बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनमा आधाभन्दा कम मतदाता सहभागी भएका छन्।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार शनिबार सम्पन्न मतदानमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ जनाले मतदान गरेका हुन्।
प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानका ९४ वटा मतदान केन्द्रमा ६१ हजार सात सय ४८ मतदाता थिए। जसमध्ये आधाभन्दा कमले मात्र मतदान गरे। गत २०७९ मंसिर ४ गतेको निर्वाचनभन्दा यो संख्या ३.८६ प्रतिशत कम हो।
केही मतदाता यार्चागुम्बा टिप्न हिमालतर्फ गएका र केही राेजगारीका लागि भारत पसेकाले कम मतदान भएको अनुमान गरिएको छ। मतदान सम्पन्न भएलगत्तै सडकको पहुँच भएका क्षेत्रका मतपेटिका सदरमुकाम ल्याउन सुरु गरिएको छ।
सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिकाको ३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकाेप्टरबाट आइतबार बिहान १० बजेसम्म सदरमुकाम ल्याइने बझाङका डिएसपी भरत शाहले बताए।
मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया अघि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।