१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
यी–झेङ लियान
२०७६ बैशाख २९ आइतबार ०८:४७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

चिनियाँ राष्ट्रपतिको वास्तविक परीक्षा 

Read Time : > 3 मिनेट
यी–झेङ लियान
२०७६ बैशाख २९ आइतबार ०८:४७:००

सी जिनपिङ राष्ट्रपति हुँदा चीन, आर्थिक चमत्कारमा सयर गरिरहेकै थियो । त्यही समय अमेरिका भने सन् २००८–०९ को आर्थिक मन्दीबीच रुमल्लिएको थियो । सी सन् २०१२ को अन्त्यतिर चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव भए । सन् २०१३ को आरम्भतिर उनी जनवादी गणतन्त्र चीनको राष्ट्रपति चुनिए । राष्ट्रपति भएलगत्तै उनले चालेको भ्रष्टचारविरोधी अभियान निकै लोकप्रिय बन्यो । त्यस्तै, उनले ‘चिनियाँ सपना’ अघि सारे । चीन र चिनियाँ नागरिकको सम्मृद्धि, शक्ति र कल्याणको दृष्टिकोण बोकेको चिनियाँ सपनाले अधिकांश नागरिकलाई उत्साहित बनायो । परराष्ट्र नीतिअन्तर्गत उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासामु ‘प्रमुख राष्ट्रबीच सम्बन्धको नयाँ मोडेल’ प्रस्ताव अघि सारे । विगतमा लो–प्रोफाइलमा बस्ने चिनियाँ नेताको यस्तो सक्रियताबाट चिनियाँ नागरिकमा आत्मविश्वास छायो । तर, कुनै मुखर प्रतिपक्ष नभएको र सरकारबारे उठ्ने चर्का विषयलाई प्रतिबन्ध लगाइने देशका लागि माथि उल्लेखित कदम सजिला ‘स्टन्ट’ थिए । सी नेतृत्वको परीक्षण गर्ने वास्तविक अवसर बनेर आयो, अमेरिकासँगको ‘व्यापार युद्ध’ । यस चुनौतीमा हालसम्म सीले उठाएका कदम त्यति उत्साहप्रद देखिँदैनन् । 

पछिल्लो समय सी जिनपिङ तीन कुरामा प्रस्टै कमजोर देखिएका छन् । सीको पहिलो र सबैभन्दा महत्वपूर्ण असक्षमता अमेरिका–चीन सम्बन्धलाई व्यवस्थापन गर्ने सन्दर्भमा देखियो । हालसम्मको अवस्था हेर्दा यसमा उनी असफल नै देखिन्छन् । सन् १९४९ मा कम्युनिस्ट शासन स्थापना भएदेखिका प्रत्येक चिनियाँ नेताले अमेरिकासँगको सम्बन्धलाई उच्च प्राथमिकता दिए । त्यसैले तिनले सम्बन्ध सुधारमा निकै मिहिनेत गरेको इतिहास देखिन्छ । मिहिनेतअनुरूप अमेरिकासँगको सम्बन्धले चीनलाई फाइदा पनि दिएको छ । सन् १९७१ मा माओले दुई देशबीचको सम्बन्धको चिसोपनलाई अन्त्य गर्न ‘पिङ पङ डिप्लोमेसी’ अर्थात् टेबलटेनिस कूटनीति ल्याए । परिणाममा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले उनलाई सोभियतसँगको गतिरोध परेका वेला सघाए । देङ सियाओ पिङले अमेरिकालाई फकाउन ठूलो प्रयास गरे । जवाफमा सन् १९७९ मा राष्ट्रपति जिम्मी कार्टरले संयुक्त राष्ट्रमा चीनको रूपमा ताइवानलाई दिइँदै आएको सदस्यता मूल भूमि चीनलाई दिए । सन् ८० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता हु याओ वाङ र झाओ जियाङले अमेरिकी संस्थापनमा बलियो पकड भएका अर्थशास्त्री मिल्टन फ्राइडम्यान र अन्य अर्थशास्त्रलाई सल्लाह–सुझावका लागि चीन आमन्त्रण गरे । त्यसपछि अमेरिकी पुँजी र प्रविधि चीन आउन थाल्यो । चिनियाँ राष्ट्रपति जियाङको प्रयासकै कारण सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशलाई बलियो समर्थन गर्नेमा बिल क्लिन्टन देखा परे । सन् २००३ देखि २०१३ बीच हु जिनताओको अवधिमा चीनले अमेरिकाको खुलापनबाट ठूलो फाइदा लियो ।

सी चीनलाई ‘राष्ट्रवादी चोरको राष्ट्र’ बनाउन उद्यत देखिन्छन् । सीलाई माओपछिको शक्तिशाली र निर्विवाद नेताका रूपमा हेरिन्छ, तर उनको नेतृत्वका गम्भीर असफलता बाहिरिन थालेका छन् । यसले उनको नेतृत्वमाथि देशभित्रै प्रश्न उठ्न सक्छ ।

तर, सत्तामा सी जिनपिङको आमगनपछि अमेरिकासँगको चीनको नरमता अन्त्य भएको छ । उनको शासनमा सरकारी सञ्चारमाध्यम अमेरिकाविरुद्ध चर्का कुरा गर्न थालेका छन् । सरकार आफैँ एसिया प्रशान्तीय क्षेत्रमा रहेको अमेरिकी सैन्य उपस्थितिलाई खुला चुनौती दिन थालेको छ । बेइजिङका सरकारी अधिकारी ठूलो संख्यामा रहेको चिनियाँ डायस्पोराका सदस्यमाथि प्रभाव पारेर तिनलाई आतिथ्य देशमा राजनीतिक घुसपैठ गर्न र उच्च–प्रविधिको चोरी गर्न उकास्न थालेका छन् । यसमा खुला र गोप्य दुवै रणनीति अपनाइँदै छ । यो विषयमा अमेरिकामा प्रश्न उठ्न थालिसकेको छ । अमेरिकामा चीनप्रति कैयन् आशंका बढिरहँदा सी थाहा नपाएझैँ देखिए । त्यसैले जब डोनाल्ड ट्रम्पले चीनविरुद्ध भन्सार युद्ध सुरु गरेमा सी त्यसका लागि तयार नभएको देखियो । अमेरिकासँगको वैमनस्यता सीकै पालामा किन देखियो ? यसको जवाफ इतिहासमा भेटिन्छ । सन् ५० को दशकताका माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्वमा सोभियत संघलाई चुनौती दिए । कम्युनिस्ट आन्दोलनका साथै माओले विश्व प्रभुत्व पनि खोजेका थिए । चीनको शासक सम्पूर्ण धर्तीको शासनको योग्य छ भन्ने परम्परागत चिनियाँ अवधारणबाट माओ प्रभावित थिए । तर, माओले क्षमताभन्दा निकै ठूलो आहारा ताकेका थिए । माओको चुनौतीपछि तत्कालीन दोस्रो विश्व शक्ति सोभियत संघले चीनलाई दिँदै आएको अनुदान रोक्यो । त्यस्तै, उसले चीनको निर्माणमा सघाउन पठाएको ठूलो संख्याको सोभियत वैज्ञानिक र प्राविधिक सल्लाहकार फिर्ता बोलायो । पहिल्यै अर्थतन्त्रमा संघर्षरत चीनलाई सोभियत संघले लिएको बदलाले ठूलो झट्का लाग्यो । सोभियत संघलाई माओले हतारमा चुनौती दिएजस्तै सीले पनि पर्याप्त आधारविना अमेरिकाको विश्वव्यापी प्रभुत्वलाई चुनौती दिए । 

सीको दोस्रो प्रमुख कमजोरी चीनको गिर्दो आर्थिक वृद्धि दरलाई रोक्ने नीति प्रदान गर्न नसक्नु हो । सन् १९९३ मा १५.४ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गरेको चीनको कुल ग्रार्हस्थ उत्पादन सन् २०१८ मा ६.६ प्रतिशत मात्र रह्यो । यो २८ वर्षयताकै न्यून आर्थिक वृद्धि हो । चिनियाँ नेताका लागि यो चिन्ताको विषय हो । जनसंख्यामा वृद्धको हिस्सा बढिरहँदा श्रम शक्तिमा ह्रास आइरहेको छ । त्यस्तै, ऋण र कुल ग्रार्हस्थ उत्पादनबीचको अनुपात सन् २०१८ को पहिलो त्रैमासिकमा ३ सय प्रतिशतसम्म पुगेको छ । यी दुई समस्याले अर्थतन्त्रमा ठूलो भार पारेको छ । सीले यी संरचनागत मुद्दालाई सम्बोधन गर्न सकिरहेका छैनन् । सीको तेस्रो कमजोरी, उनी शासनमा आएपछि विदेशमा रहेका चिनियाँलाई अनैतिक कार्यमा प्रोत्साहन गर्नु हो । चीनले विश्वभरि छरिएका चिनियाँ नागरिकलाई बौद्धिक चोरीका लागि प्रोत्साहित गरिरहेको छ । सन् २०१७ मा चीन सरकारले ल्याएको ‘नेसनल इन्टिलिजेन्स ल’ले पनि यसलाई बाध्यकारी बनाएको छ । यी अभ्यासलाई नियाल्दा सी चीनलाई ‘राष्ट्रवादी चोरको राष्ट्र’ बनाउन उद्यत देखिन्छन् । सीलाई माओपछिको शक्तिशाली र निर्विवाद नेताका रूपमा हेरिन्छ, तर उनको नेतृत्वका गम्भीर असफलता बाहिरिन थालेका छन् । यसले उनको नेतृत्वमाथि देशभित्रै प्रश्न उठ्न सक्छ ।

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

जापानको यामानासी–गकुइन विश्वविद्यालयका प्राध्यापक यी–झेङ लियान हङकङ र एसिया मामिला विज्ञ हुन् ।