१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस चितवन
२०८० फाल्गुण ५ शनिबार १२:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३१५ घटना

Read Time : < 1 मिनेट
रासस, चितवन
२०८० फाल्गुण ५ शनिबार १२:३४:००

जंगली जनावरका कारण चालू आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन्। ती घटनाबाट ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठजना भएका छन्। गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो। हात्तीको आक्रमणबाट घाइते हुने सबैभन्दा धेरै रहेका छन्। हात्तीको आक्रमणबाट सात, गैँडाको आक्रमणबाट पाँच, बाघको आक्रमणबाट चार र गोहीको आक्रमणबाट एकजना घाइते भएका छन्।
 
तिवारीका अनुसार चालू आर्थिक वर्षमा वन्यजन्तुका कारण पशुधनमा क्षति ८४, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति २० पटक र अन्नबालीमा क्षति दुई सय पाँचपटक भएको छ। वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले चालू आर्थिक वर्षमा रु. एक करोड पाँच लाख ५१ हजार छ सय २४ राहत प्रदान गरेको उनले जानकारी दिए।
 
गत आवमा भएका सात सय ८४ घटनामा नौजनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए। घाइतेमध्ये ३६ गम्भीर र १९ जना सामान्य रहेका थिए। सो आवमा एक सय ८५ पशुधन क्षति, भण्डार गरेको अन्नबाली आठपटक, घरगोठमा क्षति २७ पटक र अन्नबालीमा क्षति पाँच सयपटक पुर्‍याएको तिवारीले बताए।

त्यस वर्ष निकुञ्जले रु दुई करोड दुई लाख दुई हजार आठ सय ४४ राहत रकम उपलब्ध गराएको थियो। निकुञ्जमा रहेका हात्ती, गैँडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जंगली बँदेल, गोही, गौरीगाई, अजिंगर, बाँदरजस्ता जनावरले मानव बस्तीमा स्थानीयलाई दुःख दिने गरेका छन्।