Skip This
चाडपर्वलक्षित सुपथ पसल सुरु : ४२ जिल्लाका ६३ बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ असोज ४ शुक्रबार ११:११:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडपर्वलक्षित सुपथ पसल सुरु : ४२ जिल्लाका ६३ बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार ११:११:oo

सरकारले चाडपर्वमा हुन सक्ने खाद्यान्नको कृत्रिम मूल्यवृद्धि, कालोबजारी र कार्टेलिङ नियन्त्रण गर्न सरकारी संस्थान परिचालन गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

संविधान दिवसको अवसर पारेर बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अगुवाइमा ४२ जिल्लाका ६३ बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री थालिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिए ।

सुपथ पसल उद्घाटन गर्दै मन्त्री भण्डारीले अत्यावश्यक खाद्य वस्तु चामल, दाल, तेल, चिउरा, नुनलगायतका वस्तुमा न्यूनतम पाँच रुपैयाँ छुट दिएर देशभरि सुपथ पसल सञ्चालनमा ल्याएको बताए । ‘आधारभूत तहका नागरिकले अनुभूत गर्ने गरी सरकारले चाडपर्वका सन्दर्भमा अत्यावश्यक वस्तुको सहज उपलब्धता र सहुलियत दिने गरी पसल सञ्चालन गरिएको हो । यसलाई निरन्तर गर्छौँ,’ उनले भने ।

मन्त्री भण्डारीले सात सय ५३ पालिकामा सेवा विस्तार गर्ने गरी काम गर्न पनि खाद्य कम्पनीलाई निर्देशन दिएका छन् । त्यस्तै, खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सेवालाई विस्तार गर्ने र खाद्य वस्तुको उत्पादनमा समेत क्रियाशील हुने योजना रहेको बताए । चाडपर्वमा उपभोग्य वस्तुको अत्यधिक मागलाई सम्बोधन गर्न र मूल्य नियन्त्रण गर्न सुपथ पसल सुरु गरिएको उनले बताए ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकस्थित कम्पनीको बिक्री केन्द्रबाट छुट मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाइएको छ । चाडपर्वमा देशभर ५० हजार क्विन्टल खाद्यान्न छुट मूल्यमा बिक्री गर्ने लक्ष्य राखिएको छ ।

छुट मूल्यमा खाद्यान्न बिक्री गर्न तीन करोड विनियोजन
खाद्य कम्पनीको चामल, दाल, तेल, गेडागुडी, खसी–बोका, च्यांग्रालगायत छुट मूल्यमा बिक्री गर्न सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कम्पनीले आउँदो २ माघसम्म चामलमा प्रतिकेजी पाँच रुपैयाँ तथा तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णालीको सिमी–गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै, जिउँदो खसी–बोका, च्यांग्रा र डिडिसीको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट राखिएको छ ।

१८ सय खसी–बोका र च्यांग्रा ल्याइने
खाद्य कम्पनीले यसपटक १८ सय खसी–बोका र च्यांग्रा बिक्रीका लागि उपलब्ध गराउने भएको छ । मकवानपुर र दाङबाट १५ सय खसी–बोका तथा मुस्ताङबाट तीन सय च्यांग्रा खरिद गरी काठमाडौंको थापाथलीबाट घटस्थापनादेखि बिक्री सुरु गर्ने योजना रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । जिउँदो खसी र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने, तर मूल्य निर्धारण भने बाँकी रहेको उनले बताइन् ।

साल्ट ट्रेडिङले सोमबारदेखि थाल्ने
साल्ट ट्रेडिङ कर्पोरेसनले आउँदो सोमबारदेखि सुपथ पसल सुरु गर्ने भएको छ । कर्पोरेसनका सूचना अधिकारी ब्रजेश झाले सोमबारदेखि सुपथ पसल सुरु गर्ने गरी गृहकार्य अघि बढाइएको बताए । ‘विभिन्न खाद्यान्नमा छुट दिने गृहकार्य भइरहेको छ । कुनमा कति दिने भन्नेबारे निर्णय भइसकेको छैन,’ उनले भने । साल्ट ट्रेडिङले पनि आफ्नो बिक्री केन्द्रबाट छुटमा खाद्यान्न बिक्री गर्नेछ । साल्ट ट्रेडिङलाई छुटमा खाद्यान्न बिक्री गरेबापत शोधभर्ना दिन ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक साल्ट ट्रेडिङसँग चिनीको अभाव भएकाले सुपथ पसलमा थोरै परिमाण मात्रै राखिने भएको छ ।

डिडिसीका दुग्ध उत्पादनमा छुटै–छुट
दुग्ध विकास संस्थान (डिडिसी)ले १ भदौदेखि नै सबै प्रकारका उत्पादनमा छुट दिएर बिक्री थालेको र चाडपर्वमा पनि निरन्तरता दिने जनाएको छ । कात्तिक मसान्तसम्मका लागि लागू हुने योजनामा दही खरिदमा पाँचदेखि १५ रुपैयाँ छुट राखिएको छ । 

डिडिसीको एक लिटरको सादा दहीलाई एक सय ५० रुपैयाँ मूल्य तोकिएकोमा चाडपर्व अवधिभर एक सय ३५ रुपैयाँमा उपलब्ध गराउन थालिएको छ । डिडिसीले दुई सय ग्रामदेखि ५० किलोसम्मको दही बिक्री गर्दै आएको छ । थोक विक्रेतालाई एक सय २० रुपैयाँ प्रतिलिटरको दही चाडपर्व अवधिभर एक सय १० रुपैयाँमा बिक्री भइरहेको डिडिसीले जनाएको छ ।

त्यस्तै, आइसक्रिममा १० देखि ५० रुपैयाँ, प्रतिकिलो आठ सय ३५ रुपैयाँ रहेको खुवामा ४० रुपैयाँ छुट दिएर सात सय ९५ रुपैयाँ र पनिरमा १० देखि २० रुपैयाँसम्म छुट राखिएको छ । डिडिसीको पनिर आधा किलोको चार सय पाँच रुपैयाँ रहेकोमा चाडपर्वका लागि तीन सय ८५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको छ । चिजमा २० देखि ५० रुपैयाँ, प्रतिबट्टा रसबरीमा ४० र लालमोहनमा २० रुपैयाँ छुट दिइएको छ । डिडिसीको रसबरी र लालमोहन छुटपछि समान दुई सय ७० रुपैयाँ प्रतिबट्टा मूल्य रहेको छ । त्यस्तै, प्रतिलिटर घिउ ११ सय ५० रुपैयाँ मूल्य रहेकोमा ७० रुपैयाँ छुट दिएर एक हजार ८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।