१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार ११:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार ११:११:oo

बाराको सिम्राैनगढ नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको खुलेको छ । नगरपालिकाको अधिकृत सातौँ तहका हरिओमप्रसाद जयसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुखकाे हस्ताक्षरसमेत किर्ते  गरी मन्त्रालयमा पेस गरेको खुल्न आएको हो ।

जयसवालले किर्ते कागज बनाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेको आधारमा उनलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ भने जयसवालले  सोमबार नगरपालिकामा हाजिर भएपछि किर्ते कागज बनाएर मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारी उनले अधिकृतको जिम्मेवारी लिएका हुन् । 

आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि उनले नगरपालिकाले मिति ०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नगरपालिकाले काज/सरुवा सहमति दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी सरकारी पत्र किर्ते गरेको पाइएको हो । 

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रले पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओमप्रसाद जयसवाललाई दियो, तर पछि थाहा भयो उनले सरकारी पत्र र मेरो हस्ताक्षरसमेत दुरुपयोग गरेको पाइयो,’ सिम्राैनगढ नगरपालिकाका नगरप्रमुख किशोरीप्रसाद कलवारले भने, ‘यस घटनाको जानकारी पाउनेबित्तिकै मैले उनको तोकिएको जिम्मेवारी बदर गर्न र सरकारी कागजको किर्ते गरेकोमा उनलाई कानुनी कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र कोष तथा लेखा निरिक्षण कार्यालय, कलैया बारालाई समेत पत्रचार गरी जानकारी गराएको छु ।’

सिम्राैनगढ नगरपालिकाबाट पत्र लिई आएका हरिओमप्रसाद जयसवाललाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । उनले भने, ‘जयसवालले उनी त्यस नगरपालिकामा कार्यरत रहेका कर्मचारीमध्ये सबैभन्दा उच्च तहको कर्मचारी हो भनी सिफारिस भएका कारण कानुनबमोजिम जिम्मेवारी दिइएको हो, तर सो सरकारी पत्र किर्ते गरी ल्याइएको हो वा होइन भन्नेबारेमा आफूलाई कुनै जानकारी नरहेको र किर्ते हो वा होइन भन्ने निकायसमेत नभएकाले यसको सत्यतथ्य सम्बन्धित निकायले छानबिन गरेपछि मात्र थाहा हुन्छ ।’

यसअघि ०७८/७९ मा जयसवाल सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा उनलाई माछापोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । केही समयअघि मात्रै सो मुद्दामा उनलाई सफाइ दिइएको भए तापनि उनीविरुद्ध अहिले पनि अख्तियारले १० भन्दा बढी उजुरीमा अनुसन्धान गरिरहेको सिम्रौनगढ नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । 

यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराले यस घटनाको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षकले जिल्ला प्रहरी कार्यालयमा कर्मचारीले सरकारी किर्ते कागजात बनाएको भनेर निबेदन आएको हुँदा प्रहरीले अनुसन्धान सुरु गरेको बताए । 

लामो समयबाट आन्तरिक विवादका कारण प्रमुख प्रशासकीयविहीन अवस्थामा रहेको यस पालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउँदा भएको विवादका कारण गोली चल्दा एकजनाको मृत्युसमेत  भएको थियो ।