Skip This
नौ वर्षपछि खुल्यो धरहरा, प्रत्येक दिन ६ सयले चढ्न पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
तस्बिर : अमूल थापा/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ असोज ३ बिहीबार o७:o२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नौ वर्षपछि खुल्यो धरहरा, प्रत्येक दिन ६ सयले चढ्न पाउने

अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o७:o२:oo

नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो । 

सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका अनुसार प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउनेछन् ।

सहरी विकास मन्त्रालयअन्र्तगत सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कोशनाथ अधिकारीका अनुसार धरहरा चढ्न प्रि–टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरास्थलमै गएर टिकट लिनुपर्नेछ । ‘अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने भने पनि हालसम्म ‘टिकट बुकिङ एप’ चलिसकेको छैन,’ अधिकारीले भने, ‘एपको व्यवस्था नहुन्जेल ‘फर्स्ट कम फस्ट सर्भिस’को व्यवस्था हुन्छ । सोहीअनुसार बिहान साढे १० बजेदेखि टिकट काट्ने व्यवस्था गर्छाैं । टिकट काट्नका लागि धरहरा परिसरमा अधिकृतस्तरको कर्मचारीको व्यवस्था गरेका छौँ ।’ 

धरहरा प्रवेश खुलेसँगै यस क्षेत्रको भिड नियन्त्रणका लागि गृह मन्त्रालयले थप प्रहरी परिचालन गर्ने भएको छ । खानेपानीको व्यवस्था काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्नेछ । यसका लागि बगैँचामा खानेपानीको धाराको व्यवस्था गर्नेछ । धरहरा क्षेत्रको विद्युत्सम्बन्धी कामको जिम्मेवारी प्राधिकरणले पाउने भएको छ । धरहरा क्षेत्रभित्र हालका लागि आवश्यक सबै कर्मचारीको व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने विभागले जनाएको छ । अधिकारीका अनुसार हाल परीक्षणकाल भएकाले धरहरामा बाँकी रहेको निर्माण कार्य सँगसँगै हुनेछ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष (वैशाख ०७८)अघि धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन । यसपटक पनि धरहरा सञ्चालन कार्यविधिविनै प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संविधान दिवसका दिन अर्थात् बिहीबारदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि खुल्न लागेको हो । धरहरा अझै पूर्ण रूपमा बनिसकेको छैन । धरहरापरिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुन्धारा पुनर्निर्माण सुरु नै भएको छैन । 

पानीको स्रोत भेटिएपछि मात्र सुन्धारा पुनर्निर्माण हुने
नवनिर्मित धरहरासँगै रहेको पुरानो धरहरा र सुन्धारा पुनर्निर्माण अब सुरु हुने विभागले जनाएको छ । हाल अस्थायी रूपमा छोपेर राखेको पुरानो धरहरालाई छिटै व्यवस्थित गरिने र पानी स्रोत भेटिएपछि सुन्धारा पुनर्निर्माण हुनेछ । ‘सुन्धारामा प्राकृतिक रूपमा पानी ल्याउने अवस्था नरहेसम्म काम अगाडि बढाउँदैनौँ । यसका लागि हामीले स्रोत (मुहान) खोजिरहेका छौँ । पानीको मुहान भेटिनेबित्तिकै टेन्डर आह्वान गर्छाैं । त्यसपछि ढलेको सुन्धारा पुनर्निर्माण सुरु हुनेछ,’ उपमहानिर्देशक अधिकारीले भने । उनका अनुसार पुरातत्व विभागले सुन्धारा पुनर्निर्माणमा चासो देखाएकाले विभागलाई समेत दिन सकिनेछ । नयाँ धरहराको तीन तल्लामा भूमिगत पार्किङको व्यवस्था छ, जसमध्ये हाललाई दुई र चार पांग्रे दुवै सवारी साधन नि:शुल्क पार्किङ गर्न सकिनेछ । 

दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा धरहरा पुर्निर्माण सुरु भएको थियो । ऐतिहासिक सम्पदा भए पनि धरहरा बहुउपयोगी आधुनिक भवनका रूपमा निर्माण भएको छ । आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो । जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको छ । 

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ । भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको प्राधिकरण ९ पुस ०७८ मा खारेज भएसँगै विभागले धरहराको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको थियो ।