Skip This
नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छ : अमेरिकी राजदूत थम्पसन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार २१:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छ : अमेरिकी राजदूत थम्पसन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २१:o३:oo

नेपालका लागि अमेरिकी राजदूत डी. आर. थम्प्सनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत स्थिरता र स्पष्टता आवश्यक भएको बताएका छन्।

अमेरिकी चेम्बर अफ कमर्स नेपालको आयोजनामा आज राजधानीमा आयोजित ‘युए–नेपाल व्यावसायिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तर्क्रियामा उनले नीतिगत तहमा स्पष्ट नभएसम्म नेपालले स्वदेशी वा विदेशी लगानी बढ्न कठिन हुने बताए। 

उनले आर्थिक समृद्धिका लागि नीति पारदर्शिता, स्थिरता र अनुमानयोग्य हुनुपर्ने भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। 

‘अमेरिका र नेपालबीच लामो समयदेखि सम्बन्ध रही आएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानव अधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ,’ उनले भने, ‘लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।’

राजदूत थम्प्सनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारण लाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको जानकारी दिए। उनले नीतिमा स्पष्टता भए थप अमेरिकी लगानी नेपालमा आउन सक्ने विश्वास व्यक्त गरे।

युएस चेम्बर अफ कमर्सका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केसपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित यस प्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह भएको बताए। उनले नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकका समृद्धि हासिल बताए।

केसपले नेपालमा लगानी बढाउनका लागि नीतिगत स्पष्टतामा जोड दिँदै लगानीमैत्री वातावरण बनाउन सके ठूलो लगानी भित्रने विश्वास व्यक्त गरे।

‘अहिले नेपालमा भित्रने कुल प्रत्यक्ष विदेशी लगानीमा अमेरिकी लगानी तीन प्रतिशत मात्रै छ, लगानीमैत्री वातावरण र नीति हुने हो भने आगामी दिनमा यसलाई बढाउन सकिन्छ,’ उनले भने।

अमेरिकी चेम्बर अफ कमर्स नेपाल (एमच्याम)का अध्यक्ष तथा मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठूलो सम्भावनाको मुलुक भएको बताए।

‘नेपाल लगानीको सम्भावना भएको मुलुक हो, हाम्रो अहिलेको प्राथमिकता हालको लगानीलाई दिगो बनाउने र आगामी दिनमा अमेरिकी लगानी बढाउनु हो,’ उनले भने, ‘यसका लागि सबै साझेदारहरूको सहयोग आवश्यक छ।’ 

उनले युएस चेम्बर अफ कमर्सका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केसपले अमेरिकी चेम्बर अफ कमर्स नेपाललाई छोटो समयमा मान्यता दिलाउन खेलेको भूमिकाको चर्चा गरे।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड नेपालका मिसन निमित्त निर्देशक करिन बेल्चले आफूहरूले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको बताइन्। उनले नेपालको आर्थिक विकासका लागि युएसएडले पर्यटन, सूचना प्रविधि, कृषि र क्लिन इनर्जीका क्षेत्रमा युएसएडले काम गरिरहेको बताइन्। उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेकोसमेत उल्लेख गरिन्।

‘नेपालको पर्यटन क्षेत्र यति वेला नयाँ ढंगले अगाडि बढिरहेको छ, पर्यटन क्षेत्रमा ठूलो सम्भावन छ। पर्यटनमा लगानी गरी आर्थिक विकास गर्न सकिन्छ,’ उनले भनिन्।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसिया क्षेत्रीय मामिलाका निर्देशक सेमास बिसेलले आर्थिक समृद्धि भयो भने राष्ट्रिय सुरक्षा बलियो हुनेमा जोड दिए।

नेपाली व्यवसायी सुजीव शाक्यले नेपाल यति वेला जनसांखिकीय लाभ लिने अवस्थामा रहेको भन्दै यसको उपयोग गर्नुपर्नेमा जोड दिए। 

‘चीन र भारतजस्ता ठूलो अर्थतन्त्र भएका मुलुकका बीचमा नेपाल छ, यद्यपि नेपालसँग अहिले युवा जनशक्तिको संख्या ठूलो भएकाले सम्भावना पनि उत्तिकै छ,’ उनले भने, ‘अहिले एक करोड लगानी आउँदा पनि समाचार बन्ने अवस्था रहेकोमा आगामी दिनमा ठूलो लगानी ल्याउने गरी काम गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

कार्यक्रममा अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायका प्रतिनिधिले नेपालमा काम गर्दाका अवसर र चुनौतीबारे आफ्ना अनुभव राखेका थिए।

त्यस अवसरमा अमेरिकी चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) र अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनबीच अमेरिकी व्यापार र लगानी रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो।

जसमा  एमच्यामका तर्फबाट अध्यक्ष निर्मलकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय व्यापार प्रशासनका तर्फबाट उद्योग र विश्लेषणसम्बन्धी प्रमुख उपसहायक मन्त्री हेदर हेमले हस्ताक्षर गरेका थिए।
 

ad
ad