Skip This
सूर्यविनायक–धुलिखेल सडक विस्तार अत्यन्त सुस्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Saturday, 27 July, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o७:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सूर्यविनायक–धुलिखेल सडक विस्तार अत्यन्त सुस्त

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:o८:oo

आधा समय सकिँदा २२ प्रतिशत मात्रै काम, पुल निर्माणतर्फ भौतिक प्रगति शून्य

अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार अत्यन्त सुस्त देखिएको छ । ३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै छ । 

आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब खर्च भइसकेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म १५.८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बन्दै छ । तर, हालसम्मको भौतिक प्रगति हेर्दा निर्धारित समयमा सडक विस्तारले पूर्णता नपाउने पक्का छ । सरकारले यस सडकखण्ड विस्तारलाई सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाअन्तर्गत राखेको छ ।

तीनवटा ठेकेदार कम्पनीमार्फत यो सडकखण्ड विस्तार भइरहेको छ । जसमा सूर्यविनायक–साँगासम्म अशिषकुमार बन्धन भगवती जेभी, साँगा–धुलिखेलसम्म लामा कन्स्ट्रक्सन प्रालि र पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई ठेक्का लगाइएको छ । सडक विभागका अनुसार सूर्यविनायक–साँगासम्मको ठेक्का मंसिर ०७९, साँगा–धुलिखेलसम्मको ठेक्का पुस ०७९ र पुल निर्माणको ठेक्का चैत ०७९ मा लगाइएको थियो । हाल सूर्यविनायक–साँगा खण्डमा २० प्रतिशत, साँगा–धुलिखेल खण्डमा २५ प्रतिशत काम भएको छ भने पुल निर्माणतर्फ भौतिक प्रगति शून्य छ । 

बिपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने लामा तथा छोटा दूरीका सवारीसाधनसहित बनेपा, धुलिखेल, भक्तपुर र आसपासका स्थानीय सवारीसाधनलाई लक्षित गरी यो सडक विस्तार गर्न लागिएको हो । तर, सडक विस्तारमा देखिएको सुस्तताले दैनिक लाखौँ मानिसले सास्ती पाइरहेका छन् । सडक विस्तारका क्रममा हुने सडक अवरोधका कारण अत्यधिक जाम र दुर्घटनासमेत व्यहोर्न बाध्य हुनुपरेको चालकहरू बताउँछन् । आयोजनाले कल्भर्ट बनाउने, नाली निर्माण गर्ने, रिटेनिङ वाल लगाउने, जग्गा अधिग्रहण गर्नेलगायत काम गरिरहेको छ । 

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद लामिछानेले आवश्यकताअनुसारको बजेट व्यवस्था भए अझै पनि निर्धारित समयमा काम सकिने दाबी गर्छन् । ‘हालसम्मका काम सुस्त भए पनि अब यसलाई तीव्रता दिन्छौँ, तर सरकारले समयमै बजेट निकासा गरिदिनुपर्छ,’ उनले भने, ‘सडकवरपरका अवरोध हटाउने, बिजुलीका पोल सार्ने, स्टिमेट तयार पार्नेलगायत काम सकिएका छन् ।’ यस आयोजनाको सूर्यविनायकदेखि धुलिखेलसम्म तीनवटा पुल निर्माण गर्नुपर्नेछ । तर, हालसम्म पुल निर्माणको काम अघि बढेको छैन । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार पुल डिजाइन तयार गरी ठेकेदार कम्पनीले स्वीकृतिका लागि विभागलाई पठाएको छ । तर, विभागले त्यसमा मूल्यांकन र अध्ययन गर्न बाँकी छ । ‘पुल निर्माणका लागि डिजाइन स्वीकृतिको चरणमा छ, स्वीकृत भएपछि भौतिक रूपमा काम सुरु हुन्छ,’ महानिर्देशक ढकालले भने, ‘सबै मिलेको छ भने हामी स्वीकृति दिन्छौँ ।’ 

सडक विस्तार गर्दा भेटिए सम्पदा
सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा साँगा र बनेपामा ऐतिहासिक ढुंगेधारा, पाटीलगायत सम्पदा भेटिएपछि उक्त क्षेत्रमा काम रोकिएको छ । सम्पदा भेटिएको जानकारी पाएपछि पुरातत्व विभागले काम रोक्न तीन महिनाअघि निर्देशन दिएको थियो । विभागले आवश्यक समन्वय गरेर मात्रै काम अघि बढ्न दिने जनाउँदै आएको छ ।