१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौैं
२o८२ बैशाख २९ सोमबार o९:३३:oo
Read Time : > 1 मिनेट
समाचार

अर्थमन्त्रीलाई वर्षमानको प्रश्न– त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार o९:३३:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन नगरेकामा सरकारको आलोचना गरेका छन् । 

डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान)द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज योजना कार्यान्वयनमा अनिच्छा देखाएकामा आश्चर्य प्रकट गरे । अर्थमन्त्रीका रूपमा चालू आर्थिक वर्ष ०८१–८२ को बजेटमा पुनले त्रिभुज परियोजना प्रस्ताव गरेका थिए ।

बजेटमा उक्त कार्यक्रम प्रस्ताव गर्नुअघि पौडेलसँग परामर्श गर्दा उनले कार्यक्रम राम्रो रहेको भन्दै प्रशंसा गरेको पुनले भनाइ थियो । 
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को एकतिहाइ योगदान गर्ने भैरहवा, पोखरा र भरतपुर क्षेत्रलाई जोडेर अघि सारिएको उक्त आयोजना अघि बढाउन जरुरी रहेको पुनले बताए । 

‘चालू आर्थिक वर्षमा अर्थमन्त्रीका रूपमा बजेट प्रस्तुत गर्दा मैले काठमाडाैंवरिपरिको त्रिकोणात्मक क्षेत्रका रूपमा रहेको भैरहवा, पोखरा र चितवनलाई मिलाएर गण्डकी आर्थिक त्रिभुजको रूपमा अघि बढाउन परियोजना प्रस्ताव गरेको थिएँ,’ पुनले भने, ‘त्यतिवेला पनि मैले वर्तमान अर्थमन्त्रीसँग पनि सल्लाह गरेको थिएँ । उहाँले त्यो राम्रो सोच हो भन्नुभएको थियो । तर, अहिले कार्यान्वयन गर्न सक्नुभएन । उहाँका अप्ठ्यारा के हुन् थाहा भएन तर,  त्यो जरुरी थियो ।’ 


चालू बजेटमा आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणाअनुरूप नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरालाई तीनवटा कोणमा राखी सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाको रूपमा गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको थियो । 

सो परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने उल्लेख थियो । 

गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणघाट–बुटवल र मुग्लिङ–पोखरा सडकखण्डको विस्तार कार्य चालू आर्थिक वर्षमा सम्पन्न गरी डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने, नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवासम्बद्ध उद्योगको केन्द्रका रूपमा विकास गरिने अवधारणा उक्त कार्यक्रममा थियो । 

यस्तै, परियोजना कार्यान्वयनका लागि भरतपुर कोणमा पर्या–पर्यटन सेवा, जलयात्रा र विशिष्टीकृत स्वास्थ्य सेवाका, पोखरा कोणमा साहसिक मनोविनोद, पर्या–पर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षाका पूर्वाधार तथा बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने प्रस्ताव पुनको थियो । उक्त परियोजना कार्यान्वयनका लागि पुनले चालू आर्थिक वर्षको बजेटमा दुई अर्ब विनियोजन गरेका थिए । 

कार्यक्रममा पुनले मुलुकको विकासमा ढिलाइ हुनुको कारणमध्ये नीतिगत निरन्तरता एक भएको औँल्याए । 

फरक प्रसंगमा पुनले कुनै वेला नेपाललाई दुई ढुंगाबिचको तरुल भन्ने गरिएको चर्चा गर्दै भारत र चीनजस्ता विश्वकै ठुला अर्थतन्त्रको बिचमा रहेको नेपालले भाइब्रेन्ट बृजको भूमिकामा प्रस्तुत हुनुपर्ने बताए । सोही अवधारणाअनुसार बाबुराम भट्टराई प्रधानमन्त्री र आफू अर्थमन्त्री भएका वेला उत्तर र दक्षिणको अर्थतन्त्रसँग जोडिन उत्तर–दक्षिण करिडोर (सडक) हरूको अवधारणा ल्याइएको बताए । अर्को एक प्रसंगमा उनले आन्तरिक वा बाह्य ऋण लिनै नहुने नभई त्यस्तो ऋणबाट प्राप्त रकम प्रतिफल दिने राम्रा पूर्वाधार निर्माण, रोजगारी सिर्जना र उत्पादन वृद्धिका परियोजनामा लगानी गर्नुपर्ने स्पष्ट गरे ।