१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत २ शुक्रबार १४:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुर क्षेत्रका गैँडा सौराहा स्थानान्तरण गरिँदै

Read Time : < 1 मिनेट
२०८० चैत २ शुक्रबार १४:५८:००

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी क्षेत्रमा गैँडाको संख्या धेरै भएपछि यहाँबाट पूर्वी चितवनमा स्थानान्तरण गर्न थालिएको छ।

नवलपरासीमा गैँडाको संख्या बाक्लो देखिएकाले संरक्षणमा टेवा पुर्‍याउन तथा चरिचरन र वासस्थानलाई सघाउन निकुञ्जकै पूर्वी सेक्टरमा लैजान लागेको 
निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार शुक्रबार पहिलो दिन कावासोती– २ र १ को नवदुर्गा सामुदायिक वनमा रहेको एउटा गैँडा स्थानान्तरण गरिएको छ। गैँडा स्थानान्तरणका लागि निकुञ्ज कार्यालयको नेतृत्वमा विज्ञ र सहयोगीसमेत गरी ६० जनाको टोली खटिएको छ। पहिलो चरणमा ६ वटा गैँडा स्थानान्तरण गरिनेछ। 

तिवारीले भने, ‘पश्चिम सेक्टरमा गैँडाको संख्या धेरै छ। एउटै थलोमा धेरै गैँडा थुप्रिँदा वासस्थान, चरिचरनको समस्या र प्रजनन क्षमतामा समेत कमी आउँछ। तुलनात्मक रूपमा पश्चिम सेक्टर (नवलपरासी)मा धेरै गैँडा रहेको पाइएको छ।’ 

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा रहेका छन्। तीमध्ये नवलपुर क्षेत्र अर्थात् पश्चिम सेक्टरमा चार सय ५० बढी गैँडा रहेको तिवारीले बताए।

पूर्व र पश्चिम सेक्टरका गैँडामा क्रस गराए प्रजनन क्षमतामा वृद्धि हुने भएकाले निकुञ्जले गैँडा स्थानान्तरण गर्न लागेको हो। पछिल्लो एक दशकयता चितवन निकुञ्जमा गैँडा हेर्न आउने पर्यटक चितवनभन्दा नवलपुरमा बाक्लिन थालेका छन्।

यता नवलपुर क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीले गैँडा स्थानान्तरणको विरोध गरेका छन्।