Skip This
संसदमा ठ्याक्कै भएको के हो ? 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o७:o६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदमा ठ्याक्कै भएको के हो ? 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:o६:oo

कांग्रेसका आक्रामक महिला सांसद प्रधानमन्त्री प्रचण्डसँग पनि बाझे

सभामुखले बैठक प्रारम्भ गर्नासाथ कांग्रेस सांसदहरू आफ्नो सिटबाट दौडिएर वेल घेराउ गर्न पुगे । नाराबाजीबीच सभामुखले राष्ट्रपति कार्यालयको विधेयक प्रमाणीकरण र मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी दुईवटा पत्र पढेर सुनाए । राप्रपा र लोसपा सांसदले पनि उठेर विरोध गरे ।

कांग्रेसको नाराबाजी चल्दै गर्दा सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । मन्त्रीहरूको रोहमा बायाँतिर पहिलो सिटमा बसेकी उपसभामुख इन्दिरा राना आफ्नो सिटबाट उठेर लामिछानेलाई निस्किन सहज बनाइन् । 

अर्काेतिर वेल घेराउ गरिरहेका कांग्रेस सांसद थप आक्रामक भए । उपसभापति धनराज गुरुङ उपसभामुख बस्ने सिटभित्रै प्रवेश गरेर उभिए, गृहमन्त्री लामिछानेको बाटो छेके । पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनिन् । 

छेउकै रोहमा पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओली पनि उठे । धनराजको काँधमा हातले कोट्याउँदै ओलीले भने, ‘किन यहाँ पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर गर्नु ।’ धनराजले औँला ठड्याउँदै प्रतिवाद गरे । 

वाद–प्रतिवाद हुँदै गर्दा वेलमा रहेका कांग्रेसका महिला सांसद दौडिएर आए । यतातिर ओलीसँगै उठेका एमाले सांसद पनि अगाडि आएर छेक्न थाले । महेश बर्ताैला, ठाकुर गैरेलगायतले ओलीलाई प्रतिरक्षा गरेका थिए भने महिला सांसद ‘केही भन्दै’ आइरहेका थिए । यहीँ दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो ।

यहीबीचमा सभामुख घिमिरेले हतारहतार बैठक स्थगित गरे । अर्काे बैठक शुक्रबार बिहान ११ बजेलाई तोकिदिएर निस्किए । बैठक स्थगित भए पनि केहीबेर कांग्रेस–एमाले घम्साघम्सी चलिरह्यो । कांग्रेसका आक्रामक महिला सांसद छेउमै रहेका प्रधानमन्त्री प्रचण्डसँग पनि बाझेका थिए । 

नेताहरूका अनुसार बाहिर निस्कने क्रममा कांग्रेस र रास्वपा सांसदहरूबीच पनि हात हालाहालको जस्तै अवस्था सिर्जना भएको थियो । संसद् भवनभित्र सभामुख र प्रधानमन्त्रीको कोठाको बीचमा हिँड्ने ठाउँमा बाहिर निस्कने क्रममा दुवै पक्षबीच जम्काभेट भएको थियो । 

रास्वपाले बोल्न पाउनुपर्‍यो, छलफल गर्नुपर्छ भन्दा उपसभापति गुरुङले ‘सहकारी ठगसँग के कुरा गर्ने ?’ भनेका थिए । रास्वपा उपसभापति डिपी अर्यालले ‘के भन्या रे’ भनेपछि दुवै पक्षबीच धकेलाधकेल भएको थियो । गृहमन्त्री लामिछानेलाई मर्यादापालकले जोगाएर बाहिर लगेका थिए । 

त्यसपछि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने बसेर घटनाक्रमको समीक्षा गरेका थिए । सदनको घटनाक्रमपछि बिहीबार राति सत्तापक्ष र प्रतिपक्षीबीच कुनै संवाद भएको छैन । दुवै थप अडानमा जाँदा शुक्रबार बिहान ११ बजे तोकिएको बैठक अनिश्चित छ । 

एमाले सांसद ठाकुर गैरेले आफ्ना अध्यक्षमाथि अपशब्द बोल्दै दुर्व्यवहार भएको बताए । ‘कांग्रेसका नेता उपसभामुखकै कुर्चीमा गएर अवरोध गर्नुभो । त्यो संसदीय मर्यादाका हिसाबले कुनै पनि हालतमा मिल्ने कुरा होइन । त्यसकै यतापट्टि हाम्रो अध्यक्ष हुनुुहुन्थ्यो । उहाँले नम्रतापूर्वक तपाईंहरू वेलतिरै गएर विरोध गर्नुस्, यो विरोध गर्ने ठाउँ होइन भन्नुभो,’ उनले भने, ‘त्यही वेला अध्यक्षमाथि अपशब्द प्रयोग गर्ने, दुर्व्यवहार गर्ने, झम्टने प्रयास भयो । त्यो कुरा हाम्रा लागि सह्य थिएन । त्यो संसदीय मर्यादा र लोकतान्त्रिक चरित्रविपरीतको अशोभनीय गतिविधि हो । त्यसपछि हामी अध्यक्षको सुरक्षाका लागि र संसदीय मर्यादाविपरीतको विरोधमा प्रतिवाद गर्न उत्रियौँ ।’

तर, कांग्रेस उपसभापति गुरुङले भने घटनालाई अतिरञ्जित बनाइएको दाबी गरे । ‘एमाले अध्यक्षले मलाई यहाँ नउभिनुस् भनेर बारम्बार भनिरहनुभएको थियो । मैले उहाँपट्टि फर्केर ‘जबर्जस्ती गर्न पाइँदैन’ भनेर नारा लगाएँ । उहाँले मलाई आफ्नै कार्यकर्तालाई आदेश गरेजसरी भन्नुभएको थियो । उहाँले ममाथि हातपात गरेको पनि होइन, मैले उहाँमाथि हातपात गरेको पनि होइन । तर, यसलाई अतिरञ्जित गराइयो,’ उनले भने ।

ओलीमाथि अभद्र व्यवहार

सत्तापक्ष र प्रतिपक्षबीच सदनमा भनाभन हुँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि अभद्र व्यवहार भएको छ ।  सत्तापक्षको बेन्चमै आएर कांग्रेस उपसभापति धनराज गुरुङले उनीमाथि औँला ठड्याउँदै मर्यादाविपरीत आचरण देखाएका छन् ।

नाराबाजी गर्ने क्रममा गुरुङ उपसभामुख बस्ने सिटमै अढेस लाएर उभिएपछि पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनेकी थिइन् । तर, गुरुङले वास्तै गरेनन् । त्यसपछि छेउकै सत्तापक्षको पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओलीले उठेर गुरुङसँग भने, ‘यहाँ किन पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर (सभामुख आसनको अगाडि) गर्नू ।’

त्यसपछि गुरुङ थप आक्रामक बने । ओलीलाई औँला ठड्याउँदै प्रतिवाद गरे । वेलमा रहेका कांग्रेसका महिला सांसद पनि दौडिँदै त्यहीँ आएर नाराबाजी गरे । एमाले सांसद महेश बर्ताैला, ठाकुर गैरेलगायतले ओलीको प्रतिरक्षा गरेका थिए । दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो ।

‘हाम्रो अध्यक्षले नम्रतापूर्वक तपाईंहरू वेलतिरै गएर विरोध गर्नुस्, यो विरोध गर्ने ठाउँ होइन भन्नुभो । तर, उल्टै अध्यक्षमाथि अपशब्द प्रयोग गर्ने, दुर्व्यवहार गर्ने, झम्टने प्रयास भयो । त्यो संसदीय मर्यादा र लोकतान्त्रिक चरित्रविपरीतको अशोभनीय गतिविधि हो,’ सांसद गैरेले भने । गुरुङले भने आफूले मर्यादाविपरीत गतिविधि नगरेको, बरु एमालेसहितका सत्तापक्षका सांसदहरूले घटनालाई अतिरञ्जित गरेको दाबी गरे ।