१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री चीन भ्रमणमा : आज चिनियाँ राष्ट्रपतिसँग वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१८:oo

८ असोजमा बेइजिङमा द्विपक्षीय वार्ता, दुई सम्झौताको तयारी, बिआरआई टुंगिएन 

राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट चीन प्रस्थान गरेका छन् । उनी शनिबार बिहान चीनको हाङझाउ पुगेर अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ । 

चिनियाँ समयअनुसार अपराह्न ५ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता तय भएको छ । कूटनीतिक स्रोतका अनुसार उनीहरूबीच दुई चरणमा गरी ५० मिनेट कुराकानी हुनेछ । त्यसअघि राष्ट्रपति सीले खेलको उद्घाटन समारोहमा सहभागी विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित दिवाभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । 

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीसँगको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत हुनेछन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ १९औँ एसियाली खेलको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डको टोली ७ असोजमा बेइजिङ जानेछ । सोही दिन (आइतबार) अपराह्न आयोजना हुने नेपाल–चीन लगानी सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूतावासले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छ । 

प्रधानमन्त्री प्रचण्डले ८ असोजमा चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले चिनियाँ जनकंग्रेस (संसद्) स्थायी समितिका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले त्यही दिन बिहान तियानमेन स्क्वायरमा गार्ड अफ अनर (सम्मान गारद सलामी) दिने कार्यक्रम छ । त्यसपछि दुवै प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सम्झौता आदनप्रदान हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ समकक्षीले दिवाभोज आयोजना गरेका छन् । 

स्रोतका अनसार यसपालि बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर अझै अनिश्चित छ । बिआरआई कार्यान्वयन योजना नटुंगिएका कारण सीमापार विद्युत् प्रसारण लाइन, विद्युत् व्यापार सम्झौतालगायत कुनै पनि परियोजनामा सम्झौता हुने सम्भावना कम छ । ‘बिआरआई कार्यान्वयन योजना नटुंगिएसम्म परियोजनाका विषयमा अघि बढ्ने अवस्था अहिलेसम्म छैन । किनभने चीनले अबदेखि सबै परियोजनालाई बिआरआईअन्तर्गत राख्ने भनेको छ । बिआरआई नटुंगिएका कारण बाँकी विषयमा केही पनि नहुने भयो,’ जानकार उच्च सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने । 

प्रधानमन्त्री प्रचण्ड ९ असारमा छोङछिङ सहर जाँदै छन् । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डललाई दुई साताअघि चिनियाँ कम्युनिस्ट पार्टीले त्यहीँ स्वागत गरेको थियो । छोङछिङमा एक रात बसेर प्रधानमन्त्री प्रचण्ड १० असोजमा तिब्बतको ल्हासा जाने कार्यक्रम छ । ल्हासामा तिब्बत स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टी सेक्रेटरी वाङ जुनझेङसहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी ११ असोजमा कैलाश मानसरोवर भ्रमणमा जानेछन् । एक रात त्यही क्षेत्रमा बसेर प्रधानमन्त्री प्रचण्ड १२ असोजमा ल्हासा आउनेछन् । 

उनी ल्हासाबाट घुन्सा विमानस्थल भएर कैलाश जाने कार्यक्रम छ । । परराष्ट्रका अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य र स्थानीय मौसमले साथ दिएमा मात्रै कैलाश मानसरोवरको भ्रमण हुनेछ । चीन सरकारले केही वर्षअघि भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीलाई पनि त्यही रुटबाट कैलाश मानसरोवरको भ्रमण गराएको थियो । 

प्रधानमन्त्री प्रचण्ड १२ असोज साँझ सिचुआनको राजधानी छेङदु जानेछन् । ल्हासाबाट नेपालमा उडान नभएका कारण उनी छेङदु भएर भोलिपल्ट अर्थात् १३ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

दुई सम्झौताको तयारी 
यसपालि डिजिटल इकोनोमीमा सहकार्यसम्बन्धी फ्रेमवर्क एग्रिमेन्ट र क्लिन ग्रिन इनर्जीसम्बन्धी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर हुने तय भएको छ । डिजिटल इकोनोमीसम्बन्धी सम्झौताको मस्यौदालाई अर्थ मन्त्रालयले अन्तिम रूप दिएको थियो भने क्लिन ग्रिन इनर्जीसम्बन्धी सम्झौताको मस्यौदालाई वन तथा वातावरण मन्त्रालयले अन्तिम रूप दिएको हो ।
 

ad
ad