कांग्रेस आधिकारिकतामा लेनदेनको आरोपपछि सभापति थापाको चेतावनी- कुनै अनुचित काम गरेको छैन, म तर्सिने जिनिस होइन

लोकतान्त्रिक अधिकार खुम्च्याइए मूकदर्शक नबनेर प्रतिवाद गर्ने चेतावनी

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन । फिक्सर इनम सापकोटाको अडियो भनेर बजारमा आएको कुरामा हाम्रोबारेमा यस्तो सुनिएको रे भनेको बारेमा हामीले सार्वजनिक रूपमा उत्तर दिँदै हिँड्नुपर्ने ? यो दिनु नपर्ने विषय हो, तर यति कुरा भन्यौँ, अब सकियो ।

काठमाडाैं- कांग्रेसको आधिकारिकता लिन आर्थिक लेनदेन गरेको भनेर बिचौलिया इनम सापकोटाले नाम लिएको भन्दै आएको अडियोलाई सभापति गगन थापाले बदनियतका साथ चलाइएको हल्लाको संज्ञा दिएका छन् । कुनै अनुचित काम नगरेको र आफू तर्सिने जिनिस नभएको भन्दै उनले सबैखाले अनुसन्धानका लागि तयार रहेको चुनौती दिएका छन् ।

‘नेपाली कांग्रेस पार्टी, पार्टीको नेतृत्व सबै खालको अनुसन्धानका लागि तयार छ । यति कुरा पार्टीको वरिष्ठ उपसभापतिले बोलिसकेपछाडि मैले नबोले पनि हुने हो, तर केही–केही विषयहरूमा मलाई डाइरेक्ट्ली कम्युनिकेट गर्नुपर्छ भन्ने लाग्छ । उहाँले डिटेलमा राखिसक्नुभएको छ । जसको सार दुइटा छ– एउटा, यो बदनियतका साथ चलाइएको हल्ला हो, यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौँ,’ थापाले बिहीबार फेसबुक लाइभमार्फत भने, ‘फिक्सर इनम सापकोटा, जो अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन्, उनको भनेर एउटा अडियो बाहिर आएको छ । त्यो अडियोमा मेराबारेमा केही कुरा सुनिएको भनेर... । त्यो अडियो कहाँ बोलेको, कसले बोलेको, किन बोलेको, कहिले बोलेको थाहा छैन । बोलिएको हो कि बोलाइएको हो यो पनि थाहा छैन । मलाई यतातिर अलि चासो पनि छैन किनकि यो समग्र कुराका एकपछि अर्को पोलहरू पक्कै पनि खुल्दै जालान्, जान पनि पर्छ ।’

उनले कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि आर्थिक लेनदेन नभएको बताए । ‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन,’ उनले भने, ‘फिक्सर इनम सापकोटाको अडियो भनेर बजारमा आएको कुरामा हाम्रो बारेमा यस्तो सुनिएको रे भनेको बारेमा हामीले सार्वजनिक रूपमा उत्तर दिँदै हिँड्नुपर्ने ? यो दिनुनपर्ने विषय हो, तर यति कुरा भन्यौँ, अब सकियो ।’

सभापति थापाले सापकोटाका सवालमा प्रहरीको अनुसन्धानमाथि नै गम्भीर प्रश्न उठाउँदै मिडियाले पनि आफूहरूलाई नभई उतैतिर प्रश्न सोध्नुपर्ने बताएका छन् । ‘सापकोटा अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन्, त्यहाँ सोध्ने प्रश्नहरू । अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने । यसमा को–को जोडिन्छन्, ती सबै कुराहरू खोतल्ने । प्रेसको पनि यही जिम्मा हो र अरू चासो राख्नेहरूको पनि यही जिम्मा हो । जब राम्रोसँग अनुसन्धान हुन्छ, फेयर अनुसन्धान हुन्छ, दुधको दुध, पानीको पानी मज्जाले छुटिन्छ । हामी त्यसकै प्रतीक्षामा छौँ,’ उनले भने ।

उनले आफू इमानदारी र नैतिकताकै बलमा विगतदेखि पार्टीबाहिर मात्रै होइन, पार्टीभित्र पनि लड्दै आएको दाबी गरेका छन् । ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सफा छ, माई ह्यान्ड्स आर क्लिन । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’ उनले भने, ‘योभन्दा पहिला पनि, योभन्दा अझै बलियो सत्ता भएको वेलामा पनि, सत्ताले गलत गरेको वेलामा त्योसँग लड्दै आएको छु, प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदै गर्दा त गलत हुँदै गर्दा बोल्न छाडिनँ । बोल्ने आँट कहाँबाट आउँछ ? म कतै कमजोर भएको भए, मेरो स्वच्छता, इमानदारिता, मेरो नैतिकतामा कहीँकतै कम्प्रमाइज्ड भएको भए त्यो बोल्ने आँट आउँछ ? आउँदैन ।’

जतिपटक प्रश्न उठाइए पनि आफू जहिल्यै इमान र नैतिकतामा उभिँदै आएको उनको दाबी छ । ‘प्रत्येकपटक लडेर आएँ नि म, प्रत्येकपटक बाँचेर आएँ नि म, ढलिनँ नि म ! किन थाहा छ ? तपाईंको शुभेच्छा, आशीर्वाद आफ्नो ठाउँमा छ, तर सबैभन्दा ठुलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने किनकि म सफा छु, म स्वच्छ छु, म ठिक ठाउँमा उभिएको छु,’ उनले भने, ‘त्यसैले ढुक्क रहनुहोस्, मलाई माया गर्ने सबै साथीहरू ढुक्क रहनुहोस्– तपाईंको भाइ, तपाईंको दाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन ।’

प्रायोजित हल्लाहरूबिच पनि प्रश्नहरू मर्न नहुने उनले बताएका छन् । ‘प्रश्न मर्यो भने डेमोक्रेसी सकिन्छ । डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ । आजको सबभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौँ ? आजको प्रश्न नै यही हो । सबैको ध्यान यसमा जाओस् ।’ थापाले भनेका छन् ।

उनले एमाले अध्यक्ष केपी ओलीलाई भेटेको सन्दर्भलाई बजारमा अडियो सार्वजनिक भएपछि तर्सिएर भेट्न गएको भनेर प्रचारबाजी गरिएको भन्दै खण्डन गरेका छन् । आफू तर्सिने जिनिस नभएको उनको चेतावनी छ । 

‘अडियोमा हाम्रो बारेमा केही कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतार–हतार डराएर पार्टीका नेताहरूलाई भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ । अरे बाबा ! मैले त भन्दै आएको छु, म तर्सिने जिनिस नै होइन ।’

ओलीसँग मधेश प्रदेश सरकारका सम्बन्धमा छलफलका लागि भेट भएको उनको दाबी छ । ‘नेपाली कांग्रेसको पार्टी सभापति छु, मेरो पार्टी सभापतिको रूपमा केही ड्युटिजहरू छन्,’ उनले भने, ‘मधेश प्रदेशको सरकार छ । अबको ५–७ दिनभित्र विश्वासको मत लिनुपर्नेछ, अरू राजनीतिक दलसँग संवाद गर्नुपर्नेछ । प्रचण्डलाई केही दिनअगाडि भेटेँ, त्योभन्दा पहिला उपेन्द्र यादवजीलाई भेटेँ र त्यही सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटेँ, सकियो ।’

सरकार जिम्मेवारीमा चुकेको सवाल उठाएर लोकतान्त्रिक अधिकार खुम्च्याउने काम भए प्रतिवाद गर्ने थापाले चेतावनी दिएका छन् । ‘सबभन्दा ठुलो कुरा इकोनोमी छ, खोइ जब्स ? खोइ इन्भेस्टमेन्ट ? जताततै बर्बाद हुँदै गएको छ । सब डरले थरथर भएको अवस्था छ । यसलाई सम्हाल्ने कसरी हो ? यो सम्हाल्ने कुरामा हाम्रो ध्यानाकर्षण पनि गराएका छौँ, हाम्रो साथ सहयोग रहन्छ, जहाँ गल्ती गर्छौँ, त्यहाँ प्रश्न रहन्छ भनेर भनेका छौँ । तर, डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौँ, पर्यो भने प्रतिवाद गर्छौँ किनकि त्यो हाम्रो ड्युटी हो,’ उनले भनेका छन् । सरकारमाथि प्रश्न उठाउन थालेपछि प्रायोजित रूपमै आफू र पार्टीलाई बदनाम गर्न खोजिएको दाबी थापाको छ । तर, यसबाट प्रश्न गर्ने र गलत कामको प्रतिवाद गर्ने सिलसिला बन्द नहुने स्पष्ट उनको चेतावनी छ ।

लोकतान्त्रिक अधिकार खुम्च्याइए मूकदर्शक बस्दैनौँ, प्रतिवाद गर्छौँ
सरकार जिम्मेवारीमा चुकेको सवाल उठाएर लोकतान्त्रिक अधिकार खुम्च्याउने काम भए प्रतिवाद गर्ने थापाले चेतावनी दिएका छन् । ‘सबभन्दा ठुलो कुरा इकोनोमी छ, खोइ जब्स ? खोइ इन्भेस्टमेन्ट ? जताततै बर्बाद हुँदै गएको छ । सब डरले थरथर भएको अवस्था छ । यसलाई सम्हाल्ने कसरी हो ? यो सम्हाल्ने कुरामा हाम्रो ध्यानाकर्षण पनि गराएका छौँ, हाम्रो साथ सहयोग रहन्छ, जहाँ गल्ती गर्छौँ, त्यहाँ प्रश्न रहन्छ भनेर भनेका छौँ । तर, डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौँ, पर्यो भने प्रतिवाद गर्छौँ किनकि त्यो हाम्रो ड्युटी हो,’ उनले भनेका छन् ।

सरकारमाथि प्रश्न उठाउन थालेपछि प्रायोजित रूपमै आफू र पार्टीलाई बदनाम गर्न खोजिएको दाबी थापाको छ । तर, यसबाट प्रश्न गर्ने र गलत कामको प्रतिवाद गर्ने सिलसिला बन्द नहुने स्पष्ट उनको चेतावनी छ । 

नेतृत्वविरुद्धको षड्यन्त्रको भन्डाफोर गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय 
कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि अफवाह फैलाएर षड्यन्त्र भइरहेको भन्दै सशक्त प्रतिवाद गर्ने भएको छ । केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय पदाधिकारी बैठकले राज्यकै संरक्षणमा योजनाबद्ध ढंगले भ्रम फैलाएर पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकमा सांसदहरूलाई समेत छलफलका लागि डाकिएको थियो ।

बैठकपछि महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रह साधेर सरकारी संयन्त्र दुरुपयोग गर्ने काम भए पार्टी चुप लागेर नबस्ने चेतावनी दिए । ‘इगो साध्ने, पूर्वाग्रह राख्ने राजनीतिले कति दिन चल्छ ? सरकार सबैको समन्वय गर्ने अभिभावक हो । त्यस्तो दायित्व जसको छ, उसैले सरकारी संयन्त्र प्रयोग गरेर कसलाई ठेगान लगाउनुछ, त्यतैतिर तीर सोझ्याउनुहुँदैन । सत्तापक्ष, प्रतिपक्ष जसका बारेमा प्रश्न उठे पनि सम्बोधन हुनुपर्छ । प्रधानमन्त्रीको सवालमा उठेका बारेमा प्रधानमन्त्री जिम्मेवार हुनुपर्छ । हाम्रो छानबिनप्रति कुनै असहमति छैन,’ पौडेलले भने, ‘पक्राउ, छानबिनको कानुनी प्रक्रिया होला । सभापतिलाई पक्राउ गर्दा कांग्रेस हेरेर बस्छ ? सरकारले म कानुनभन्दा बाहिर गएर काम गर्दिनँ भन्ने विश्वास दिलाउनुपर्छ ।’

सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको षड्यन्त्रको संसद्, संसदीय समिति र आमनागरिकमाझ भन्डाफोर गर्ने निर्णय भएको बताए । राज्यसंरक्षित तथा राज्यनियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि सिर्जना गरिरहेको भ्रमको पार्टीले खुलेर प्रतिवाद गर्ने उनको भनाइ छ । ‘राज्यसंरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएकाले पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ । यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आमनागरिकमाझ तथ्यसहित उठाइनेछ,’ रसाइलीले बैठकपछि भने ।

सुझावित समाचार