Skip This
दरबारमार्गको कन्सर्टमा बालेनको नाममा हुटिङ गर्दा आक्रमण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असोज ४ शुक्रबार o६:१२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दरबारमार्गको कन्सर्टमा बालेनको नाममा हुटिङ गर्दा आक्रमण

धरहरापरिसरमा पनि बालेनको पक्षमा हुटिङ

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o६:१२:oo

संविधान दिवसको अवसरमा बिहीबार दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थक र कन्सर्टसमर्थक समूहबिच धकेलाधकेल भएको छ । मेयर शाहको पक्षमा समर्थकले हुटिङ गरिरहेको वेला अर्को समूहले उनीहरूलाई धम्क्याउन खोजेपछि धकेलाधकेलको अवस्था सिर्जना भएको हो । बालेनसमर्थकले प्रधानमन्त्री कन्सर्टमा पुग्दा पनि ‘बालेन, बालेन...’ भन्दै हुटिङ गरेका थिए ।

प्रहरी वृत्त दरबारमार्गका डिएसपी गोविन्द थापाले भने दुई समूहबिच सामान्य भनाभन मात्रै भएको बताए । ‘बालेन शाहको पक्षमा हुटिङ भएको थियो । कुटपिट र झगडा भएको होइन । भिडभाडमा धकेलाधकेल हुनु सामान्य हो,’ उनले भने, ‘झगडा परेर प्रहरी नै खटिनुपर्ने अवस्था होइन ।’ साँझ ४ बजे सुरु भएको ‘नेसनल डे कन्सर्ट’मा युवाहरूको बाक्लो उपस्थिति थियो । 

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलसहित सहभागी थिए । क्याप, जिन्स पाइन्ट र ट्र्याकमा पुगेका प्रधानमन्त्री ओलीले सहभागीहरूलाई संविधान दिवसको अवसरमा आयोजित कन्सर्टको मनोरञ्जन लिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओली कन्सर्टमा सहभागी हुने भएपछि एमालेनिकट युवा संघले कार्यकर्ता परिचालन गरेको थियो । संघकै कार्यकर्ताले बालेनका समर्थकलाई कुटपिट गरेको बालेन समर्थकको आरोप छ । तर, कुटपिट गर्नेलाई प्रहरीले पक्राउ भने गरेको छैन । कन्सर्टमा मेयर बालेन उपस्थित थिएनन् । 

कन्सर्टको सुरक्षाका लागि जिल्ला प्रहरी काठमाडौंबाट तीन हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । कन्सर्ट आयोजना गर्न भन्दै बुधबारदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले कन्सर्ट शान्तिपूर्ण ढंगले समापन भएको बताए । उनले भने, ‘कन्सर्ट सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमााडौंको नेतृत्वमा सुरक्षाकर्मी खटिएका थिए, शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।’ 

कन्सर्टको आयोजक सरकार आफैँ हो । जसका लागि गृह मन्त्रालय र सूचना तथा प्रविधि मन्त्रालयमातहतको चलचित्र विकास बोर्डले भूमिका निर्वाह गरेको थियो । कन्सर्टको स्टेज निर्माण, कलाकार टोली तथा कार्यक्रमको सम्पूर्ण संयोजन बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका थिए । दरबारमार्गस्थित नारायणहिटी दरबार प्रवेशद्वार सामुन्ने भव्य ‘स्टेज’ तयार गरिएको थियो । ‘स्टेज’मा होस्ट र कलाकार मात्रै सहभागी थिए । ‘स्टेज’मा कसैका लागि पनि सोफा वा कुर्सीको व्यवस्था गरिएको थिएन । कन्सर्टमा सहभागी प्र्रधानमन्त्री ओलीसहितका सबैजना दर्शकका रूपमा थिए । 

‘कन्सर्ट’मा एलमेन्टस् ब्यान्ड र कुटुम्ब ब्यान्डले विशेष प्रस्तुति दिएका थिए । त्यसबाहेक दीपक लिम्बू, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, स्वप्न सुमनलगायतका कलाकारले प्रस्तुति दिएका थिए । साथै, राष्ट्रिय नाचघरका कलाकारसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कलाकारले पनि नृत्य प्रस्तुत गरेका थिए । ‘कन्सर्ट’को होस्ट सञ्जय सिलवाल गुप्ता, सुगारिका केसी र ओसिन सिटौला थिए ।

धरहरापरिसरमा पनि बालेनको पक्षमा हुटिङ
धरहरा चढ्न सुन्धारा पुगेकाहरूले पनि धरहरापरिसरमा मेयर बालेन्द्र शाहको पक्षमा हुटिङ गरेका थिए । इन्द्रजात्राका अवसरमा बालेन शाहको फोटो अंकित टिसर्ट लगाउनेलाई प्रहरीले पक्राउ गरेको विरोधका उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

नयाँबानेश्वरस्थित संसद् भवनअगाडि भने कालो झन्डासहित केही युवा भेला भएका थिए । संविधानविरोधी नाराबाजीसहित प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सात प्रदर्शनकारीलाई प्रहरी वृत्त नयाँबानेश्वरको हिरासत कक्षमा राखिएको छ । काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले संसद् भवनको ३ नम्बर गेटअगाडि प्रदर्शनमा उत्रिएका केही युवालाई पक्राउ गरेको जानकारी दिए । प्रहरीका अनुसार उनीहरू नेपाल कम्युनिस्ट पार्टीनिकट वसन्त बोगटीसहितका युवा हुन् ।