Skip This
आइसिसी विश्वकप लिग २ : एकदिवसीयमा पाँच विकेट लिने नेपाली बलर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार o८:o५:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप लिग २ : एकदिवसीयमा पाँच विकेट लिने नेपाली बलर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o८:o५:oo

अलराउन्डर गुल्सन झाले बिहीबार ओमानविरुद्धको आइसिसी विश्वकप क्रिकेट लिग २ मा पाँच विकेट लिए । एकदिवसीयमा पाँच विकेट लिने गुल्सन नेपालका पाँचौँ बलर हुन् । यसअघि सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र ललितनारायण राजवंशीले पाँच विकेट लिएका छन् । सोमपाल एकदिवसीय खेलमा पाँच विकेट लिने पहिलो नेपाली बलर हुन् । उनले २६ जनवरी २०१९ मा युएईविरुद्ध पाँच विकेट लिएका थिए । 

सन्दीप र करणले समान तीनपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । सन्दीपले करिअरमा आठपटक चार विकेट लिए । उनले त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्ध करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले अमेरिकाविरुद्ध ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । उनले पपुवा न्युगिनीविरुद्ध दुईपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । करणले सन् २०२२ मा ओमानविरुद्धको एकदिवसीय सिरिजमा दुईपटक पाँच विकेट हात पारेका थिए । उनले पाँच दिनको अन्तरमा भएका दुई खेलमा समान पाँच विकेट लिएका थिए । उनले पछिल्लोपटक नामिबियाविरुद्धको खेलमा पाँच विकेट लिए ।

ओमानसँग नेपाल एक विकेटले पराजित 
आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको खराब प्रदर्शन जारी छ । लिगमा पाँचौँ हार सामना गर्ने क्रममा नेपाल १ विकेटले पराजित भएको छ । अहिले नेपाल, ओमान र क्यानडाबिच सिरिज चलिरहेको छ । नेपालले सिरिजमा लगातार दोस्रो हार व्यहोरेको हो । यसअघि नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो । 

किंग्स सिटीमा नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित निकाल्यो । अन्तिम दुई ओभरमा ओमानलाई १० रन चाहिएको थियो । ओमानसँग एक विकेट बाँकी थियो । नेपालका करण केसीले ४९औँ ओभरमा २ रन मात्र खर्चिएका थिए । ओमानलाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । ओमानका सकिल अहमद र कलिमुल्लाहले सोमपालविरुद्ध समान एक चौका प्रहार गरेपछि ओमानले जित निकाल्यो ।

नेपालको ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले ६० रन बनाउन ७२ बलमा चार छक्का र दुई चौका प्रहार गरे । म्यान अफ दी म्याच गुल्सन झाले ३५ बलमा ५३ रनको योगदान दिए । उनले पाँच छक्का र तीन चौका हिर्काए । सोमपाल कामीले आठ बलमा २० रन बनाए । 

सन्दीप लामिछाने (तीनपटक)
नेपालका लेगस्पिनर सन्दीपले एकदिवसीय करिअरमा तीनपटक पाँच विकेट लिएका छन् । उनले एकदिवसीयमा पहिलो ६ विकेट अमेरिकाविरुद्ध लिएका थिए । १२ फेब्रुअरी २०२० मा उनले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा १६–६ को प्रदर्शन गरेका थिए । एक मेडन फ्याँकेका उनले ६ ओभर बलिङ गरे । आइसिसी विश्वकप लिग २ मा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रनमा समेटिएको थियो । नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । 

सन्दीपले दोस्रोपटक पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएका थिए । अल इमेरातमा १० सेप्टेम्बर २०२१ मा भएको खेलमा सन्दीपले पपुवा न्युगिनीविरुद्ध करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । सो खेलमा उनले ६ विकेट लिएका थिए । ५.१ ओभर बलिङ गरेका उनले ११ रन खर्चेका थिए, जसमा इकोनोमी २.१२ रहेको थियो । एकदिवसीय क्रिकेटमा सन्दीपको यो इकोनोमी उत्कृष्ट मानिन्छ । त्यस खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । २३४ रन पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रनमा समेटिएको थियो । सन्दीपले आफ्नो स्पेलमा कुनै अतिरिक्त रन दिएनन् । 

सन्दीपले १३ मार्च २०२३ मा पपुवा न्युगिनीविरुद्ध व्यक्तिगत दोस्रो तथा करिअरकै तेस्रोपटक पाँच विकेटको स्पेल गरेका थिए । त्रिवि क्रिकेट मैदानमा उनले पपुवा न्युगिनीविरुद्ध १० ओभरमा २५ रन खर्चेर पाँच विकेट लिएका हुन् । यस क्रममा एक मेडन ओभर थियो । विश्वकप लिग २ सिरिजमा पपुवा न्युगिनीले पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर ९५ रन जोडेको थियो । नेपालले ७.४ ओभरमा एक विकेटको नोक्सानीमा सय रन बनायो ।

करण केसी (तीनपटक)
नेपालका फास्ट बलर करणले एकदिवसीय करिअरमा तीनपटक पाँच विकेट लिएका छन् । उनले करिअरमा पहिलोपटक पाँच विकेटको प्रदर्शन ओमानविरुद्ध विश्वकप लिग २ मा गरेका थिए । ९ जुन २०२२ मा उनले ओमानसँगको प्रतिस्पर्धामा पाँच विकेट लिएका हुन् । १० ओभरमा ३८ रन खर्चेर उनले पाँच विकेट लिएका थिए । उनले आफ्नो स्पेलमा एक वाइड फ्याँकेका थिए । उनको इकोनोमी ३.८० रहेको थियो । नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । 

यसै सिरिजअन्तर्गत १४ जुन २०२२ मा ओमानविरुद्ध करणले दोस्रोपटक पाँच विकेट प्रदर्शन गरेका थिए । यस खेलमा नेपालमा सात विकेटले विजयी भएको थियो । ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । प्रतिस्पर्धामा करणले नौ ओभर बलिङ गर्दै ३३ रन खर्चेर पाँच विकेट लिएका थिए । 

करणले तेस्रोपटक पाँच विकेट नामिबियाविरुद्ध लिए । त्रिवि क्रिकेट मैदानमा १४ फेब्रुअरी २०२३ मा उनले १० ओभरमा पाँच विकेट लिन ६१ रन खर्चेका थिए । उनले एक मेडन ओभर गरेका थिए । यस खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो । करणले नेपालका लागि ५३ एकदिवसीय खेलमा ७६ विकेट हात पारेका छन् ।

सोमपाल कामी (एकपटक)
नेपालको एकदिवसीय इतिहासमा पहिलोपटक पाँच विकेट लिने बलर सोमपाल हुन् । उनले नेपालका लागि पहिलोपटक एकदिवसीयमा युएईविरुद्ध पाँच विकेट लिएका थिए । २६ जनवरी २०१९ मा युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा उनले ६.३ ओभर बलिङ गर्दै पाँच विकेट लिएका हुन् । यस क्रममा उनले एक मेडन राखी ३३ रन खर्चे । प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा २४२ रन बनाएको थियो । म्यान अफ दी म्याच सोमपालको घातक बलिङको सामना गर्न नसकेको युएई १९.३ ओभरमा ९७ रनमा समेटिँदा नेपाल १४५ रनको फराकिलो अन्तरले विजयी भयो । सोमपालले ५६ एकदिवसीय खेलमा ७३ विकेट लिएका छन् ।

गुल्सन झा (एकपटक)
नेपालको एकदिवसीय इतिहासमा पाँच विकेट लिने गुल्सन पाँचौँ बलर हुन् । उनले यो सफलता आइसिसी विश्वकप लिग २ अन्तर्गत १८ सेप्टेम्बर २०२४ मा प्राप्त गरेका थिए । बिहीबार बिहान ओमानसँग १ विकेटले पराजित भएको खेलमा गुल्सनले १० ओभर गर्दै ४७ रन खर्चेर करिअरकै पहिलोपटक पाँच विकेट लिएका हुन् । उनले ओमानविरुद्ध दुई मेडन ओभर गरे । उनले आफ्नो स्पेलमा तीन वाइड फ्याँकेका थिए । उनले २९ एकदिवसीय खेलमा २७ विकेट लिएका छन्, यसक्रममा उनले ८१३ बल फ्याँके ।

ललितनारायण राजवंशी (एकपटक)
बायाँहाते अर्थोडक्स स्पिनर ललितनारायण नेपालका लागि एकदिवसीय खेलमा पाँच विकेट अर्का बलर हुन् । उनले आइसिसी विश्वकप लिग २ अन्तर्गत १२ मार्च २०२३ मा युएईविरुद्ध पाँच विकेट लिएका थिए । त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर २४८ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा युएई २२.५ ओभरमा ७१ रनमा अलआउट हुँदा नेपाल १७७ रनको फिराकिलो अन्तरले विजयी भयो । यस खेलमा स्पिनर ललितनारायणले करिअरकै उत्कृष्ट बलिङ स्पेल गरेका थिए । उनले ७.५ ओभरमा २० रन खर्चेर पाँच विकेट लिए । यस क्रममा उनले दुई मेडन ओभर बलिङ गरे । उनले ३१ एकदिवसीय खेलमा ३९ विकेट लिएका छन् ।