१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ ७ सोमबार १६:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कसुर किटान नगरी अभियोगमा सजाय गर्नु न्यायसम्बन्धी हकविपरीत : विशेष अदालत

अभियोजनकर्तालाई ध्यानाकर्षण, अख्तियार प्रमुखलाई पत्राचार

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:४o:oo

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अभियोजनकर्तालाई ध्यानाकर्षण गराएको छ। बिहीबार एक मुद्दामा फैसला गर्दै विशेषले नागरिकको न्यायसम्बन्धी अधिकारविपरीतका काम नगर्न भनी अख्तियारका प्रमुख आयुक्तलाई जानकारीसमेत गराउन आदेश गरेको छ। 

हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेषले आंशिक ठहरको फैसला गरेको थियो। दुईजनामाथि मुद्दा चलाइएकोमा एकजनामाथि ठहर भएको छ भने अर्काले सफाइ पाएका छन्। अख्तियारले कसुर स्पष्ट नगरी अभियोग लगाएकाले सफाइ दिइएको विशेषले राय किताबमा उल्लेख गरेको छ। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले यस्तो आदेश गरेको हो। अख्तियारले गत पुसमा बाँकेको नरैनापुर गाउँपालिकास्थित एक मदरसा (विद्यालय)मा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो। 

नरैनापुरको वडा नम्बर २ स्थित मदरसा दारुल उलुम अमजदिया बरकातियालाई जिल्ला शिक्षा कार्यालयबाट प्राप्त बजेटमा हिनामिना भएको भेटिएको थियो। आर्थिक वर्ष ०७०/७१ देखि ०७४/७५ सम्म शिक्षक तलब–भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा पठाइएको बजेटमा अनियमितता भएको भन्दै उजुरी परेको थियो। 

सम्बन्धित शीर्षकमा खर्च नगरी तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँसँग मिलेमतो गरी आफूखुसी खर्च गरेर मासेको अख्तियारको दाबी थियो। साथै प्रधानाध्यापक जोलाहामाथि आफ्नो पदीय हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरू बरबुझारथ नगरी लुकाएको तथा नोक्सान पुर्‍याएको अख्तियारको अनुसन्धानले देखाएको थियो। 

यस क्रममा १८ लाख तीन हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै अभियोगपत्र दायर भएको थियो । जसमध्ये केही रकम वार्षिक लेखापरीक्षण प्रतिवेदनले प्रधानाध्यापक जोलाहाका नाममा पेस्की बेरुजु औँल्याएको भेटिएको थियो। 

अनुसन्धानपछि अख्तियारले प्रधानाध्यापक जोलाहाका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष खाँलाई समेत प्रतिवादी बनाउँदै १६ पुस ०८० मा मुद्दा दायर भएको थियो। यसैमाथि बिहीबार फैसला आएको हो। 

यस मुद्दामा प्रधानाध्यापकलाई विशेषले दोषी  ठहर गरेको छ। अनुसन्धानको बयान, उजुरी निवेदन, विक्रेता भनिएका व्यक्ति, तलबभत्ता नपाएको भनिएको शिक्षकको बकपत्रलगायतका आधारमा उनीमाथि कसुर कायम भएको हो। 

मुद्दा दायर हुनुअघि नै अख्तियारले बिगो कायम गरेकोमध्ये आठ लाख ३२ हजार रुपैयाँभन्दा बढी बेरुजु औँल्याइएको देखिएको थियो। बेरुजुलाई सम्परीक्षणको विषय भन्दै विशेषले उक्त रकम घटाएर नौ लाख ७१ हजार रुपैयाँ प्रधानाध्यापक जोलहाले भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ। 

उनलाई एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ भने बिगोबराबर जरिवाना हुने फैसला भएको विशेषले जनाएको छ। अर्का प्रतिवादी खाँले भने सफाइ पाएका छन्। 

अभियोजनकर्तालाई ध्यानाकर्षण, अख्तियार प्रमुखलाई पत्राचार

विशेषले नागरिकको न्यायसम्बन्धी अधिकारका विषयमा अख्तियारलाई पत्राचार गर्नसमेत आदेश गरेको छ। सफाइ पाएका खाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष भए पनि के कुन कसुर गरेकाले अभियुक्त बनाइएको हो भन्ने अभियोगपत्रमा उल्लेख नभएको भन्दै यस्तो आदेश भएको हो। 

फैसलाको पूर्णपाठ तयार नभए पनि राय किताबमा विशेषले संक्षिप्त फैसला लेख्दै यस विषयमा अभियोजनकर्ताको ध्यानाकर्षण गराएको छ। खाँका विषयमा राय किताबमा भनिएको छ, ‘अभियोजन पक्षबाट के कुन कसुर गरेको भन्ने स्पष्ट रूपमा कसुर नै कायम नगरी सजाय मागदाबी मात्रै लिएको देखियो। यसरी कुनै पनि व्यक्तिलाई यो यस्तो कसुर गरेको हो भनी अभियोगपत्रमा किटानीका साथ कसुर नै कायम नगरी सजाय मात्र हुन भनी मागदाबी लिई दायर भएको मुद्दामा अदालतबाट अभियोजकजस्तो बनी कसुर कायम गरी सजाय गर्न आरोपित व्यक्तिको संविधानप्रदत्त न्यायसम्बन्धी हकविपरीत हुने।’

स्पष्ट अभियोग नै नलगाउनु खाँलाई सफाइ दिने आधार रहेको विशेषको निष्कर्ष छ । फैसलामा थप भनिएको छ, ‘यस्तो आरोपदाबीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धित आरोपपत्र तयार पार्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउँदै प्रमुख आयुक्तलाई जानकारी लेखी पठाइदिने।’

ad
ad