१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ६ मंगलबार ०८:१५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रजनन क्षमता बढाउन गैँडाको आन्तरिक स्थानान्तरण

Read Time : > 1 मिनेट
२०८० चैत ६ मंगलबार ०८:१५:००

चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख एकसिंगे गैँडाको प्रजनन क्षमता वृद्धि गर्न आन्तरिक रूपमा गैँडा स्थानान्तरण गर्न सुरु गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरी तीनवटा गैँडा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र १० वटा गैँडा आन्तरिक स्थानान्तरण गरिने जनाइएको छ । 

पहिलो चरणमा ६ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट पूर्वी सेन्टरतर्फ लगिनेछ । शुक्रबार कावासोतीको नवदुर्गा सामुदायिक वनमा रहेको करिब २८ वर्षको भाले गैँडा, शनिबार दिव्यपुरी पोस्टनजिक रहेको अन्दाजी १७ वर्षीय भाले गैँडा र आइतबार अर्को भाले गैँडा पूर्वी सेक्टरमा सारिएको छ । 

नेपालमा यसअघि एउटा निकुञ्जबाट अर्को निकुञ्जमा गैँडा स्थानान्तरण गर्ने प्रचलन रहे पनि पहिलोपटक एउटै निकुञ्जभित्र एक ठाउँबाट अर्को ठाउँमा गैँडा स्थानान्तरण गरिएको हो । वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अर्थात् नवलपरासी क्षेत्रबाट पूर्व सेक्टर अर्थात् चितवनतर्फ गैँडा स्थानान्तरण भइराखेको हो । गाउँमा पसेर मानव बस्तीमा दुःख दिएका गैँडाहरूलाई पहिलो प्रथामिकतामा राखेर स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वी र पश्चिम सेक्टरमा समान रूपमा वृद्धि गर्न गैँडा स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका गैँडाको संख्यामा वृद्धि नभएको भने होइन । केही दशकअघिसम्म नेपालमा करिब दुई सयको हाराहारीमा रहेको एकसिंगे गैँडाको संख्या पछिल्लो तथ्यांकअनुसार सन् २०२१ सम्ममा बढेर सात सय ५२ वटा पुगेको छ । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा छ । तीमध्ये पश्चिम सेक्टरमा मात्रै चार सय ५० वटा छन् । यसरी गैँडा स्थानान्तरण गर्दा पश्चिम सेक्टरमा गैँडाको चरिचरण क्षेत्र बढ्ने र पूर्वी क्षेत्रमा पनि गैँडाको संख्या बढ्न गई दुवैतर्फ गैँडाको प्रजनन क्षमता बढ्ने सूचना अधिकारी तिवारीको दाबी छ ।

एउटै थलोमा धेरै गैँडा थुप्रिँदा वासस्थान, चरिचरनको समस्या र प्रजनन क्षमतामा समेत कमी आउने उनले बताए । निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति गैँडा स्थानान्तरणमा परिचालित छन् ।

गैँडा बढेपछि निकुञ्जभित्र घाँसे मैदान अभाव हुन थालेको छ । जसका कारण गैँडाहरू आहाराको खोजीमा गाउँतिर छिर्दा मानवीय र खेतीबालीको क्षति हुने गरेको छ । तर, निकुञ्जले अहिले १० हजार हेक्टरभन्दा बढी क्षेत्र घाँसे मैदान रहेको दाबी गरेको छ ।