१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसक्यो : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १८:४९:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसकेको भन्दै ठुला भन्न रुचाउने दल र नेताहरूले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताएका छन्। सहकारी प्रकरणमा कांग्रेस र एमालेका ठुला नेताको संलग्नता देखिएकाले सहकारी प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेकोसमेत थापाले आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हंगामा भए पनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिनेबित्तिकै प्रकरणलाई लुकाउन खोजेको बताए।

छानबिन समितिको प्रतिवेदनले एकातिर रविले क्लिनचिट पाए भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्नसमेत गरे। ‘सहकारी ठगीको विषयमा ठुलो होहल्ला भयो। छानबिनका लागि समिति गठन भयो। सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन, कांग्रेस र एमालेका पनि ठुला नेताहरूको नाम आउन थाल्यो। त्यसपछि पहिले भ्रष्टाचारको काण्ड दबाएझैँ गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेका छन्,’ अध्यक्ष थापाले भने।

थापाले सरकारले र सत्तामा भएका दलहरूले ठुलो तामझामका साथ संविधान दिवस मनाए पनि जनताको कुनै उत्साह नरहेको दाबी गरे। सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबारमार्गको कन्सर्ट दुवैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन भन्ने प्रमाणित भएको बताए। 

संविधान संशाेधन गर्ने हो भने अहिलेको यथास्थितिलाई टालटुल गरेर समस्या समाधान नहुने भन्दै थापाले अब सबै अटाउने व्यवस्थाले मात्र मुलुकलाई जोगाउने बताए। थापाले आन्दोलन उच्छृंखल र अदृश्य शक्तिको हातमा जान सक्ने भन्दै चाँडै सत्तासीनको आँखा खुल्नुपर्ने सुझाव दिए।

हिन्दुराष्ट्र  र राजासहितको प्रजातन्त्र नै नेपालको स्थायित्वको अचुक मार्ग हुने थापाको दाबी छ।