१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
जनता विमुक्थी पेरामुना (जेभिपी)का नेता अनुरा कुमारा दिसानायके
२o८१ असोज ४ शुक्रबार १o:११:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

कम्युनिस्ट नेता बन्लान् श्रीलंकाका भावी राष्ट्रपति ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १o:११:oo

५५ वर्षीय अनुरा कुमारा दिसानायके श्रीलंकाको ‘नेसनल पिपुल्स पावर(एनपिपी)’ गठबन्धनको नेतृत्व गर्छन् । गठबन्धनसँग देशको २२५ सदस्यीय संसद्मा केवल तीन सांसद मात्र छन्, जहाँ ऊ अहिले चौथो ठुलो शक्ति हो । तर, सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको मतदानमा संसद्को यस सानो गठबन्धन नेता दिसानायके आश्चर्यजनक रूपमा शीर्ष उम्मेदवारका रूपमा देखा परेका छन् । केही मत सर्वेक्षणले ३८ जना उम्मेदवारमध्ये उनले सबैभन्दा धेरै मत हासिल गर्न सक्ने प्रक्षेपण गरेका छन् । 

दिसानायके एनपिपीभित्रको एक दल ‘जनता विमुक्थी पेरामुना (जेभिपी) का नेता हुन् । श्रीलंकाको कम्युनिस्ट पार्टी जेभिपीले विगतमा सन् १९७१ र सन् १९८० को दशको अन्त्यमा गरी दुईपटक असफल कम्युनिस्ट विद्रोहको नेतृत्व गरेको थियो । सरकार विद्रोहविरुद्ध अत्यन्त निर्मम रूपमा उत्रिँदा झन्डै–झन्डै ६० हजारको ज्यान गएको थियो, जसमा पार्टी शीर्ष नेतृत्वदेखि पार्टी संस्थापक रोहाना विजेविरा पनि मारिए । त्यसपछि पार्टीले उसको विगतको प्रभाव हासिल गर्न सकेको थिएन । तर, जेभिपी र पार्टीको नेतृत्वमा रहेको गठबन्धन एनपिपीका लागि ‘टर्निङ प्वाइन्ट’ सन् २०२२ मा आयो, जब देशको अर्थतन्त्र ध्वस्त भयो । 

आर्थिक संकटका कारण सिर्जित चर्को महँगी र अत्यावश्यक सामग्रीको चरम अभावविरुद्ध जनता आन्दोलनमा उत्रिए । आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोताबाया राजपाक्षे राजीनामा दिन बाध्य भए । गोटाबाया र उनका दाइ प्रधानमन्त्री महिन्दाले राजीनामा मात्र दिएनन्, देश छाडेरै भाग्नुपर्‍यो । आन्दोलनको औपचारिक नेतृत्वको दाबी कुनै एक राजनीतिक दलले नगरेको भए पनि जेभिपीले आन्दोलन चर्काउन सक्रिय भूमिका खेलेको थियो । पार्टीले दैनिक विरोध प्रदर्शनको समन्वयन गर्नेदेखि आन्दोलनका लागि देशका विभिन्न कुनाबाट राजधानी कोलम्बो आएकालाई पालमा राख्नेसम्म काम गरेको थियो । 

राजपाक्षे दाजुभाइको राजनीतिक बहिर्गमनपछि सिर्जित शक्ति शून्यताको स्थितिले दिसानायके र जेभिपीलाई व्यापक परिवर्तनको आह्वानलाई विस्तार गर्न मार्गप्रशस्त गर्‍यो । बृहत्तर सामाजिक न्यायको मुद्दा तथा भ्रष्टाचारविरुद्धको नाराले आमनागरिक पार्टीप्रति आकर्षित भए । पार्टी एक्कासि किनाराबाट प्रमुख राजनीतिक शक्तिमा उदायो । पार्टीको लोकप्रियतासँगै दिसानायकेको व्यक्तिगत अपिल पनि बढेको छ । 

स्कुले दिनदेखि जेभिपीको राजनीतिमा जोडिएका दिसानायके सन् २०१४ मा पार्टीनेता नियुक्त भएका थिए । नेतृत्व सम्हालेदेखि नै उनले पार्टीलाई विगतको हिंसात्मक विगतबाट बाहिर ल्याउन प्रयास गरे । पार्टीनेता चुनिएलगत्तै सन् २०१४ मेमा बिबिसीसँगको अन्तर्वार्तामा दिसानायकेले पार्टीको विगतका हिंसाका लागि माफी मागे, जुन औपचारिक पार्टीतर्फबाट भएको त्यस्तो पहिलो माफीको आग्रह थियो । उक्त माफीप्रति पार्टीनेता तथा वामपन्थी तप्काले विरोध गरेका थिए । 

श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएदेखि नै देशको नेतृत्व दुई प्रभावशाली राजनीतिक समूह युनाइटेड नेसनल पार्टी (युएनपी) र श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) वा तिनले नेतृत्व गरेका गठबन्धन वा उनीहरूबाट छुट्टिएर गएको गुटले गरेका छन् । दिसानायके राष्ट्रपति बन्न जनतामाझ कायम यी गठबन्धनको प्रभावलाई तोड्नु आवश्यक हुन्छ । पार्टीको अहिलेको सबैभन्दा ठुलो सबलता भ्रष्टाचार नियन्त्रण गर्ने वाचा बनेको छ । यस वाचामा युवाहरू आकर्षित भएका छन् । तथापि, भर्खरै आर्थिक संकट भोगेकाले मतदाताका लागि देशको अर्थतन्त्रको अवस्था सबैभन्दा मुख्य मुद्दा बनेको छ ।

सन् २०२२ अप्रिलमा श्रीलंकाको सरकारले स्वतन्त्रतापछि पहिलोपटक आफूले ऋणको किस्ता तिर्न नसक्ने घोषणा गरेको थियो । गोताबाया राजपाक्षेको बहिर्गमनपछि राष्ट्रपति बनेका रनिल विक्रमासिंघेले देशको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आर्थिक प्याकेज लिएका छन् । विक्रमासिंघेका समर्थकले उनले आइएमएफसँग गरेको सम्झौताको प्रशंसा गरेका छन् । तथापि सम्झौतापछि, सरकारले कर वृद्धि गरेको छ । त्यस्तै इन्धन र बिजुलीजस्ता अत्यावश्यक वस्तुमा दिइँदै आएको अनुदान कटौती गरिएको छ । यसले आमसर्वसाधारणको जीवनको लागत बढाएको छ । दिसानायकेले आफू राष्ट्रपति भए आइएमएफसँगको सम्झौतालाई निरन्तरता दिने बताएका छन् । तथापि सम्झौताका सर्त आमश्रीलंकालीका लागि कम पीडादायी बनाउन पुनः वार्ता गर्ने बताएका छन् । उच्च कर र न्यून अनुदानले न्यून र मध्यम आय भएका परिवारलाई असमान रूपमा असर गरेको उनको भनाइ छ । 

अल जजिराका लागि सरोज पथिरानाको आलेख