
पार्टीको प्रथम राष्ट्रिय भेला कस्तो रह्यो ?
यो हाम्रो पहिलो राष्ट्रिय भेला थियो । भेला ऐतिहासिक रूपमा भव्य रह्यो । यो निकै उल्लासमय रह्यो । भेला महोत्सवमय बन्यो । पार्टीले जुन रूपमा सोचेको थियो, त्योभन्दा बढी भव्य, सभ्य र सफल भयो । भेलाले समग्र पार्टीपंक्तिमा ऊर्जा प्रवाह गरेको छ ।
भेलाले के–कस्ता नीति र निर्णय पारित गर्यो ?
भेलाले हाम्रो पार्टीको विधान संशोधन गर्यो । विगतमा निर्वाचनको मुखमा हतारहतार तयार गरिएको विधानमा केही विषय स्पष्ट हुन बाँकी थिए । तिनलाई भेलाले संशोधनमार्फत प्रस्ट गरेको छ । भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति (आगामी २५–२७ वैशाख) तय गरेको छ । पार्टी सभापतिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित भएको छ । शासकीय स्वरूपलगायत विषयमा प्रस्ट विचार आएको छ । भेलाले प्रदेश संरचना राख्नुपर्छ भन्ने विचारलाई अनुमोदन गरेको छ । तर, अहिलेकै जस्तो खर्चिलो र अनुत्पादक प्रदेश संरचनाचाहिँ आवश्यक छैन । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहनेछ । उसले अधिकतम पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्नेछ । प्रदेश परिषद्मा प्रत्येक स्थानीय तहबाट गाउँ या नगर परिषद्ले छानेर पठाएका एक–एक जना प्रतिनिधि रहनेछन् । प्रत्येक स्थानीय तहको प्रतिनिधि भएपछि तिनले आआफ्नो क्षेत्रको विकासका लागि राम्रो योजना बनाउनेछन् । आखिर सबैको लक्ष्य भनेको प्रदेशको समृद्धि नै त हो ।
अबका दिनमा रास्वपा कसरी अघि बढ्छ ?
भेलाले हामीमा ऊर्जा थपेको छ । प्रस्ट नीति दिएको छ । आगामी दिनका लागि मार्गदर्शन गरेको छ । त्यसैले, अब हामी ०८४ को निर्वाचनलाई लक्षित गरेर अघि बढ्छौँ ।