१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o६:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

माधवलाई फकाउन प्रचण्ड–ओली छलफलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:१४:oo

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विकल्प खोज्नेसम्मको सार्वजनिक अभिव्यक्ति दिएपछि सत्तागठबन्धनभित्र असहजता पैदा भएको छ । उनको असन्तुष्टि सम्बोधन गर्ने विषयमा बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा छलफल भएको छ । दुई नेताले नेपालसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकपछि अर्को असन्तुष्टि पोख्न थालेपछि उनको असन्तुष्टि सम्बोधनको प्रयास थालिएको छ । नेपालका पछिल्ला अभिव्यक्ति र भेटघाटले सत्तागठबन्धनभित्र निम्त्याउन सक्ने जोखिमलाई ध्यान दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले भेटवार्ता बढाएका छन् । 

बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचन र बजेट अधिवेशनको विषयमा छलफल भएको छ । दुई घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री र ओलीले उपनिर्वाचन परिणाममा केन्द्रित रहेर समीक्षा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । बुधबार राति ओली र रास्वपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको थियो । 

समीकरणमा रहेका दलहरूले राख्दै आएका मत सम्बोधन हुँदै गएको र छलफल जारी राख्ने प्रधानमन्त्री र ओलीबीच समझदारी भएको छ । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि अलग्गै छलफल गरेर जाने समझदारी पनि भएको छ । 

‘जनतालाई सुशासनको अनुभूति दिलाउँदै अघि बढ्ने परिवर्तनकारी शक्तिहरूको समीकरण भएकाले समीकरणमा रहेका सबै दलको उत्तिकै महत्वर निर्णायक भूमिकालाई प्रधानमन्त्रीले सम्मान गर्दै आउनुभएको छ । बैठकमा छलफल भएका विषय सम्बोधन हुँदै गएका पनि छन्,’ प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘सबै बराबरी भूमिकामा रहेकाले कसैले दिने या लिने भन्ने अहिलेको प्रश्न होइन, सबैले आपसमा छलफल गरेरै जानुपर्छ भन्ने विषयमा सबै नेता उत्तिकै सचेत हुनुहुन्छ, त्यसैले बाहिर जे–जति हल्ला चले पनि विरोधीले केही खटपट होला र फाइदा लिउँला भनेर नसोच्दा पनि हुन्छ ।’ 

इलाममा एमाले, माओवादी केन्द्र र नेकपा विप्लव समूहबीचको तालमेल सफल भएको र मतपरिणाम पनि सन्तोषजनक रहेको उनीहरूले समीक्षा गरेका छन् । ‘इलामको तालमेल सफल भएको उहाँहरूले समीक्षा गर्नुभएको छ, बझाङमा पनि अलग–अलग प्रतिस्पर्धा गर्दा खसेको कुल मतको आधारमा एमाले उम्मेदवार दमन भण्डारीले सन्तोषजनक मतसहित विजय प्राप्त गरेको र माओवादी उम्मेदवारले ०७९ को समानुपातिक मतभन्दा बढी ल्याएकाले तालमेल सफल भएको उहाँहरूको निष्कर्ष छ,’ आचार्यले नयाँ पत्रिकासँग भने । 

उनीहरूबीच बजेट अधिवेशनलाई प्रभावकारी बनाउन त्यसअगावै सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग सामूहिक छलफल गरेर सुझाव लिने र यसअघिको अवरोध खुलाउने विषयमा पनि कुराकानी भएको थियो । हिउँदे अधिवेशनमा प्रमुख विपक्षी कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर कांग्रेसले अवरोध गरेको थियो । 

बैठकपछि एमाले अध्यक्ष ओलीले अधिवेशन बोलाउने विषय सरकारको मामिला भएकाले भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे मात्र छलफल भएको जानकारी दिए । ‘बजेट अधिवेशन बोलाउने कुरा सरकारको मामला हो, संसद्को मामला हो,’ ओलीले भने, ‘भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भयो ।’

ओली–शेखर समझदारी 
एमाले अध्यक्ष ओली र कांग्रेस नेता शेखर कोइरालाबीच कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध खुलाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ । बुधबार भएको छलफलमा दुवै नेता सम्भावित मध्यावधि निर्वाचन रोकेर समाधान खोज्न तयार भएका छन् । 

भेटमा एमाले अध्यक्ष ओलीले मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुला गराउने काममा भूमिका खेल्न कोइरालाको ध्यानाकर्षण गराएका थिए । कोशीमा कोइरालानिकट केदार कार्की मुख्यमन्त्री छन् । उनले राजीनामा नदिएकाले नयाँ सरकार गठन आह्वान रोकिँदा विवादले अदालतमा प्रवेश पाउने सम्भावना देखिँदै आएको छ । सत्तासमीकरणमा रहेका दलहरूबीच कोशी प्रदेशको नेतृत्व एमालेले लिने समझदारी छ । सोहीअनुसार एमालेले सरकार गठनका लागि प्रयास गर्दै आएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईंले कोशीमा नयाँ सरकार गठनका विषयमा कोइरालासँग छलफल भएको बताए । कोइरालानिकट स्रोतले भने दुई नेताको भेटमा अवरोध हटाएर सम्भावित मध्यावधि निर्वाचन रोक्ने समझदारी भएको जनाएको छ । 
 

ad
ad