प्रतिपक्षी दलहरूले अध्यादेशमार्फत सत्ता सञ्चालन गर्न खोजेर सरकार स्वेच्छाचारी बन्न खोजेको निष्कर्ष निकालेका छन्। बिहीबार माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेका बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत सरकार सञ्चालन गर्ने जुन रवैया देखाएको छ, त्यसमा हामी ६ दल एकै ठाउँमा रहेका छौँ । सबैको चिन्ता, सुझाव र चासो सरकार स्वेच्छाचारी बन्दै गएको छ, संसदलाई छल्न खोजेको छ भन्नेमा छ।’
चारवटा अध्यादेश ल्याइसकेको सरकारले पुनः अर्को अध्यादेश ल्याउने तयारी गरेको विषयमा आपत्ति जनाउँदै उनले थपे, ‘अधिवेशन बोलाउन छोडेर अहिले भर्खरै चारवटा अध्यादेश जारी भएका छन्। अर्को अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको खबर छ। सरकारको यो रवैया बेठिक भयो, यो स्वेच्छाचारी रवैया हो भन्ने साझा निष्कर्ष छ।’
बैठकले जनसरोकारका विषय र कानुन निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्नसमेत माग गरेको उनले जानकारी दिए।