इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताब आलमसँग सम्बन्धित मुद्दाको बहस सकिएको छ। जिल्ला अदालत रौतहटका अनुसार सम्भवतः मुद्दाको फैसला आजै हुनेछ।
जिल्ला अदालत रौतहटमा मुद्दाको सम्बन्धमा मंगलबारदेखि बहस जारी छ। दुवै पक्षले मुद्दासँग जोडिएका साक्षीलाई अदालतमा उपस्थित गराइसकेका छन्। उनीहरूको बयान पनि पूरा भएको छ।
दुवै पक्षका अधिवक्ताले बहस नोट पनि अदालतमा पेस गरिसकेका छन्। जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोढारीले मुद्दामा दुबै पक्षको बहस सकिएको हुँदा सम्भवतः आजै फैसला हुने बताए।
उनले भने, ‘मुद्दाको बहस सकिएको छ। दुवै पक्षका वकिलले मुद्दामा बहस गरेका छन्। त्यसो हुँदा आज बेलुकासम्ममा संक्षिप्त भए पनि फैसला आउन सक्छ।’
जिल्ला अदालत रौतहटमा पाँच वर्षदेखि आलमविरुद्धको मुद्दा बहसमा छ। आलम पुर्पक्षका लागि हाल ललितपुरको नक्खु जेलमा छन्। यसबीचमा १७ पटकभन्दा धेरै पेसी सरिसकेको छ। न्यायाधीश आफूअनुकूल नभएपछि आलम पक्षको अधिवक्ताबाट पटक–पटक पेसी सारिँदै आएको थियो।