Skip This
नेपाल प्रहरीका वरिष्ठ सइको असमान तलब : पाँच ग्रेड वृद्धि गरी हिसाब गरेर तलब दिन सर्वोच्चको परमादेश 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असोज ३ बिहीबार १o:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल प्रहरीका वरिष्ठ सइको असमान तलब : पाँच ग्रेड वृद्धि गरी हिसाब गरेर तलब दिन सर्वोच्चको परमादेश 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १o:oo:oo

सर्वोच्च अदालतले नेपाल प्रहरीमा दरबन्दी थपपछि सइ (प्रहरी नायब निरीक्षक)बाट वरिष्ठ सइ (वरिष्ठ नायब निरीक्षक)मा बढुवा भएका सबै सुरक्षाकर्मीलाई पाँच ग्रेड वृद्धि गरी तलब दिन परमादेश गरेको छ । सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सइबाट वरिष्ठ सइमा बढुवा भएका सबै सुरक्षाकर्मीलाई बढुवा भएको दिनदेखि हिसाब गरेर पाँच ग्रेड वृद्धि गरी तलब उपलब्ध गराउन सरकारका नाममा परमादेश दिएको हो । 

‘बढुवा भएपछि बढुवा भएको अनुभूति दिलाई मनोबल उच्च राख्न थप दुई ग्रेडसमेत गरी पाँच ग्रेड थप गरी तलब तथा ग्रेड सबै वरिष्ठ सइले नियुक्ति पाएकै मितिदेखि गणना गरी हालसम्मको नपुग तलब ग्रेडसमेत अविलम्ब भुक्तानी पाउने गरी दिन दिलाउन जे जो गर्नुपर्ने हो सबै प्रक्रिया पूरा गरिदिनू–दिलाउनू भनी विपक्षीका नाउँमा परमादेश जारी हुने ठहर्छ,’ गत १६ साउनमा गरिएको आदेशमा भनिएको छ । प्रहरी नियमावली, २०७१ को दफा १४६ को उपदफा २ (ख)मा ‘साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको सुरु तलबभन्दा बढी भएमा माथिल्लो पदको तलब निर्धारण गर्दा हाल पाइआएको तलब नपुगसम्मको वृद्धि थप गरी माथिल्लो पदको तलब वृद्धि गर्ने’ उल्लेख छ । अर्थात् बढुवापछिको तलब साबिक पदको भन्दा कम भए अनिवार्य रूपमा वृद्धि गरिदिनुपर्छ । तर, वरिष्ठ सइको हकमा त्यस्तो हुन सकिरहेको थिएन । त्यसपछि उनीहरू रिट निवदेन लिएर सर्वोच्च पुगेका थिए । सोही निवेदनमा सर्वोच्चले १६ साउनमा पाँच ग्रेडसहित तलब उपलब्ध गराउन सरकारको नाममा परमादेश गरेको हो । 

रिट निवेदनकर्ता तथा नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ सइ रामकरन गुप्ताले सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताए । ‘नेपाल प्रहरीमा सइको भन्दा वरिष्ठ सइको तलब कम थियो । समस्या लिएर हामी प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म पुग्यौँ, तर सुनुवाइ भएन । त्यसपछि हामी सर्वोच्च पुग्यौँ । सोही निवेदनमा सर्वोच्चले सरकारको नाममा परमादेश जारी गर्‍यो । आदेश स्वागतयोग्य छ । यसले वरिष्ठ सइको मनोबल माथि उठाएको छ,’ उनले भने । तल्लो दर्जामा बढुवा समस्या जटिल बनेपछि नेपाल प्रहरीले दुई वर्षअघि प्रहरी संगठनमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सइको नयाँ दरबन्दी सिर्जना गरेको थियो । २० चैत ०७८ मा एक हजार ४१८ सइलाई वरिष्ठ सइमा बढुवा गरेको थियो । 

नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी निरीक्षक ओमप्रकाश शाक्यका अनुसार ०७८ मा सइको तबल स्केल ३० हजार २०० रुपैयाँ थियो । त्यसमा उनीहरूले एक हजार सात रुपैयाँका दरले आठ ग्रेडसम्मको थप सुविधा पाउँथे । त्यसो हुँदा उनीहरूले प्रतिमहिना एकमुस्ट ३८ हजार २५६ रुपैयाँ तलब बुझ्थे । उनीहरूको वरिष्ठ सइमा बढुवा भयो । तबलमान तोकियो, ३५ हजार ६५० रुपैयाँ । त्यसमा एक हजार १८९ रुपैयाँको एक ग्रेड सुविधा थपिने भनिएको थियो । तर, त्यसो भएन । बढुवापछि खाइपाई आएकोमा दुई हजार ६०६ रुपैयाँ घटेर प्रतिमहिना ३५ हजार ६५० रुपैयाँ तलब प्राप्त हुन थाल्यो । प्रहरी नियमावली ०७१ को दफा १४६ को उपदफा २ (ख) विपरीत सुविधा प्राप्त भएपछि पीडित वरिष्ठ सइ एकजुट भएर समस्या सम्बन्धित निकायमा लगेर सुनाए । नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन, २०७८ ले दिएको सुझावअनुसार आव ०७८÷८९ को नयाँ तलबमान आएसँगै समस्या समाधान हुने आश्वासन उनीहरूले पाए ।