१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o८:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खाजाघर र स्पाको आवरणमा नाबालिका राखेर वेश्यावृत्ति 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:oo:oo

पाँच महिनामा सात खाजा घर र दुई स्पाका सञ्चालकविरुद्ध मानव बेचबिखन मुद्दा 

काठमाडौं उपत्यकामा खाजाघर तथा स्पाका नाममा नाबालिका राखेर वेश्यावृत्ति धन्दा फस्टाएको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो पाँच महिनामा सात खाजाघर तथा दुई स्पाका सञ्चालकलाई पक्राउ गरी प्रहरीले मानव बेचबिखन मुद्दा दायर गरेको छ । 

गत मंगलबार प्रहरीले यस्तै धन्दामा संलग्न काठमाडौंको टोखा नगरपालिका– ९ स्थित सुर्खेत खाजाघरका सञ्चालकलाई पक्राउ गरेको थियो । नाबालिका राखेर जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले त्यसका सञ्चालक दार्चुला व्याँस गाउँपालिकाका लोकेन्द्र बडू र सर्लाही हरिवनकी कान्छीमाया तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूले नाबालिकाहरूलाई वेटरका रूपमा राखेको र ग्राहकसँग पठाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले बताए । ‘खाजाघरमै वेश्यावृत्तिका लागि कोठासमेत बनाएको देखियो,’ उनले भने, ‘ग्राहकको चाहनाअनुसार केहीलाई उनीहरूसँग होटेलमा पठाउने गरेका रहेछन् ।’ ग्राहकसँग पाँचदेखि आठ हजार रुपैयाँ लिने र थोरै रकम बालिकालाई दिने गरेको अनुसन्धानमा खुलेको छ । कमजोर आर्थिक परिवारका ती बालिकालाई सञ्चालकलाई धाकधम्कीमा राखेर यस्तो काममा लगाउँदै आएको प्रहरीले जनाएको छ । 

गत २ वैशाखमा प्रहरीले चाबहिलमा रहेको फ्रेन्डसिप ब्युटी एन्ड स्पामा छापा हानी वेश्यावृत्तिमा लगाइएका बालिकाहरूको उद्धार गरेको थियो । सो स्पाका सञ्चालकहरू पुजा लोवा र ओमकुमार पुन मानव बेचबिखन ब्युरोकै हिरासतमा छन् । धाकधम्की दिएर आफूहरूलाई ग्राहकसँग होटेलमा पठाउने गरेको त्यहाँबाट उद्धार गरिएका किशोरीले बताएका छन् । स्पाको आवरणमा लामो समयदेखि वेश्यावृत्ति धन्दा हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।

गत २७ चैतमा ब्युरोको टोलीले तारकेश्वर नगरपालिका– ११ हिलेटोलमा सञ्चालित युना खाजाघरकी सञ्चालक मुनु गुरुङलाई पक्राउ गरेको थियो । उनले पनि खाजाघरको आवरणमा वेश्यावृत्ति धन्दा चलाउँदै आएको ब्युरोका एसपी ज्ञानेन्द्र फुँयालले बताए । 

गत १८ चैतमा बालाजुमा लाफा नामक खाजाघर चलाउँदै नवीनकुमार मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनले खाजाघरमा १३ वर्षीया नाबालिकालाई समेत राखेर वेश्यावृत्तिमा लगाइएको पाइएपछि प्रहरीले उद्धार गरेको छ । 

गोकर्णेश्वर– ५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटेल एन्ड खाजाघरमा गत २९ फागुनमा छापा हानेको थियो । जहाँ प्रहरीले नाबालिकासहित दुईजनालाई उद्धार गरी सञ्चालक हिरन राईलाई पक्राउ गर्‍यो । 

जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेस्टहाउसमा पनि गोप्य रूपमा वेश्यावृत्ति हुने गरेको सूचनाका आधारमा प्रहरीले गत ८ माघमा छापा हानेको थियो । जहाँ सञ्चालक लालमाया तामाङले दुईजना नाबालिकालाई राखेर वेश्यावृत्तिमा लगाएको खुलेको थियो । तामाङलाई पक्राउ गरी प्रहरीले मानव बेचबिखन मुद्दा चलाएको छ । सुरुमा क्याफेमा काममा लगाउने र बिस्तारै बालिकालाई ती महिलाले वेश्यावृत्तिको धन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ । 

यस्तै, धन्दामा संलग्न सुमन तामाङलाई गत ३ पुसमा ब्युरोले पक्राउ गरेको थियो । उनले बालिकाहरूलाई होटेलमा जागिर लगाइदिने भन्दै वेश्यावृत्तिमा लगाउँदै आएका थिए । 

नयाँ बसपार्कस्थित लुम्बिनी गेस्ट हाउसमा बस्दै आएकी पूजा रानाले पनि नाबालिकालाई ग्राहकसम्म पुर्‍याउने काम गर्दै आएकी थिइन् । नाबालिकाहरूलाई गेस्ट हाउसमै राखेर उनले यस्तो धन्दा चलाउँदै आएकी थिइन् । उनीबाट पीडित तीनजना बालिकालाई प्रहरीले उद्धार गरिएको मानव बचेबिखन अनुसन्धान ब्युरोले जनाएको छ । 

गत १० मंसिरमा प्रहरीले रातोपुलस्थित दिनेश पौडेलले सञ्चालन गरेको नुवाकोट ब्युटी पार्लर एन्ड स्पामा छापा हान्दा त्यहाँ वेश्यावृत्ति धन्दा चल्ने गरेको खुल्यो । सो स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । सो स्पामा पनि नाबालिका भेटिएका थिए । 

ब्युरोका एसपी फुँयाल सबैजसो पीडितहरूको कथा उस्तै रहेको बताउँछन् । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका किशोरीहरूलाई रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ल्याएर वेश्यावृत्तिमा लगाउने गरेको प्रहरी अनुसन्धानमा देखिन्छ । कतिपयले खुसी त कतिपयलाई धाकधम्की दिएर यस्तो धन्दामा लगाइएको प्रहरीले जनाएको छ । कतिपयको गोप्य भिडियो खिचेर ग्राहकसँग सम्बन्ध नराखेर भिडियो सार्वजनिक गर्ने भनेर धम्काइने गरेकोसमेत प्रहरीले जनाएको छ । कमजोर आर्थिक अवस्था तथा राम्रो अभिभावकत्व नपाएका किशोरीहरू रोजगारीको खोजीमा यस्ता व्यक्तिबाट पीडित हुने गरेको प्रहरीले जनाएको छ । 

मानव ओसारपसारमा एम्बुलेन्सको दुरुपयोग 
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गिरोहले ओसारपसारमा एम्बुलेन्सको समेत दुरुपयोग गर्न थालेका छन् । १९ वैशाखमा पक्राउ परेका दाङका पूर्णबहादुर भण्डारीले एक महिलालाई काठमाडौंमा एम्बुलेन्समा बुटवल लगेको खुलेको छ । बुटवलबाट नयाँदिल्ली लगेर बन्धक बनाई उनलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको प्रहरीले जनाएको छ । कुवेत पठाइदिने आश्वासनमा नयाँदिल्ली लगेर गत वर्ष बिक्री भएको थियो । 

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रका अनुसार ११ जेठ ०८० मा स्वास्थ्य जाँच भन्दै एम्बुलेन्समा काठमाडौंबाट बुटवल लगिएको थियो । नयाँदिल्लीबाट कुवेत जान सहज हुने भन्दै नयाँदिल्लीको विमानस्थलनजिकै फ्ल्याटमा बन्धक बनाएर वेश्यावृत्तिमा लगाइएको पीडितले बताएकी छिन् । पछि पीडित भागेर नेपाल आई प्रहरीमा जाहेरी दिएकी थिइन् । करिब एक वर्षपछि भण्डारी पक्राउ परेको र त्यसमा संलग्न अन्य व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । 
 

ad
ad