१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युक्रेन संकटमा चीनले रुसलाई सघाएको आरोपमा कति सत्यता ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:oo:oo

हालैको चीन भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनमाथि पुनः युक्रेन संकटमा ‘रुसलाई सहयोग’ गरेको आरोप लगाए । जबकि, अमेरिकी सिनेटले नै भर्खर युक्रेन, इजरायल र चीनको ताइवान टापुलाई सैन्य सहायता प्रदान गर्न ९५ अर्ब डलर सहयोग गर्ने विधेयक पारित गर्‍यो । युक्रेन संकटको सवालमा चीनले न त यो संकट सिर्जना गरेको हो, न त उ संकटको पक्षधर नै हो ।

वास्तवमा, चीनले रुस र युक्रेनबीचको वार्तालाई बढावा दिदै आएको छ र द्वन्द्व अन्त्य गर्न मद्दत गर्न ‘युक्रेन संकटको राजनीतिक समाधानमा चीनको अडान’ शीर्षकको दस्ताबेज जारी गरेको छ । चिनियाँ विशेष दूतले विभिन्न पक्षबीच मध्यस्थता गर्न उक्त क्षेत्रको यात्रा गरेका छन्, जसले युक्रेन संकट समाधान गर्न चीनले रचनात्मक भूमिका खेलिरहेको देखाउँछ ।

रुस–युक्रेन द्वन्द्व रुस र युक्रेनबीचको विवादको परिणाम मात्र होइन, रुस र अमेरिकी नेतृत्वको पश्चिमा राष्ट्रबीचको भूराजनीतिक द्वन्द्व पनि हो । त्यसैले द्वन्द्व कहिले समाप्त हुन्छ भन्ने विषय रुस, युक्रेन, अमेरिका र नेटोमा निर्भर गर्छ । वास्तवमा, अमेरिकाले आफ्नो विश्वव्यापी वर्चस्व कायम राख्ने लालसाको सट्टा शान्तिलाई प्राथमिकता दिएको भए रुस–युक्रेन द्वन्द्व अन्त्य हुने थियो । नयाँ युगका लागि सहकार्यको बृहत् रणनीतिक साझेदारी निर्माण गरे पनि चीन र रुस सैन्य साझेदार होइनन् । चीनले दुवै पक्षलाई (रुस र युक्रेन) गैरटकरावको सिद्धान्तलाई पालना गर्न भन्दै आएको छ ।

चीन–रुसबीचको सहयोगको वृद्धि तिनको ऐतिहासिक सम्बन्धका कारण मात्रै होइन, तिनीहरूबीचको भौगोलिक निकटता र बलियो आर्थिक पूरकताबाट पनि उत्पन्न हुन्छ । चिनियाँ सरकारी तथ्यांकअनुसार सन् २०२१ मा द्विपक्षीय व्यपार ३५.९ प्रतिशतले बढेको थियो । सन् २०२२ मा युक्रेन संकटपछि पश्चिमा राष्ट्रले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएपछि रुसले एसियाली देशसँग व्यापार विस्तार गर्दै आएको छ । यसका बावजुद सन् २०२२ र २०२३ मा चीन र रुसबीचको व्यापार क्रमशः २९.३ प्रतिशत र २६.३ प्रतिशतले बढेको छ ।

चीनले रसिया–युक्रेन द्वन्द्वमा दुवै पक्षलाई हतियार आपूर्ति गरेको छैन । रुससँगको सम्बन्ध सामान्य आर्थिक सहयोग हो, जसमा कुनै पनि देशलाई हस्तक्षेप गर्ने अधिकार छैन । तसर्थ रुससँगको आफ्नो सामान्य सम्बन्धमा चीनले कुनै अप्रिय टिप्पणी सहनेछैन । रुसी संघको संघीय भन्सार सेवाका अनुसार सन् २०२३ मा रुस र अमेरिकाबीचको व्यापार ५.५ अर्ब डलर थियो भने रुस र जापान तथा रुस र कोरिया गणतन्त्रबीचको व्यापार क्रमशः ९.७ अर्ब र १५ अर्ब डलर पुगेको थियो । त्यस्तै, रुस–भारत व्यापार ६४.९ अर्ब डलर पुगेको थियो भने रुस–टर्की व्यापार ५६.५ अर्ब डलरको थियो । यो पनि ध्यान दिनुपर्छ कि रुसले अझै पनि युक्रेन र टर्किएबाट पाइपमार्फत युरोपमा ग्यास आपूर्ति गरिरहेको छ ।

चीन–रुस व्यापार हतियार वा रक्षा उपकरणभन्दा परम्परागत सामानहरूमा केन्द्रित छ । रुसबाट चीनले मुख्यत कोइला, तेल र प्राकृतिक ग्यास आयात गर्छ । रुसी कच्चा तेलको आयात सन् २०२३ मा २४ प्रतिशतले बढेर १०७ मिलियन मेट्रिक टन पुगेको छ । चीनले रुसबाट ठूलो मात्रामा आयात गर्ने अन्य उत्पादनहरूमा तामा, तामाजन्य खनिज, काठ र समुद्री खाना पर्छन् । त्यसबाहेक रुसी कृषि तथा खाद्यान्नको आयातमा उल्लेख्य वृद्धि भएको छ । चीनले आफ्नो तर्फबाट मुख्यतया सवारीसाधन, स्मार्टफोन, खेलौना र कम्प्युटर रुसमा निर्यात गर्छ । त्यस्तै बस र ट्रकको निर्यात पनि बढेको छ । यसले ‘रुसी रक्षा औद्योगिक आधार’ सँग चीनको कुनै सरोकार नरहेको स्पष्ट देखाउँछ । 

गत वर्ष नोभेम्बरमा सानफ्रान्सिस्को शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिले उनका अमेरिकी समकक्षी जो बाइडेनलाई चीन र अमेरिकाजस्ता दुई ठूला देशले एक–अर्कालाई पिठ्युँ फर्काउनु नहुने बताएका थिए । द्वन्द्वले दुवै पक्षलाई असहनीय परिणाम निम्त्याउनेछ । तसर्थ, दुई देशले आपसी सम्मानको विकास गर्न र फाइदाजनक सहयोगमा संलग्न हुन आवश्यक छ । तर, अन्य देशले अमेरिकालाई विश्वव्यापी प्रभुत्ववादी शक्तिको रूपमा प्रतिस्थापन गर्न सक्छन् भन्ने डरले केही अमेरिकी राजनीतिज्ञ बाह्य खतरा देखाएर घरेलु समस्या सम्बोधन गर्न आफ्नो असक्षमता लुकाउने प्रयास गरिरहेका छन् । उनीहरूले देशहरूलाई प्रतिद्वन्द्वी शिविरमा विभाजन गर्ने प्रयास गर्दै आएका छन्, जुन चीन–अमेरिका सम्बन्ध सुधार गर्न वा अमेरिकी विकासका लागि अनुकूल छैन ।

चाइना डेलीका लागि चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका रिसर्च फेलो झाओ हुइरोङको आलेख ।

ad
ad