१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ ५ शनिबार १५:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:३२:oo

ओपनर आसिफ सेख तथा अनिलकुमार शाहको अर्धशतक प्रेरित घरेलु टोली नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम टी–२० खेल ६ विकेटले जितेको छ। 

शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपालले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज ३–२ ले टुंगाएको हो। यद्यपि, यसअघिका तीन खेल लगातार जित्दै टेस्ट राष्ट्र वेस्ट इन्डिजले नेपाल भ्रमणको पहिलो सिरिज जित्न सफल भएको छ।

अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै जित हासिल गरेको हो।

नेपालको इनिङ्समा तेस्रो नम्बर क्रिजमा पुगेका अनिलकुमार शाहले सर्वाधिक ५८ रन बनाए। उनले ४५ बलमा चार चौका र चार छक्का प्रहार गरे। यसअघि खासै लयमा नरहेका अनिलले अन्तिम खेलमा भने आफ्नो प्रभाव प्रस्ट देखाए। त्यसअघि अनिलले ४१ बलमा चार चौका र तीन छक्कासहित ५० बनाएका थिए। 

ओपनर आसिफ सेखले ३५ बलमा ५१ रन बनाएर आउट भए। त्यसअघि आसिफले ३२ बलमा २ चौका र पाँच छक्कासहित ५० रन बनाएका थिए। नेपालका ओपनर कुशल भुर्तेलले ९ बलमा १३ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरी ६ बलमा ५ रन मात्रै बनाएर आउट भए। चौथो नम्बर क्रिजमा पुगेका कुशल मल्लले १८ बलमा तीन चौका र तीन छक्कासहित ३७ रनको योगदान गरे।

१.४ ओभरमा भुर्तेललाई गुमाएपछि नेपालको १३.३ ओभरमा दोस्रो विकेट गुमाएको थियो। आसिफ र अनिलकुमार शाहले १३.३ ओभरसम्म खेल्दै ९६ रनको बलियो साझेदारी गरे। 

वेस्ट इन्डिजका लागि ओबेद म्याकोयले सर्वाधिक तीन विकेट हात पारे। 

पाँच सिरिजको अन्तिम खेलमा प्रशिक्षक मोन्टी देसाईले सागर ढकाल र अनिकुमार शाहलाई मौका दिँदै गुल्सन झा र ललितनारायण राजवंशीलाई बाहिर राखेका थिए। अन्तिम खेलमा सागर र सोमपाल कामी चम्किएपछि वेस्ट इन्डिजले ठूलो स्कोर बनाउन सकेन।

वेस्ट इन्डिजको इनिङ्समा उपकप्तान एलिक एथानाजले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे। विश्वकप टोलीमा स्थान बनाएका कप्तान रोस्टन चेजले ३३ रन बनाए। चेजलाई अभिनाश बोहराले सन्दीप जोराबाट क्याचआउट गराएका थिए।

म्याथु फोर्डले १२ बलमा तीन छक्कासहित २३ रन जोड्दा ओपनर जनसन चार्लेसले २० बलमा २४ रन बनाए। चार्लेसले पनि विश्वकप टोलीमा स्थान बनाएका छन्। अर्का ओपनर कदिम ऐलेनले ६ बलमा ११ रन बनाए। उनलाई सागरको बलमा कप्तान रोहितकुमार पौडेलले कभरमा सानदार क्याच लिएका थिए। मार्क डेयलले ११ रन बनाए।

वेस्ट इन्डिजको इनिङ्समा चेज र एथानाज ३६ बलमा सर्वाधिक ४४ रनको साझेदारी गरेका थिए। जनसन र मार्कले ३८ रनको दोस्रो साझेदारी गरे।

नेपालका सागर ढकाल र सोमपाल कामीले सर्वाधिक तीन–तीन विकेट लिँदा अभिनाशले एक विकेट हात पारे। सागरले २ ओभरमा १७ रन खर्चिँदा सोमपालले चार ओभरमा १६ रन मात्र दिए।  प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल विकेटविहीन रहे। अभिनाश बोहराले चार ओभरमा एक विकेट लिएर ४९ रन खर्चिएर महँगो साबित भए।

यसअघि भएका चारमध्ये तीन खेल जित्नै सिरिज वेस्ट इन्डिजले जितिसकेको छ। पहिलो खेल नेपालले दुई बलअघि चार विकेटले जितेको थियो। दोस्रो खेल वेस्ट इन्डिजले दश विकेटले जित्दै खेल सिरिज गरेको थियो। तेस्रो खेलमा ७६ रनले जित निकाल्दै सिरिजमा २–१ को अग्रता बनायो। चौथो खेल २८ रनले जित्दै सिरिज एक खेलअघि नै जितेको थियो। 

नेपाल राति नै वेस्ट इन्डिज सेन्ट भिन्सेन्ट प्रस्थान गर्नेछ। विश्वकपअघि करिब दुई साता नेपाली टिमले प्रशिक्षण गर्ने कार्यतालिका छ।

ad
ad