- ललितपुरका १६ सामुदायिक फार्मेसीमा छड्के अनुगमन गर्दा १३ फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनविना नै एन्टिबायोटिक बेचेको भेटियो
उपत्यकाकै फार्मेसीहरूले चिकित्सकको प्रेस्क्रिप्सनविनै एन्टिबायोटिक औषधि बिक्री गर्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभागले शुक्रबार गरेको अनुगमनका क्रममा ललितपुरका फार्मेसीहरूले चिकित्सकको अनुमतिविनै बिरामीलाई एन्टिबायोटिक बिक्री गर्ने गरेको भेटिएको हो ।
विभागका औषधि व्यवस्थापक शम्भु शाहका अनुसार ललितपुरका १६ सामुदायिक फार्मेसीमा छड्के अनुगमन गरिएको थियो । तीमध्ये १३ फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनविना नै एन्टिबायोटिक बिक्री गरेको पाइएको छ ।
विभागले अनुगमनका लागि आफ्नै कर्मचारीलाई एजिथ्रोमाइसिन नामक एन्टिबायोटिक औषधि किन्न ती फार्मेसीमा पठाएको थियो । कर्मचारीले मौखिक रूपमा औषधि माग गर्दा नै फार्मेसीहरूले औषधि उपलब्ध गराएका थिए । ‘हामीले आफ्नै कर्मचारीलाई औषधि किन्न लगाएर छड्के अनुगमन गरेका थियौँ । त्यसक्रममा १६ मध्ये १३ वटा फार्मेसीले पुर्जा तथा चिकित्सकको प्रेस्क्रिप्सनविनै औषधि दिए,’ औषधि व्यवस्थापक शाहले भने, ‘एन्टिबायोटिक औषधि त्यसरी मनपरी बिक्री गर्न पाइँदैन । यसले मानव स्वास्थ्यमा मात्र नभई समग्र वातावरणमै असर पार्छ ।’
उनका अनुसार सातदोबाटो र महालक्ष्मी क्षेत्रका नवीन फार्मेसी, अम्बिका फार्मेसी, इजी फार्मेसी, भटेक्स फार्मेसी र विश्वास फार्मेसीलगायतमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा गोसाईँकुण्ड फार्मेसी र सन्तोषी फार्मेसीले भने प्रेस्क्रिप्सनविना औषधि बिक्री नगरेको पाइएको थियो ।
अनुगमनका क्रममा विभागले विनाप्रेस्क्रिप्सन औषधि बिक्री नगर्न फार्मेसीहरूलाई निर्देशन दिएको छ । मौखिक रूपमा माग गरेकै आधारमा एन्टिबायोटिक बिक्री गर्ने फार्मेसीका सञ्चालकलाई औषधि ऐन, २०३५ अनुसार विभागमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ । ‘काठमाडौंजस्तो सुविधायुक्त ठाउँमा अनुगमन गर्दा त चिकित्सकको अनुमतिविना एन्टिबायोटिक बिक्री भइरहेको पाइयो भने उपत्यकाबाहिरको अवस्था झन् भयावह हुन सक्छ,’ शाहले भने, ‘यसले देशभर नै प्रेस्क्रिप्सनविना एन्टिबायोटिक बिक्री–वितरणको अवस्था गम्भीर र भयावह रहेको संकेत गर्छ ।’
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र विशेषज्ञ चिकित्सकहरूका अनुसार नेपालमा विनाप्रेस्क्रिप्सन र अनियन्त्रित रूपमा एन्टिबायोटिकको प्रयोग बढ्दो छ । जसको जथाभावी प्रयोगले सुपरबगको विकास अर्थात् जीवाणुहरूमा एन्टिबायोटिकविरुद्ध लड्ने क्षमता विकास हुन्छ ।
व्यवस्थापक शाहका अनुसार हाल नेपालमा औषधि ऐन, २०३५ कार्यान्वयनमा छ । तर, यसको उल्लंघन गरी जथाभावी औषधि बिक्री गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट व्यवस्था छैन । फार्मेसी निलम्बन र स्पष्टीकरण सोध्नेसम्मको व्यवस्था भए पनि प्रभावकारी दण्डको प्रावधान कमजोर छ ।
अब भने औषधि ऐन संशोधनका लागि विभागले मस्यौदा तयार गरिसकेको छ । औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदा तयार पारेर मन्त्रालयमा पठाइएको शाहले बताए । उनका अनुसार नयाँ ऐनमा दण्ड र सजायको समेत व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।