मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २ सोमबार ०६:५०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा भएका ६० हवाई दुर्घटना, ८९७ ले ज्यान गुमाए : यती समूहका मात्रै १४ जहाज दुर्घटना

सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३५ आन्तरिक र ८ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २ सोमबार ०६:५०:००

मानवीय क्षति हुने गरी नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटना भएका छन् । ३५ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटनामा ८९७ ले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । आन्तरिक उडानतर्फ यती समूहले सञ्चालन गरेका यती एयरलाइन्स र तारा एयरका १४ जहाज दुर्घटना भएका छन् । जसमा चालक दलका सदस्यसहित १६९ जनाले ज्यान गुमाए । 

यतीका आठ र ताराका ६ जहाज दुर्घटनामा परेका हुन् । सात जहाज दुर्घटनामा मानवीय क्षति भएको छ भने सात दुर्घटनामा यात्रुहरू घाइते मात्रै भएका छन् । मानवीय क्षति हुने गरी दुर्घटनामा परेका यतीका चारवटा र ताराका तीनवटा जहाज छन् । ०५५ जेठमा स्थापना भएको यती एयरलाइन्सले प्रत्येक दुई वर्षमा दुर्घटना हुन थालेपछि दुर्गम उडानका लागि भगिनी कम्पनीका रूपमा तारा एयर स्थापना गरेको थियो । यतीले सुगम र ताराले दुर्गम गन्तव्यमा मात्रै उडान भर्दै आइरहेका छन् । 

आइतबार पोखरामा यतीको एटिआर ७२ जहाज दुर्घटनामा आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो क्षति भयो । चालक दलका सदस्यसहित ७२ जना सवार जहाज सेतीको खोँचमा दुर्घटनाग्रस्त भएकोमा ६९ को मृत्यु पुष्टि भएको छ । त्यसो त एटिआर जहाजको उडान नेपालमा सुरक्षित मानिन्छ । नेपाली आकाशमा पहिलोपटक एटिआर जहाज मानवीय क्षति हुने गरी दुर्घटनामा परेको छ । यसअघि १५ जेठमा ताराको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका सानोसरेमा दुर्घटना हुँदा १९ यात्रुसहित २२ जनाको मृत्यु भएको थियो । 

यती समूहले सञ्चालन गरेको जहाज मानवीय क्षति हुने गरी पहिलोपटक १२ जेठ ०६१ मा दुर्घटनामा परेको थियो । ट्विनअटर जहाज सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो । त्यसको दुई वर्षपछि २९ जेठ ०६३ मा यतीकै ट्विनअटर जुम्ला एयरपोर्टमा दुर्घटना हुँदा नौजनाको ज्यान भयो । अर्को दुई वर्षपछि २२ असोज ०६५ मा यतीकै जहाज लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा १८ ले ज्यान गुमाउनुपर्‍यो । यो दुर्घटनाको दुई वर्षपछि २९ मंसिर ०६७ मा यतीको भगिनी कम्पनी तारा एयरको जहाज ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो । 

गत १६ जेठमा मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटनाग्रस्त हालतमा भेटिएको तारा एयरको कलसाइन ‘९ एन–एइटी’ जहाज । १५ जेठमा पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा चालक दलका तीन सदस्य र १९ यात्रु सबैको ज्यान गएको थियो ।

त्यसयता पनि यती र ताराका जहाज दुर्घटना भइरहे । पाँच वर्षसम्म मानवीय क्षति नभए पनि यात्रु घाइते हुने खालका सानातिना दुर्घटना भए । १२ फागुन ०७२ मा भने फेरि २३ जनाको मृत्यु हुने गरी तारा एयरको जहाज दुर्घटना भयो । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको जहाज म्याग्दीको दानामा दुर्घटनामा परेको थियो । 

नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ६८ वर्षअघि (३० अगस्ट १९५५ मा) कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुईको मृत्यु र एक घाइते भएका थिए । जहाज अवतरणको क्रममा रन–वेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किनेजस्ता साना–ठूला दुर्घटना धेरैपटक भएका छन् । यस्ता केही दुर्घटनामा यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

आठ अन्तर्राष्ट्रिय विमान दुर्घटना
अहिलेसम्म नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका आठ विमान दुर्घटनामा परेका छन्, जहाँ तीन सय ७३ यात्रुले ज्यान गुमाए भने तीन सय ८५ घाइते भएका थिए । १५ मे १९५६ मा इन्डियन एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना हुँदा १४ यात्रुको ज्यान गएको थियो । यस्तै, २४ मार्च १९५८ मा इन्डियन एयरलाइन्सकै जहाज पत्नेभञ्ज्याङमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । 

त्यस्तै, ३१ जुलाई १९९२ थाई एयरवेजको जहाज नुवाकोटको घ्याङफेदीमा दुर्घटना हुँदा एक सय १३ यात्रुको तथा २८ सेप्टेम्बर १९९२ मै पाकिस्तान एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा ठोक्किँदा एक सय ६७ जनाले ज्यान गुमाएका थिए । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुनबाट बचेको थियो । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रनवेभन्दा बाहिर जाँदा दुई सय ३५ यात्रु घाइते भएका थिए । त्यो समय जहाज धावनमार्गमा अड्किँदा तीन दिनसम्म विमानस्थल बन्द गर्नुपरेको थियो । 

आन्तरिक उडानका ३५ जहाज दुर्घटना
५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गाे र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । पछिल्लो समय १६ मे २०१८ मा मकालु एयरको जहाज सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।

क्यानको तथ्यांकअनुसार धेरै वायुसेवा हिमाली र पहाडी भेगमा दुर्घटनाग्रस्त भएका छन् । लुक्ला, सिमकोट, जुम्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भइरहेको क्यानका अधिकारी बताउँछन् । पोखरा–मुस्ताङ उडानमा चारवटा जहाज दुर्घटनामा परेका छन् । निगम, तारा, अग्नि एयरको जहाज पोखरा–मुस्ताङ उडान गर्दा दुर्घटनामा परेका छन् । विभिन्न गन्तव्यको उडानमा सबैभन्दा धेरै हवाई दुर्घटनामा पर्ने निगम, यती र ताराका जहाज छन् । निगमका १४ तथा तारा र यतीका पनि १४ जहाज दुर्घटनामा परेका छन् । यी दुर्घटनामध्ये धेरैमा यात्रुको ज्यान नै गएको छ भने कतिपय दुर्घटनामा यात्रु घाइते मात्र भएका छन् । 

१७ हेलिकोप्टर दुर्घटनामा ८५ यात्रुको मृत्यु
नेपालमा अहिलेसम्म यात्रुको ज्यान जाने गरी १७ वटा हेलिकोप्टर दुर्घटना भएका छन्, जसमा ८५ जनाले ज्यान गुमाए । अरू १३ हेलिकोप्टर दुर्घटनामा यात्रु र चालक घाइते भएको क्यानको तथ्यांक छ । फिस्टेल हेलिकोप्टर आठ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएको देखिन्छ । सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा भिभिआइपी चढेको हेलिकोप्टर लामटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।