१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Friday, 20 September, 2024
जगन्नाथ खतिवडा
२o८१ असार १२ बुधबार o७:५o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सहमतिविना पुस्तान्तरण असम्भव

Read Time : > 4 मिनेट
जगन्नाथ खतिवडा
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o७:५o:oo

पुस्तान्तरण नियमित, स्वाभाविक र प्राकृतिक प्रक्रिया भएकाले सहमतीय राजनीतिक प्रक्रियाबाट पनि सहज पुस्तान्तरण सम्भव छ

नेकपा (एकीकृत समाजवादी) २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको निरन्तरता हो । नेपालका सबै कम्युनिस्ट पार्टीले तेस्रो महाधिवेशनपश्चात् धेरै लामो समयपछि पार्टीको चौथो महाधिवेशन गरे । तेस्रो महाधिवेशनपछि विभाजित भएको कम्युनिस्ट आन्दोलनमा ३१ सालमा कमरेड निर्मल लामाहरूले चौथो महाधिवेशन गर्नुभयो । त्यसपछि २०४६ सालमा नेकपा मालेले ००६ सालको नेपाल कम्युनिस्ट पार्टीलाई ध्यानमा राख्दै चौथो महाधिवेशन गर्‍यो । जतिपटक विद्रोह गर्दै कम्युनिस्ट पार्टीहरू अगाडि बढ्छन्, स्थापनाको दिनबाटै गणना गर्छन् । हामीले पनि नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको दिनदेखि नै गणना गरेर यही असार १६–२० मा १०औँ राष्ट्रिय महाधिवेशन गर्दै छौँ । 

घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भइरहेकै छ । केपी ओलीको नेतृत्वमा बनेको सरकारले ५ पुस ०७७ मा असंवैधानिक रूपमा संसद् विघटन गरेपछि संविधान र व्यवस्थामाथि नै खतराको स्थिति आयो । परिणामतः संवैधानिक संकट उत्पन्न हुने र देश नै अँध्यारोतर्फ जाने अवस्था बन्दै गयो । त्यसकारण हामीले विद्रोह गर्नुको एउटा प्रमुख कारण थियो– देशको संविधान र संसद् जोगाउनु, स्थायित्व दिनु, विभिन्न कालखण्डमा भएका क्रान्तिबाट प्राप्त उपलब्धि रक्षा गर्नु । हाम्रो विद्रोहको जगमा ती काम भएका छन् । संविधान मास्न खोज्ने, संसद् असंवैधानिक रूपमा भंग गरेर रिक्तताको फाइदा उठाउने प्रयासलाई रोक्न हामी सफल भयौँ ।

त्यतिखेर पार्टीको नीति, विचार र सिद्धान्तलाई लत्याउँदै एमालेको नेतृत्व अगाडि बढ्यो । समाजवाद र राष्ट्रिय स्वाभिमानलाई तिलाञ्जली दिने काम भयो । राष्ट्रिय एकतालाई कमजोर पार्ने र व्यक्तिगत स्वार्थमा अगाडि बढ्ने काम भयो । सत्तास्वार्थका लागि राष्ट्रियताको सौदाबाजी गरियो । माक्र्सवादी, लेनिनवादी सिद्धान्तअन्तर्गतका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक नीतिहरू सरकारमा बसेर लागू गर्नुपर्नेमा त्यसको खिलाफमा दलाल पुँजीवादी अर्थव्यवस्थाको चक्रव्यूहमा फस्ने काम भयो । दलाल पुँजीवादी र दक्षिणपन्थीहरूको सेवा गर्न तल्लीन एमाले नेतृत्व राष्ट्रिय आत्मसमर्पणवादको दिशामा अगाडि बढेपछि हामीले विद्रोह गर्नुको विकल्प थिएन । मूल नेतृत्व सिद्धान्तबाट विचलित भएपछि सच्याउन हामीले धेरैपटक प्रयास गर्‍यौँ । तर, हाम्रो प्रयास सफल हुन सकेन । त्यसपछि हामीले संघर्ष गर्नुको विकल्प थिएन । त्यस क्रममा कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति एउटा असल कम्युनिस्ट पार्टीको जरुरत परेको महसुस गर्‍यौँ । र, एमालेको क्रान्तिकारी पुनर्गठनका रूपमा हामीले एकीकृत समाजवादीलाई अगाडि बढायौँ ।

अर्कातिर, एमालेको नेतृत्व कार्यकर्ताप्रति पक्षपाती बन्यो । एमालेको नवौँ महाधिवेशन समाप्त भएपछि केपी ओलीलाई मतदान नगर्ने सयौँ कार्यकर्तामाथि पक्षपात, अपमान, कोपभाजन, जिम्मेवारीविहीनता र विभिन्न अवसरबाट वञ्चित गर्ने प्रयास बारम्बार हुँदै आए । धेरैपटक संगठनात्मक समस्या सुधार गर्न प्रयत्न गरियो । जतिसुकै छलफल र विचार विमर्श गरे पनि ओली र ओलीको सर्वसत्तावादी टिमले हाम्रो कुरालाई ध्यान दिएन । हामीले कार्यकर्ताको रक्षा गर्नु, तिनको मनोभावना सुरक्षित गर्नु, तिनलाई कम्युनिस्ट आन्दोलनमा निरन्तर जोगाइराख्नु र तिनको शक्तिलाई कम्युनिस्ट आन्दोलन तथा देशको सेवामा लगाउनु आवश्यक थियो । यी काम एमालेमा बसेर सम्भव थिएन । आज पनि दक्षिणपन्थविरुद्ध हामी निरन्तर संघर्ष गरिराखेकै छौँ । र, वैचारिक, राजनीतिक, सैद्धान्तिक र कार्यशैलीगत रूपमा हामी औचित्य पुष्टि गर्दै अगाडि बढ्दै छौँ । 

निर्विकल्प सहमति : अहिले नेतृत्वको रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको बहस जबर्जस्त उठिरहेको देखिन्छ । पुस्तान्तरण नियमित, स्वाभाविक, प्राकृतिक प्रक्रिया हो । यो राजनीतिक प्रक्रिया पनि हो । किनकि, एउटा पुस्ताले गरेको राजनीति अर्को पुस्तामा सर्दै जाँदा त्यसले धेरै नयाँ सिर्जनात्मक सम्भावना बोकेर आउँछ । त्यसमा पार्टीको आफ्नो आन्तरिक आवश्यकता पनि हेर्नुपर्छ । आवश्यकताभन्दा ठूलो अर्को केही हुन सक्दैन । वस्तुगत यथार्थमा आधारित समसामयिक विषयवस्तुभन्दा पर गएर राजनीतिमा अर्थोक केही कल्पना गर्न सकिँदैन । 

पुस्तान्तरण निश्चय नै जरुरी छ । तर, कम्युनिस्ट पार्टीको सन्दर्भमा एकताबद्ध रूपले, सामूहिक भावनासाथ सबैको साझा संकल्प र साझा इच्छाशक्तिका साथमा मात्रै पुस्तान्तरण सहज बन्न पुग्छ । असहज ढंगले पुस्तान्तरण गर्छु भन्नु भर्खरै उदाइरहेको कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न पार्नु हो । त्यसकारण हामी पुस्तान्तरण हुँदा पनि सहजताको खोजी गरिरहेका छौँ । र, पुस्तान्तरण भएन भने पनि क्रान्तिकारी स्पिरिटसाथ काम गर्ने सम्भावनाको खोजी गरिरहेका छौँ । सामूहिक भावनाबाट हिँड्ने विषय प्राप्तिभन्दा त्यागबाट सुरु हुन्छ । त्यागविना सहमति हुँदैन । कसै न कसैले कुनै न कुनै इच्छा त्याग्नुपर्छ । कुनै न कुनै पद वा अवसर त्याग्नुपर्छ । तर, त्यागबाट सुरु गर्ने विषयमा खासगरी हाम्रा दुई शीर्ष नेताहरू पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले यसभित्र मुख्य धारणा बनाउन जरुरी छ । त्यसपछि महासचिव घनश्याम भुसाल, उपाध्यक्षहरूसहितको धारणा निर्माण गर्ने प्रक्रियाबाट सहमतिको यात्रा अगाडि बढ्छ कि बढ्दैन भन्ने टुंगो लाग्छ । त्यसकारण फेरि भन्छु, सहमतिका लागि प्राप्ति होइन, त्यागको महत्वहुन्छ । त्यसका लागि सबैका अनुकूलता, भूधरातलीय राजनीतिको यथार्थ आदिको विश्लेषण गर्नुपर्ने हुन्छ । पहिलो प्रयास सहमतिकै लागि हुनेछ । त्यसको सम्भावना समाप्त भयो भन्ने ठानेपछि निर्वाचनको विधिबाट भावी नेतृत्व टुंगो लाग्छ । 

प्यानलविहीन महाधिवेशन : हामीले व्यक्तिगत रूपमा पनि महाधिवेशनमा निर्वाचन लडेका छौँ । प्यानल बनाएर पनि निर्वाचन लडेको अनुभव हामीसँग छ । नवौँ महाधिवेशनमा जस्तो अहिले प्यानल बनाएर निर्वाचन हुँदैन । हामी व्यक्तिगत रूपमा उम्मेदवार बन्छौँ । सकभर सहमतिमा चयन हुन्छौँ । यदि, सहमति जुट्न सकेन भने प्रतिस्पर्धाको बाटो खुला छँदै छ । प्रत्येक व्यक्ति स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो विचार, विज्ञता र विषयबाट अगाडि बढ्नेछन् । कार्यकर्ताले कसलाई कति मन पराउँछन्, त्यसका आधारमा मतदान गर्छन् । प्यानल नबन्ने, व्यक्तिलाई छनोट गर्नुपर्ने भएको हुनाले महाधिवेशन प्रतिनिधिले स्वतन्त्र ढंगले आफ्नो विवेक प्रयोग गर्न पाउनेछन् । नेताको सम्भावनालाई हेरेर योग्य, सक्षम व्यक्ति छान्ने अवसर प्रतिनिधिमा रहनेछ । हाम्रो क्रान्तिको, विद्रोहको स्पिरिटलाई जसले ठीक ढंगले अगाडि बढाउन सक्छ भन्ने लाग्छ, उसैलाई कार्यकर्ताले आफ्नो मत दिनेछन् । फेरि पनि सचिवालयले एउटा निश्चित विधि भने तय गर्नुपर्ने हुन्छ । सर्वसहमति वा प्रतिस्पर्धाका लागि पनि शीर्ष तहमा समझदारी आवश्यक छ ।

महाधिवेशनपछिको पार्टी : महाधिवेशनपछि हाम्रो पार्टी केही लक्ष्य निर्धारण गर्दै अगाडि बढ्नेछ । मुख्य विषय पार्टी संगठन नै हो । देशव्यापी रूपमा पार्टीलाई प्रभावकारी रूपमा जनजीविका र राष्ट्रियताको पक्षमा तथा विकृति, विसंगति र भ्रष्टाचारको विपक्षमा उभ्याउनेछौँ । हाम्रो सबैभन्दा ठूलो चुनौती आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई व्यापक रूपमा विस्तारित गर्नु र स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्नु हो । कलम चुनाव चिह्नलाई गाउँ–गाउँमा मात्र होइन, टोल–टोल, घरघर र जनताको मनमनमा पुर्‍याउनुपर्नेछ । त्यसका लागि हामीले औसत काम गरेर पुग्दैन । अत्यन्तै मिहिनेत गर्नुपर्ने अवस्था छ ।

अर्कातिर, स्थानीय तहमा देखिएका विकृति, विसंगति, भ्रष्टाचार, अन्याय, पक्षपात, अविकास, योजनाविहीनताजस्ता सम्पूर्ण गलत क्रियाकलापविरुद्ध सशक्त रूपमा परिचालित हुनेछौँ । असल, जनताको शासन सञ्चालन गर्न सक्ने स्थानीय सरकारका रूपमा स्थानीय तहलाई विकसित गर्न, जनताको आवाज बोकेर स्थानीय संघर्षमा पार्टीलाई केन्द्रीकृत गर्न कार्यनीति बनाएर अगाडि बढ्नेछौँ । संगठन विस्तार गर्न आज हामीसँग डेढ लाख संगठित सदस्य छन् । एक वर्षमा दोब्बर अर्थात् तीन लाख बनाउने र स्थानीय तह निर्वाचनसम्म पाँचदेखि सात लाख संगठित सदस्य पुर्‍याउने लक्ष्य छ । त्यो लक्ष्य भेट्ने गरी तीव्र रफ्तारमा हामी अगाडि बढ्छौँ ।

यस्तै, राजकीय मामिलामा परिपक्व तथा आक्रामक भएर लाग्छौँ । जनजीविकाका सवालमा सबैभन्दा बढी वकालत गर्न सक्ने र राष्ट्रियताको पहरेदारी गर्न सक्ने पार्टीका रूपमा हामी उभिन्छौँ । महाधिवेशनपछि हाम्रो स्कुलले स्पष्ट दृष्टिकोणका साथ आफ्नो कक्षा सञ्चालन गर्नेछ र ऊर्जासाथ नेता तथा कार्यकर्ता जनतामाझ जाने वातावरण बन्नेछ ।

अन्त्यमा, यो महाधिवेशनमा हामी सहमतिकै लागि प्रयास गर्छौँ । सहमतिको प्रयास सफल भएन भने निर्वाचनमा जान्छौँ । म आफू पनि महासचिवमा उम्मेदवारी दिने तयारी गर्दै छु । धेरै कार्यकर्ताबाट सकारात्मक सन्देश प्राप्त गरेको छु । समयले आवश्यक मूल्यांकन गर्ने नै छ । र, आमनेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकले मेरो उम्मेदवारीलाई अनुमोदन गरिदिनुहुनेछ भन्ने विश्वास छ । 

दोस्रो कुरा, एकीकृत समाजवादी ००६ सालको कम्युनिस्ट पार्टीको विरासत बोकेको तथा नयाँ र विद्रोही चेतनायुक्त समाजवादी आन्दोलनको अगुवा कम्युनिस्ट पार्टी हो । यो पार्टी सबल र सुदृढ बन्दै जान्छ । नेपालमा कम्युनिस्ट आन्दोलनको वैचारिक धार सबल बन्दैै जान्छ । देशका सम्पूर्ण वामपन्थी, बुद्धिजीवी, प्रगतिशील सबै शक्तिले हाम्रो महाधिवेशनलाई उत्सुकताका साथ हेरिरहेका छन् । समाजवादी आन्दोलनको धारभित्र समाहित हुँदै कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउने महाअभियानमा सबैको साथ र सहयोग मिल्ने नै छ । 

(खतिवडा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख हुन्)