- काठमाडौं–मधेश आउजाउ गर्न छोटो दूरी भएकाले बल्खु–हेटौँडा सडकमा चाप बढ्दै गएको छ, तर जोखिमपूर्ण सडकको सुरक्षामा ध्यान नदिँदा कुलेखानी–भीमफेदी खण्डमा दुर्घटना पनि बढिरहेका छन्
हेटौँडा- मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा बिहीबार एउटै दुर्घटनामा १४ सहित तीन महिनामा २१ जनाको मृत्यु भएको छ । काठमाडौं–मधेश आउजाउ गर्न छोटो दूरी भएकाले उक्त सडकमा चाप बढ्दै गए पनि जोखिमपूर्ण सडकको सुरक्षातर्फ ध्यान नदिँदा शृंखलाबद्ध दुर्घटना दोहोरिएका छन् ।
बिहीबार भीमफेदी गाउँपालिका– ६, चिसापानीगढीमा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी माइक्रो दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ । बिहान ५:४५ बजे सडकबाट करिब पाँच सय मिटर तल खसेको गाडीमा यात्रुहरू एउटै गाउँका थिए । अन्य ६ यात्रु घाइते छन् ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४, सुन्दरपुरका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनमदेवी यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव र सुबोध यादवको मृत्यु भएको छ । उनीहरू एकै परिवारका हुन् । सोही गाउँका ३६ वर्षीय गुड्डु यादव र ३२ वर्षीया गायत्रीदेवी यादवको पनि मृत्यु भएको छ, उनीहरू श्रीमान्–श्रीमती हुन् । सुन्दरपुरकै २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव, १५ वर्षीय रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको मृत्यु भएको छ । त्यस्तै, गाडी चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये मुकेश यादव, सक्षमकुमार यादव र देवेन्द्र राय उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् । सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि मेडिसिटी अस्पताल तथा बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल लगिएको छ ।
छठ मनाउनका लागि ललितपुरको टिकाथलीबाट माइक्रो रिजर्भ गरेर राति २ बजे हिँडेको घाइते मुकेश यादवले बताए । अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त भएकाले छठ मनाउन दुईवटा गाडीमा जाँदै गरेकामा आफू चढेको गाडी दुर्घटनामा परेको उनले बताए । ‘हामी छठ मनाउन गाउँ फर्किँदै थियौँ, दुईवटा गाडीमा आएका थियौँ, अगाडिको गाडी दुर्घटनामा पर्यो,’ उनले भने ।
दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले चालक निदाएको, स्टेयरिङ फेल भएको वा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । मकवानपुर प्रहरी प्रमुख एसपी श्याम खत्रीले भने, ‘दुर्घटनास्थल हेर्दा त्यस्तो प्रकारको दुर्घटना भइहाल्नेजस्तो देखिँदैन । उक्त क्षेत्रमा सडक साँगुरो नभएको र धेरै मोड पनि नभएको सामान्य नै छ । त्यसकारण चालक निदाएको, स्टेयरिङ फेल भएको वा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्छ ।’
१४ सिट क्षमताको इभीमा बालबालिकासमेत गरी २० यात्रु थिए । तर, दुर्घटनामा परेको गाडीका यात्रुको विवरण कुनै पनि प्रहरी चेकपोस्टमा अभिलेख नभेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । ‘फर्पिङ प्रहरी चेकपोस्टमा समेत उक्त गाडीका यात्रुको विवरण थिएन, हामीले टाइमकार्ड लागू गरेका छौं, तर त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिदैन,’ उनले भने ।
पछिल्लो तीन महिनामा यो सडक घण्डमा पटक–पटक दुर्घटना भएका छन् । २ भदौको बिहान करिब ७ बजेतिर वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी–६, जुरीखेतमा दुर्घटनामा पर्दा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, सोही दालतका रजिस्ट्रार तारादत्त बडू, चालक छुनिलाल चौधरी, रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र र रिता घाइते भएकामा लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यस्तै ३० भदौमा इन्द्रसरोबर गाउँपालिका– २, सुकौरामा इभी गाडी नै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । तीन जना घाइते भएका थिए । काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको गाडी सडकबाट हजारमिटर तल खसेको थियो ।
त्यसअघि २० असोजमा भीमफेदी– ६, धानगोदाममा ल्यान्डक्रुजर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । हेटौँडाबाट काठमाडौं जाँदै गरेको ल्यान्डक्रुजरले अर्कोतर्फबाट आउँदै गरेको जाभा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महेश्वर घिमिरे खत्रीको मृत्यु भएको थियो ।
छानविन समिति गठन
दुर्घटनाको कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाशंकर प्रसाद, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश विष्ट, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी कानुन अधिकृत अनुशिया भट्टराई र बागमती पूर्वाधार विकास कार्यालयका इन्जिनियर निरज महत सदस्य छन् । समितिले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना न्यूनीकरणका उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।
पीडित परिवारलाई सहयोग गर्ने पालिकाको प्रतिबद्धता
दुर्घटनामा आफ्नो पालिकाका नागरिक परेको जानकारी पाएपछि सर्लाहीको चन्द्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण यादव घाइतेहरूको उपचार भइरहेको हेटौँडा अस्पताल आइपुगेका थिए । उनले दुर्घटनाका कारण गाउँ नै शोकमा रहेको बताए ।
‘यो अत्यन्त दुःखद घटना हो, यस्तो दुःखद घटना हाम्रो गाउँमा अहिलेसम्म भएको थिएन । सबैजना छठ मनाउन गाउँ फर्किदै थिए, पुरै गाउँ पिडामा छ,’ उनले भने ।
अध्यक्ष यादवले दुर्घटनाबाट प्रभावित पालिकावासीलाई आवश्यक सहयोग गर्न पालिका र व्यक्तिगत रुपमा आफु पनि तयार रहेको बताए । ‘पीडित परिवारलाई सहयोग गर्न पालिकाले सक्दो प्रयास गर्नेछ,’ उनले भने, ‘म आफै पनि आफ्ना स्थानीयको सहयोग लागि तयार छु ।’ उनले पालिका पीडित परिवारको साथमा रहेको बताए ।
गाडीमा नअटाएर छुटेका अवधेश यादवले गुमाए गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ
फलफूल व्यापारी अवधेश यादव पनि परिवार चढेकै गाडीमा छठ मनाउन सर्लाहीस्थित घर जाने योजनामा थिए । तर, गाडीमा सिट नपुगेपछि आफू डेरामै फर्किए, परिवारका सात सदस्यलाई गाडी चढाएर पठाइदिए । तर, उक्त गाडी भीमफेदीमा दुर्घटनामा पर्यो । उनकी गर्भवती श्रीमती, तीन छोरी र दुई भाइको मृत्यु भयो भने एक छोरा घाइते भएका छन् ।
३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू २६ वर्षीय विकेश र २४ वर्षीय सुबोधको मृत्यु भएको हो । विकेश काठमाडौंमै सिभिल इन्जिनियरिङ पढिरहेका थिए भने सुबोध फलफूल व्यापार गर्थे । १४ महिने छोरा सुदीप घाइते छन्, उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
‘गाडीमा नअटाएपछि म भोलितिर आउँछु, तिमीहरू जाँदै गर भनेर पठाएको थिएँ,’ हेटौँडा अस्पतालपरिसरमा भावविह्वल अवधेशले भने, ‘यस्तो हुन्छ भन्ने थाहा थियो भने म पनि बरु त्यही गाडीमा जसरी पनि आउँथेँ ।’
परिवारका सदस्य र गाउँघरकै अरूलाई गाडीमा बिदाइ गरेर कोठामा फर्किएर सुतेका अवधेशलाई बिहीबार बिहान ५ बजे दुर्घटनाको खबर आएको थियो । त्यो उनका लागि खबर थिएन, बज्रपात थियो । चाडको मुखमा परिवार नै सखाप भएको यो घटनाले अवधेश बेचैन छन् । उनको परिवारसँगै एकै गाउँका अन्य आठजनाले पनि ज्यान गुमाएका छन् भने पाँचजना घाइते छन् ।