकी उनी आफन्तको शरणमा बसेकी थिइन् । सोही क्रममा सिवाकोटीले घरमा काम गर्ने र पढाउने भन्दै आफ्नो घरमा राखेका थिए ।
बलात्कार अभियोगमा पक्राउपछि सिवाकोटी सीधै अस्पताल गएका थिए । उनले सरकारी वकिलको कार्यालयमा दिएको बयानअनुसार उनी २३ वर्षदेखि प्रेसर र ३७ वर्षदेखि सुगरको बिरामी छन् । यस्तै, मेरुदण्डसम्बन्धी समस्या भएकाले बेडरेस्टमा रहेको बताएका छन् । प्रहरीले पनि यही कारण देखाउँदै हिरासतमा राखेन भने पुर्पक्षका लागि कारागार चलान भएपछि पनि यही कारण देखाउँदै जिल्ला कारागार झापा प्रशासनले पनि कारागारमा राखेको छैन ।
‘अदालतको आदेशबमोजिम उहाँलाई धुनामा पठाइएको थियो । अदालतले नै स्वास्थ्य उपचारको उचित व्यवस्था गर्न आदेश पनि दिएको छ,’ जिल्ला कारागार झापाका जेलर रेवन्त भट्टराईले भने, ‘अहिले उहाँ उपचारका क्रममा बी एन्ड सी अस्पतालमा हुनुहुन्छ । उहाँको सुरक्षाका लागि कारागारबाट सुरक्षागार्ड पनि पठाएका छौँ ।’
पहुँच भएका अभियुक्त हिरासत बस्नुपर्छ भनेर अचानक बिरामीको बहाना गरी अस्पताल भर्ना हुने चलन व्याप्त छ । त्यही परिपाटीलाई अभियुक्त सिवाकोटीले पनि अपनाएका छन् । प्रहरीले ढाडको पुरानो समस्या बल्झिएपछि उनी अस्पताल भर्ना हुनुपर्ने अवस्था बनेको दाबी गरेको छ । तर, पीडित किशोरीका आफन्तले भने सिवाकोटी सत्ता र शक्तिको आडमा हिरासत र कारागार नबसी अस्पतालमै बसिरहेको आरोप लगाएका छन् । काँकडभिट्टामा किशोरीलाई फर्काउन आफैँ सवारी चलाएर आएका उनी पक्राउलगत्तै बिरामी भएको नाटक गरेको पीडितका काकाले बताए ।
‘सुरुदेखि नै अस्पतालको अस्पताल छन् । उनी न त हिरासत नै गए न त कारागार नै गएका छन् । नानीलाई फर्काउन गाडी कुदाएर आएका मान्छे कसरी एकैपटक यति सिरियस बिरामी भए ? उनी नाटकीय ढंगले बिरामी भए,’ उनी भन्छन्, ‘केपी ओलीको नजिक भएकाले सरकारकै योजनामा उनले बिरामी भएको बहाना बनाएका हुन् ।’ सिवाकोटीका छोरीहरू आएर अनावश्यक दबाब दिने गरेको पनि उनले बताए । ‘उनका छोरीहरू घरमै आउँछन् । नानीलाई भेट्छौँ भनेर दबाब दिइरहन्छन्,’ उनले भने, ‘शनिबार त म घरमा थिइनँ । मेरी आमा नै जाहेरवाला हो । उहाँलाई अनावश्यक दबाब दिएछन् ।’
बलात्कार आरोपीलाई राज्यले बारम्बार संरक्षण गरेपछि पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएको छ । आयोगले अनुसन्धान भइरहेको जानकारी दिएको किशोरीका काका शिव पाठकले जानकारी दिए । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत डिल्लीराम लम्सालले पीडित परिवारबाट उजुरी आएको बताए । उनले यो घटनाबारे मानव अधिकार आयोगले अध्ययन गरिरहेको बताए । अहिले अध्ययनकै प्रक्रियामा रहेको उनको भनाइ छ ।
मानव अधिकारकर्मी प्रा.डा. विष्णु पाठकले सिवाकोटीले मानव अधिकारको गम्भीर उल्लंघन गरेको बताए । सरकारको नजिक भएकै कारण उनलाई हिरासत र कारागार बस्नबाट जोगाइएको उनको भनाइ छ । ‘किशोरी बलात्कार गरेकोजस्तो गम्भीर अपराधमा पनि हिरासतमा राखिएन । पुर्पक्षका लागि कारागार पठाउने आदेश हुँदा पनि अस्पतालमै राखियो । यो त सरकारसँग नजिक हुनेलाई कानुनले नछुने र विमति राख्नेलाई कानुन लाग्ने अवस्था आयो । यो मानव अधिकारको गम्भीर उल्लंघन हो । यसमा मानव अधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ,’ उनले भने, ‘यो त सरकारको आशीर्वाद हुनेलाई फरक र सरकारको आलोचना गर्नेलाई फरक कानुन हुनेजस्तो व्यवहार भयो । अदालतको निर्णय पनि कार्यान्वयन भएन । प्रधानमन्त्रीको नजिक हुँदा उनले छुट पाए ।’
थुनुवाको स्वास्थ्य उपचार पाउने हक संविधानप्रदत्त मौलिक अधिकार हो । तर, यसको अर्थ कानुनी प्रक्रियाबाट पूर्ण छुट भने होइन । अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ भने सम्बन्धित कारागारले सरकारी अस्पतालमा भर्ना गर्न सक्ने र त्यसको जानकारी अदालतलाई गराउनुपर्ने प्रावधान छ । गम्भीर प्रकृतिको रोग भएको दाबी गरिएको अवस्थामा सरकारी चिकित्सकहरूको बोर्डबाट जाँच गराई प्रमाणित गर्नुपर्ने हुन्छ । तर, सिवाकोटीले ढाड दुख्यो भनेकै आधारमा अस्पतालमा बस्न दिनु जायज नभएको अधिवक्ता पाठक बताउँछन् ।