१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०८:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्ति एक लाख डलर पुर्‍याइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०८:४२:००

आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले बिमाबापत प्राप्त गर्ने क्षतिपूर्ति रकम पाँच गुणाले बढ्ने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएसँगै क्षतिपूर्ति रकम बढाउने तयारी गरिएको हो ।

पर्यटन मन्त्रालयका अनुसार विधेयकमा आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुलाई दिइने क्षतिपूर्ति एक लाख अमेरिकी डलर पुर्‍याउन प्रस्ताव गरिँदै छ । अहिले आन्तरिक दुर्घटनामा ज्यान गुमाउने यात्रुले २० हजार डलर क्षतिपूर्ति पाउँदै आएका छन् । मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाएसँगै अब विधेयकलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘हवाई यात्रुहरूको हक–अधिकारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने सरकारको उद्देश्य हो,’ उनले भने, ‘हामीले छिट्टै विधेयक मन्त्रिपरिषद्मा पेस गर्नेछौँ ।’ मन्त्रिपरिषद्बाट स्वीकृत र संसद्बाट पारित भएपछि विधेयकले कानुनको रूप धारण गर्नेछ ।

यो विधेयक बनाउन ०७७ चैतमा कार्यदल गठन गरिएको थियो । सहसचिव लामिछानेको नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले विधेयक तयार गरेर तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेलाई बुझाएको थियो । मस्यौदामा क्षतिपूर्ति रकम एक लाख डलर प्रस्ताव गरिएको छ । दुर्घटना भएको ३० दिनभित्र मृतकका परिवारले वायुसेवा कम्पनीमा क्षतिपूर्ति रकम दाबी गरिसक्नुपर्ने व्यवस्था गरिँदै छ ।  

नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मट्रियल महासन्धि १९९९ लाई अनुमोदन गरेसँगै अन्तर्राष्ट्रिय वायुसेवा दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुका परिवारले एक लाख ६५ हजार डलर क्षतिपूर्तिबापत पाउँछन् । मट्रियल महासन्धिबमोजिम विधेयकमा जहाज डिले हुँदा, ब्यागेज टुटफुट हुँदा, ब्यागेज हराएमा, यात्रा स्थगन हुँदा, कार्गो ओसारपसार गर्दा टुटफुट, ढिलाइ र हराउँदा क्षतिपूर्ति पाउने विषय पनि समेटिएको सहसचिव लामिछानेले बताए । 
यस्तै, यात्रुले कुन अवस्थामा क्षतिपूर्ति दाबी गर्न पाउने र कुन अवस्थामा नपाउने भन्ने पनि प्रावधान तोकिएको छ ।